
ठेकेदारले अलपत्र बनाएको पुल यथाशीध्र निर्माणको मागसहित आमरण अनशनमा बसेका कांग्रेस सांसद सञ्जय गौतमप्रति अन्य सांसदले पनि ऐक्यबद्धता जनाएका छन् ।
सांसदको कुरा नसुने अन्य सांसद पनि अनशनमा बस्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।
सोमवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका दीपक गिरीले ठेकेदारले अलपत्र पारेको पुल बनाउन भन्दै सांसद अनशनमा बस्नुपर्ने अवस्था आएकले अन्य सांसद पनि अनशनमा बस्नुपर्ने अवस्था आउने चेतावनी दिएका हुन् ।
बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने पुल ६ वर्षदेखि नबनेको भन्दै बर्दियाका सांसद सञ्जय गौतमले शनिवार साँझदेखि अमरण अनशन शुरू गरेका हुन् ।
पप्पु कन्स्ट्रक्सनले बनाउँदै गरेको पुल निर्माणको क्रममै भासिएको थियो । सो ठाउँमा अर्को पुल बनेको छैन ।
सांसदले आमरण अनशन शुरू गर्दा पनि सरकारको आँखा नखुलेमा अन्य सांसद पनि अनशनमा बस्ने अवस्था आउने उनको चेतावनी छ ।
‘बर्दियामा मात्र होइन, सांसद नारायण खड्का त्रियुगा पुलमुनि, दीपक खड्का संखुवासभा र दीपक गिरी दाङमा अनशनमा बस्नुपर्ने अवस्था आउन सक्छ, सरकारको आँखा खुलोस्,’ गिरीले भने ।