
यो वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहण गर्न करीब १२ सय आरोही लामबद्ध छन् । सर्वोच्च शिखर सगरमाथामा आरोहण शुरू भइसकेको छ ।
सबैभन्दा धेरै आरोही जाने र पर्वतारोहणका लागि बढी महत्त्व हुने पनि यही हिमाल हो । सगरमाथामा मात्रै यो वर्ष ४७ वटा आरोहण टोलीका ४७८ ले आरोहण अनुमति लिएका छन् ।
यो संख्या अहिलेसम्मकै धेरै भएको पर्यटन विभागले जानकारी दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागको तथ्यांकअनुसार वैशाख ३१ (१४ मे)सम्ममा विभिन्न २८ वटा हिमाल आरोहणका लागि १३६ वटा आरोहण टोली गएका छन् ।
यी टोलीमा ८९९ पुरुष र २७७ महिला गरी कुल ११ सय ७६ जना छन् ।
कुन हिमालमा कतिले लिए अनुमति ?

आरोहण टोलीबाट सरकारले ५८ लाख ४४ डलर अर्थात ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
विभागले आरोहीसँग आरोहण रोयल्टी लिएर मात्र अनुमति दिने गरेको छ । यस्तो रोयल्टी रकम सगरमाथाका लागि सबैभन्दा बढी प्रतिव्यक्ति ११ हजार डलर तिर्नुपर्छ ।
अन्य हिमालका लागि भने हिमालअनुसार २५० देखि १८ सय डलरसम्म तिर्नुपर्ने व्यवस्था छ ।
रोयल्टी रकम वसन्त ऋतुको तुलनामा शरदमा आधा कम हुन्छ ।
आरोहणका लागि वसन्त ऋतु नै सबैभन्दा बढी उपयुक्त हुने भएकाले यो बेला सबैजसो हिमालको शिखर चुम्न चाहनेहरूको भीड लाग्ने गरेको छ ।
आरोहीले रुचाउने र पटक–पटक आरोहण भइरहने यस सिजनमा २८ वटा हिमाल आरोहणका लागि ८० देशका नागरिकले अनुमति लिएको पर्यटन विभागले जानकारी दिएको छ । आरोहण अनुमति लिएकामध्ये ५ वटा टोलीका ७७ जना नेपाली छन् । बाँकी सबै आरोही विदेशी हुन् ।
हेर्नुहोस्, अनुमति लिने नागरिकको संख्या (देशअनुसार) :

अर्थतन्त्र शिथिल भएको बेला पर्वतारोहण राहत हुने दाबी पर्वतीय पर्यटनका विज्ञ तथा एसियन ट्रेकिङका अध्यक्ष आङछिरिङ शेर्पा बताउँछन् ।
नेपालको नाम र सगरमाथाको ब्रान्ड चिनाउने तथा पर्यटकबाट लाभ लिने उपयुक्त माध्यम नै पर्वतीय पर्यटन हो ।
नेपालमा पर्यटक भित्र्याएर डलर कमाउन सकिने यो क्षेत्रको योगदान सम्पूर्ण पर्यटनको आधाभन्दा बढी रहेको उनको दाबी छ ।
पर्वतीय पर्यटनअन्तर्गत ट्रेकिङपछि बढी आम्दानी हुने र संसारकै चासो हुने पर्वतारोहण हो । यो बेला हिमाल आरोहणको सिजन भएकाले संसारभरका पर्वतारोहीको ध्यान सगरमाथा र ६ हजार मिटरमाथिका हिमालमा छ ।
शेर्पाका अनुसार नेपालमा पर्यटन क्षेत्रबाट मात्र १ खर्ब ५५ अर्ब रुपैयाँ बराबर रकम सरकारी अम्दानीको रूपमा भित्रिने गरेको छ । पर्यटनबाटै बजारमा हुने खर्च ३ खर्ब रुपैयाँ नाघ्ने उनको अनुमान छ ।
नेपालमा पर्वतारोहणबाट मात्रै संकलन हुने राजस्व पौने १ अर्ब रुपैयाँ पुगेको छ । पर्वतारोहीले यसक्रममा गर्ने खर्च त्यसको दोब्बर हुने शेर्पा बताउँछन् ।

नेपाल आउने विदेशी आरोहीले सगरमाथामा मात्रै करीब ३५ हजार डलर व्यक्तिगत प्रयोजनमा खर्च गर्ने गरेका छन् ।
बीमा, पर्वतारोहणको सामग्री खरिद, एजेन्सी शुल्क, व्यक्तिगत प्रयोजनका सामानसहित खर्च हुन्छ । पर्वतारोहणको सामग्री महंगो हुने, बढी जोखिमको क्षेत्र भएको हुँदा बीमामा हुने खर्च, नेपाल बसाइमा हुने खर्च, यातायात, उच्च हिमाली क्षेत्रमा आवश्यक पर्ने अक्सिजनदेखि लगाउने लुगासम्मका सामग्री पनि महंगो पर्छ ।
अधिक चिसो छोक्नुपर्ने र सोही अनुसारका ‘इक्युपमेन्ट’ आवश्यक पर्ने भएकाले बजारमा हुने खर्च पनि पर्वतारोहणले बढाउने गरेको छ ।
आरोहीले क्याइम्बिङ शेर्पा, भरियासहितको आरोहण टीमलाई गर्नुपर्ने खर्चले समेत आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने गरेको पर्यटन व्यवसायी शेर्पाको भनाइ छ ।
नेपाली पर्यटनको अर्को पाटो ट्रेकिङ (पदयात्रा) पनि हो । ट्रेकिङमा पर्वतारोहणमा जस्तो धेरै खर्च भने हुँदैन ।
औसतमा २ हजार डलरले नेपालमा ट्रेकिङ हुने गरेको छ । ट्रेकिङका लागि आउने पर्यटकको संख्या वार्षिक ३ लाख नाघ्ने गरेको छ ।
नेपालमा पर्वतीय पर्यटन चलायमान भएसँगै व्यावसायिकरूपमा सञ्चालनमा आएका विभिन्न १० वटा कम्पनीका ३० वटा हेलिकप्टर पनि सक्रिय भएका छन् ।
आरोहीलाई आधार शिविरसम्म लैजाने तथा ल्याउने, सामान पुर्याउने, आकस्मिक अवस्थामा आरोहीको उद्दारसहितका गतिविधिमा हेलिकप्टर संलग्न हुन्छन् ।
कोरोना महामारीका कारण ठप्प भएको पर्यटन तग्रिँदै गर्दा यो वर्ष हिमाल आरोहणका लागि अनुमति लिनेको संख्या हालसम्मकै उच्च हुन पुगेको छ ।
पर्यटन विभागका अनुसार सन् २०१६ मा ७४०, सन् २०१७ मा ८३८, सन् २०१८ मा ८४४, सन् २०१९ मा ८८९ जना आरोहीले विभिन्न हिमाल आरोहण अनुमति लिएका थिए ।
कोरोना महामारीका कारण सन् २०२० समग्र पर्यटन क्षेत्र नै ठप्प भएका कारण आरोहण गतिविधिसमेत हुन सकेन । सन् २०२१ मा ७५७ जनाले आरोहण अनुमति लिएका थिए ।
सन् २०२२ को वसन्त ऋतुमा मात्रै ९८६ जनाले आरोहण अनुमति लिएका थिए भने शरद ऋतुसहित गरेर १ हजार आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएको विभागको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो समय आरोहणमा देखिएको उत्साह र अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिनुलाई समग्र पर्यटन क्षेत्रले सकारात्मक रूपमा लिएको छ ।