
नक्कली भुटानी शरणार्थी खडा गरी अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिने भएको छ ।
काठमाडौं प्रहरी परिसर टेकुमा भीआईपी हिरासत नभएकाले पाण्डेलाई सिंहदरबार पठाइएको हो ।
तर, औपचारिक कुराकानीमा भने प्रहरी अधिकारीहरूले भीडभाड हुन सक्ने भएकाले सिंहदरबार पठाइएको बताइरहेका छन् ।
पाण्डेलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिइसकेको छ ।
म्याद थपका लागि अदालत लैजाँदा, फर्काउँदा र सिंहदरबारतर्फ लैँजादा कुनै पनि बेला उनको हातमा हत्कडी लगाइएको छैन ।

उपराष्ट्रपति कार्यालयमा दरबन्दी रहेका सचिव पाण्डेसँग आजैदेखि बयान लिने प्रहरीको तयारी छ ।
गृहसचिव रहेको समयमा आर्थिक लाभ लिएर नक्कली शरणार्थी बनाई अमेरिका पठाउने धन्दामा सघाएको आरोपमा उनी बुधवार पक्राउ परेका हुन् ।
बालकृष्ण खाण गृहमन्त्री रहेको समयमा पाण्डे सचिव थिए ।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई हिजै पक्राउ परेका थिए ।
पूर्वमन्त्री एवं सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।