
कुनै पनि कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुँदा आर्थिक क्षेत्र चलायमान बनाउन सहयोग पुगिरहेको हुन्छ ।
पछिल्लो समय ‘फाइनान्सियल लिट्रेसी’ बढ्दै गएका कारण पुँजीबजारतर्फ आम सर्वसाधारणको रुचि समेत बढ्दै गएको छ । लगानीको वातावरण पनि बढिरहेको छ ।
वित्तीय क्षेत्रको मात्रै प्रभुत्व भएको शेयर बजारमा विस्तारै ‘रियल सेक्टर’ पनि थपिँदै गएका छन् ।
पछिल्लो समय साना हाइड्रोपावरको शेयर एकपछि अर्को आइरहेको बेला उत्पादनमूलक उद्योगबाट एकैपटक ठूलो लगानी गर्न सकिने गरी घोराही सिमेन्ट पुँजी बजारमा थपिँदैछ ।
सगरमाथा ब्रान्डमा सिमेन्ट उत्पादन गरिरहेको घोराहीले ३२ जेठबाट आईपीओे निष्कासन गर्न लागेको हो ।
नेपाली सिमेन्ट उत्पादक कम्पनी घोराहीले सगरमाथा ब्रान्डमा बजारमा सिमेन्ट पठाइरहेको छ । कम्पनीले सिमेन्ट आयात न्यूनीकरणमा पनि महत्त्वपूर्ण सहयोग पुर्याएको छ ।
व्यापारिक घराना त्रिवेणी ग्रुपको घोराही सिमेन्ट इन्ड्रस्ट्रिज नेपालमा क्लिङ्कर भित्र्याउने र सिमेन्ट बनाउने पहिलो निजी कम्पनी समेत हो । यसले पुँजीबजारमा दोस्रो सिमेन्ट कम्पनीका रूपमा प्रिमियममा आईपीओे जारी गर्न लागेको हो ।
करीब ८० लाख कित्ता शेयर जारी गरेर साढे ३ अर्ब रुपैयाँ संकलन गर्ने कम्पनीको लक्ष्य छ । यो कम्पनीले १ सय रुपैयाँको शेयर मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर प्रतिशेयर ४३५ रुपैयाँमा आईपीओ जारी गर्दैछ ।
‘हामीले अहिलेसम्म गर्नुपर्ने लगानी गरिसकेका छौं । विदेशी प्रविधि भित्र्याइसकेको र कम्पनीमा गर्नुपर्ने मेहनत १६ वर्षदेखि गरिसकिएको छ । १० वर्षदेखि सिमेन्ट उत्पादन गरिरहेका छौं । ८ करोड बोरा सिमेन्ट बिक्री भइसकेको छ,’ घोराही सिमेन्ट इन्डस्ट्रिजका वित्त प्रमुख अनिल अग्रवालले भने ।
सिमेन्ट उद्योगमा हुने लगानी एक तहमा भइसकेपछि थप लगानी गर्दै उत्पादन सस्तो बनाउनतर्फ पनि लाग्नुपर्ने उनी बताउँछन् ।
घोराही सिमेन्ट पनि लागत कम गर्दै जान ऋणको भार घटाउने र रणनीतिकरूपमा लगानी गर्ने उद्देश्यले आईपीओमा गएको उनको तर्क छ ।
पछिल्लो समय चुनढुंगाबाट सिमेन्ट बनाउने १२/१५ वटा सिमेन्ट उद्योग छन् । बाँकी सबैले क्लिंकरबाटै सिमेन्ट उत्पादन गर्छन् ।
आफ्नै चुनढुंगामार्फत क्लिंकर उत्पादन गर्नेमध्येको एक प्रमुख कम्पनीमा पर्छ घोराही सिमेन्ट । धेरैजसो कम्पनीले यही कम्पनीबाटै क्लिंकर लिएर सिमेन्ट बनाउने गरेका छन् ।

पछिल्लो समय ठूला उद्योग आएसँगै सिमेन्टमा नेपाल आत्मनिर्भर हुन थालेको छ भने निर्यात पनि शुरू भएको छ । घोराही सिमेन्टले पनि नेपाली बजारमा आपूर्ति गर्दै निर्यातका लागि समेत तयारी गरिरहेको छ ।
यो कम्पनीले स्थानीय, वैदेशिक रोजगामा गएका नेपाली र कर्मचारीका लागि शेयर जारी गरिसकेको छ ।
यो कम्पनीले कर्मचारीका लागि मात्रै १६ करोड रुपैयाँको शेयर निकालेको थियो । कर्मचारीलाई ५ प्रतिशत कोटा दिइएको थियो ।
३२ करोड रुपैयाँ बराबरको शेयर वैदेशिक रोजगारीमा गएका नेपालीलाई जारी गरिएकोमा २६ करोड रुपैयाँ अर्थात (८० प्रतिशत)को आवेदन परेको थियो ।
कम्पनीले स्थानीयलाई पनि १६ करोड रुपैयाँको आईपीओे जारी गरेको थियो । यसको आईपीओ र प्रिमियमका कारण हुने लगानीको साइज ठूलो भएकाले सबै बिक्री नभएको बुझाइ अग्रवालको छ ।
यो कम्पनीले सर्वसाधारणका लागि आईपीओे जारी गर्दैछ । स्थानीयलाई भने यो कम्पनीले प्रतिशेयर ३५ रुपैयाँ छूट दिएर शेयर जारी गरेको थियो ।
घोराही सिमेन्टको वित्तीय अवस्था
चालू आव २०७९/८० को पहिलो ६ महिनासम्म घोराही सिमेन्टको प्रतिशेयर नेटवर्थ २ सय २७ रुपैयाँ १० पैसा छ । यसको जगेडा कोषमा ४ अर्ब २ करोड २९ लाख रुपैयाँ छ । चुक्ता पुँजी ३ अर्ब १७ करोड ७५ लाख रुपैयाँ छ । आईपीओे निष्काशनपछि चालू आवमै घोराही सिमेन्टले ११ रुपैयाँ ६५ पैसा प्रतिशेयर आम्दानी पुर्याउने लक्ष्य राखेको छ ।
घोराहीले प्रिमियममा संकलन गरेको रकम शेयर प्रिमियम खाताअन्तर्गत राखेर गणना गर्ने भएकाले यसले कम्पनीको नेटवर्थ बढाउन सहयोग गर्छ । यसको ऋण ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ छ । कम्पनीले आव २०७८/७९ मा २१ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो ।
आईपीओे निष्कासनपछि चालू आवमै यसको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा पुग्ने अनुमान गरिएको छ । कम्पनीको जगेडा कोषको रकम ७ अर्ब १३ करोड ३० लाख रुपैयाँ पुग्ने कम्पनीले अनुमान गरेको छ । आईपीओे निष्कासनबाट घोराही सिमेन्टको ७ अर्ब ५४ करोड रुपैयाँ ऋण ४ अर्ब २७ करोडमा झर्ने भएको छ ।
यो कम्पनीले अगामी वर्ष नै ४६ करोड २८ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपणसमेत गरेको छ ।
केयर नेपालले घोराही सिमेन्टको आईपीओेलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम रहेको भनेर बुझाउँछ ।