बैशाख ११, २०८१
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
काठमाडाैं | असार ३, २०८०
नक्कली शरणार्थी प्रकरणमा बहालवाला सांसद टोपबहादुर रायमाझी निर्दोष छु भन्दाभन्दै जेल पुगे । महंगा वकिलले चर्को ‘फी’ लिएर गरेका बहस र जोगाउन भएका राजनीतिक चलखेलले काम गरेन । ‘आफू निर्दोष रहेको’ टोपबहादुरको याचना न्यायाधीशले पत्याइदिएनन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले शुक्रवार रायमाझी लगायतको नामै उच्चारण नगरी १६ जनालाई जेल पठाइदिए । धरौटीमा छुट्ने २ जनाको नाम मात्र न्यायाधीशले उच्चारण गरे । बाँकी १६ जना होलसेलमा जेल गए । कम्तीमा माथिल्ला अदालतबाट आदेश नउल्टिँदा वा मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनीहरू जेलमै रहनेछन् ।
न्यायाधीशले आदेश सुनाउनुअघि इजलासमा रायमाझीको छटपटी हेर्नलायक थियो ।
आदेश कुरेर बसेका रायमाझीले इजलासमा वल्लो कुना र पल्लो कुना गरिरहेका थिए । कतै धरौटीमा रिहा हुन पाइन्छ कि भनेर ठूलै रकमको जोहो पनि भइसकेको थियो । तर, तत्काल उपलब्ध प्रमाणका आधारमा रायमाझी निर्दोष हुन् भन्ने देखिएन । शरणार्थी प्रकरणमा सेटिङ मिलाउने राजनीतिक रणनीतिकार रायमाझी रहेको कुरा अब छर्लङ्ग भएको छ ।
नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा दोषी ठहर भएका रायमाझी नेपाली राजनीतिका एक जोकर पात्र बन्न पुगेका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनका विश्वविद्यालय मोहनविक्रम सिंहबाट दीक्षित रायमाझी पछिल्लो समय सत्ताका लागि चरम अवसरवादी पात्र बनिसकेका थिए ।
‘अनिल’ उपनामले चिनिने रायमाझी कुनैबेलाका क्रान्तिकारी नेता थिए, जसलाई माओवादीले सरकारसँग वार्ता गर्ने टोलीको सदस्य बनाएको थियो ।
‘जनयुद्ध’ छाडेर माओवादी शान्ति प्रक्रियामा आएसँगै रायमाझी कम्युनिस्ट सिद्धान्तलाई तिलाञ्जली दिएर ‘धनयुद्ध’को बिग्रेड कमान्डर बनिसकेका थिए ।
आर्थिक मामिलामा उनको उत्थान/उदारीकरण दशकअघिदेखि नै शुरू भएको थियो । बुवासँगै जेल पुगेका छोरा सन्दीपको विवाहमा आईसी नोटको माला र सुनको दाम्लाबारे प्रश्न उठाउँदा यो पंक्तिकारलाई सामूहिक हमला भएको थियो ।
माओवादीमा उपादेयता सकिएपछि रायमाझीले चलाखीपूर्ण ढंगले नेकपा एमालेको पौवामा बास सारेका थिए, नेकपा विभाजनको मौका पारेर । राजनीतिमा साम, दाम, दण्डभेद सबै जानेका रायमाझीले अर्घाखाँचीमा आफूलाई बलियो र निर्विकल्प नेताको रूपमा तयार गरेका थिए । यस्तो दिन आउँछ भन्ने थाहा पाएको भए शायद रायमाझीले कम्युनिस्ट आचरणका लक्ष्मणरेखा पूरै तोड्दैनथे होला ।
चुनाव जित्नका लागि उनले सबै अस्त्र प्रयोग गर्ने गरेका थिए । सम्भवतः शरणार्थी प्रकरणमा लिएको कुत उनले मंसिरको चुनावमा उडाएका थिए । पटक–पटक मन्त्री हुँदा पनि उनले अस्वाभाविक आर्थिक लाभ बटुलेका थिए । ‘...बाठो पल्टिन्छ दश बल्ड्याङ’ भनेजस्तै रायमाझी राजनीतिको रंगमञ्चबाट पछारिएका छन् ।
जिल्ला अदालतको फैसलाविरुद्ध उच्च र सर्वोच्च अदालत जाने बाटो बाँकी नै छ । तर, जनताको अदालतबाट रायमाझीले सफाइ पाउने सम्भावना निकै कम छ । रायमाझीविरुद्ध स्थानीय मतदाताको आक्रोश सामाजिक सञ्जालमा भन्दा बढी छ ।
यति सम्म कि वैकल्पिक भनिएका दलले अर्घाखाँचीमा उपनिर्वाचन हुन सक्ने भन्दै तयारी थालिसकेका छन् । परन्तु, उनीहरूले अदालती प्रक्रिया बुझेका छैनन् । सर्वोच्च अदालतबाट अन्तिम आदेश नभएसम्म रायमाझीको सांसद पद रिक्त हुँदैन । र, यस्ता मुद्दाको फैसला कति लम्बिन्छ भन्ने उदाहरण गोविन्दराज जोशी लगायतको मुद्दा काफी छ ।
खाँणले चुहाएको दुई थोपा आँसु
प्रहरीले पक्राउ गरेर म्याद थप्न ल्याउँदा रायमाझी राजनीतिक बन्दीजस्तो हात हल्लाउँदै र अभिवादन गर्दै प्रकट भएका थिए । रायमाझीको ओठमा देखिएको मुस्कान यस्तो थियो कि मानौं उनी मानवजातिको मुक्तिका लागि संघर्ष गरेका आदर्श राजनीतिज्ञ हुन् ।
त्यसविपरीत बालकृष्ण खाँण अदालत आउँदा प्रायः भावुक देखिन्थे । पदमा हुँदा या नहुँदा पनि उनी धेरै बोल्दैनथे । मिडियाका अगाडि उनी लज्जित देखिन्थे । लाज ढाक्नकै लागि उनले मुखमा मास्क र क्याप लगाएर आउने गरेका थिए । २०७८ चैत १८ गते भारत भ्रमणमा जाँदा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन गृहमन्त्री रहेका खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मा लगाएर गएका थिए ।
कांग्रेसमा संस्थापन पक्ष (देउवा प्यानल)बाट भावी नेतृत्वका लागि खाँण पनि एकजना दाबेदार थिए । अब भने त्यो सम्भावना सकिएको छ । अदालतमा भइरहेको बहस सुन्न खाँण कहिले रातो, कहिले कालो र कहिले सेतो टीका लगाएर आउने गरेका थिए ।
शुक्रवार सेतो टीका लगाएर आएका खाँण शुरूमा धरौटीमा रिहा हुन्छु भन्नेमा ढुक्क देखिन्थे । उनीनिकट स्रोतले दिएको जानकारी अनुसार धरौटी रकम समेत तयार भएको थियो । ‘हेभिवेट’ वकिलहरूले खाँणलाई धरौटीमा रिहा हुने भनेर विश्वस्त बनाएका थिए ।
धरौटीमा रिहा गर्न वकिलहरूले गरेको माग काम लागेन । न्यायाधीशले पुर्पक्षका लागि जेल जानुपर्ने सुनाएपछि खाँणको आँखाबाट बरर आँसु झर्यो । टोपबहादुरलाई जस्तो पार्टीले निलम्बन/निष्कासन नगरे पनि राजनीतिक करिअर समाप्त भएको आकलन गरेरै खाँणले आँसुका धारा बगाएको हुनुपर्छ ।
सत्ता छाडेको ६ महिना नपुग्दै जेलयात्रा खाँणको जीवनमा आइपरेको बज्रपात नै हो । गोविन्दराज जोशी–खुमबहादुर खड्कालाई सम्झेर पैसामा लोभ नगरेको भए शायद यो कालो दिन देख्नुपर्ने थिएन ।
पहिलो चरणको अनुसन्धानमा नतानिए पनि खाणपत्नी मञ्जुविरुद्ध समेत शंकाको सुई घुमिरहेको छ । यतिसम्म कि मञ्जु सदस्य रहेको प्रतिनिधिसभामै कुरा उठिरहेको छ ।
जेलबाहिरका ‘टोपबहादुर–बालकृष्ण’
टोपबहादुर रायमाझी–बालकृष्ण खाँण जेल गए पनि शरणार्थी प्रकरण सेलाएको छैन बरु चर्चा गाउँ–गाउँसम्म पुगेको छ । नेपालमा मौलाएको राजनीतिक भ्रष्टाचारको कुरूप नमूना बनेको शरणार्थी प्रकरणले भ्रष्टाचारको मुकुण्डो खोलिदिएको छ ।
नेपालमा एउटा नयाँ अभिजात वर्गको उदय भइरहेको छ । उसको जीवनशैली राजशी छ, तर कुनै पेशा/व्यवसाय छैन । कुनै श्रम या पसिना नबगाई त्यो वर्गले समाजमा ठाँट देखाइरहेको छ । केवल उसको कनेक्सन राजनीतिक दलका नेतासँग छ ।
दलका नेताको झोला बोक्नेको जीवनशैलीमा भइरहेको नाटकीय बदलावले नेपालमा भ्रष्टाचार कसको संरक्षणमा मौलाइरहेको छ भन्ने पुष्टि हुन्छ । परम्परागत दलप्रति जनतामा देखिएको आक्रोशको कारण यो पनि हो ।
मानव तस्करी प्रकरणमा टोपबहादुर–बालकृष्ण खाँण जेल पुगेका छन्, यिनैलाई बलिको बोको बनाएर अन्यलाई उन्मुक्ति दिने प्रपञ्च पनि भित्रभित्रै भइरहेको छ । निष्पक्ष छानबिन हुँदा शरणार्थी प्रकरणको कुत माथिसम्म पुगेको तथ्य उजागर हुने सम्भावना छ । यो प्रकरणलाई टुंगोमा पुग्न नदिन सरकार ढाल्नेसम्मका धम्की दिइएको कुरा समेत बाहिर आएकै हुन् ।
शरणार्थी प्रकरण एउटा उदाहरण मात्र हो, राजनीतिक संरक्षणमा भएको भ्रष्टाचारको । यस्ता दर्जनौ प्रकरण छन्, जहाँ राजनीतिक संरक्षणमा अनियमितता भएको छ । ढिलोचाँडो यस्ता अरू प्रकरणको पर्दा पनि भोलिका दिनमा खुल्दै जानेछ ।
राजनीतिक आवरणमा रहेर गैरकानूनी सम्पत्ति आर्जन गर्ने टोपबहादुर रायमाझी या बालकृष्ण खाँण अपवाद होइनन् । राजनीतिक दलका प्रभावशाली नेताको संरक्षणमा यस्ता ‘टोपबहादुर’हरू धेरै छन् ।
राजनीतिक दलका नेता र कर्मचारी कति अपारदर्शी रहेछन्, पैसाका लागि नेताहरूले केसम्म गर्ने रहेछन् भन्ने कुरा सदाचारको प्रवचन दिने टेकनारायण पाण्डेले स्थायी सरकारको आचरणबाहिर गएर पुष्टि गरिदिएका छन् ।
टोपबहादुर–बालकृष्णले केही समय भने पनि जेलमा बसेर आफ्नो कुकर्मको प्रायश्चित गर्लान्, तर उनीहरूलाई हुर्काउने तथा संरक्षण गर्ने दलहरूले सजाय पाउन अझै बाँकी छ । सम्भवतः आगामी चुनावमा यसको एकमुष्ट सजाय दलहरूले पाउने छन् ।
अपारदर्शी कमाइको भरमा रजाइँ गरिरहेका नेता सच्चिने सम्भावना त पटक्कै छैन, तैपनि राजनीतिक दललाई यो प्रकरण सच्चिनका लागि एउटा मौका थियो र छ । राजनीतिक भ्रष्टाचारमाथि निर्मम बन्न नसके मूलधारका राजनीतिक दलको ‘प्रजापरिषद्’ यात्रा धेरै पर छैन ।
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...