२६ असार २०८३, शुक्रबार

विना धितो पूर्ण डिजिटल माध्यमबाट एनएमबि बैंकको खेती कर्जा, पहिलो वर्ष १ हजारलाई दिइने

असार १८, २०८०
काठमाडौं
विना धितो पूर्ण डिजिटल माध्यमबाट एनएमबि बैंकको खेती कर्जा, पहिलो वर्ष १ हजारलाई दिइने

नेपालमै पहिलोपटक एनएमबि बैैंकले पूर्ण डिजिटल माध्यमबाट कृषकलाई खेती कर्जा दिन थालेको छ ।

एनएनबि बैंकले डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्ण रूपमा डिजिटल प्रविधि प्रयोग गरेर किसानलाई विना धितो २ लाख रुपैयाँसम्म कर्जा दिन थालेको छ ।

एनएमबि बैंकका स्टाटेजी एण्ड प्रडक्ट डेभलपमेन्ट म्यानेजर सुजन ढुंगाना नेपालमा डिजिटल माध्यमको पूर्ण प्रयोग गर्दै कृषि क्षेत्रलाई कर्जा दिनु नेपालमै पहिलो अभ्यास भएको बताउँछन् । यस्तो कर्जा लिन कृषकले खेती एप नै प्रयोग गर्नुपर्छ ।

यसका लागि कृषकले आफूलाई चाहिने बिऊ, बिजन र मशिनरीका खेतीकै आइटम अनलाइन प्लेटफर्मबाट अर्डर गर्नुपर्ने हुन्छ । यसरी अर्डर भएको सामानको भुक्तानी भने एनएमबि बैंकबाट हुने ढुंगानाले बताए । उनले भने, ‘कृषकलाई बैंकले सिधै भुक्तानी दिने वा कर्जा प्रवाह गर्ने होइन, कृषकले आवश्यक कृषिका सामग्री तथा बिउहरू किनेपछि खेती एपमा भएको डेटाका आधारमा न्यूनतम २ लाख रुपैयाँसम्म भुक्तानी एनएमबि बैंकले गरिदिन्छ ।’

भुक्तानी कृषकको ऋण हुने र त्यसलाई न्यूनतम ३ देखि २४ महिनाभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था भएको ढुंगानाले बताए । यस्तो रकम किसानले नगद नपाउने भएकाले किसान, खेती एप र सामान बिक्रेता ३ वटै पक्षको खाता एनएमबिमै हुनुपर्छ । 

‘यस्तो कर्जा एकैपटक २ लाख लिनुपर्छ भन्ने पनि होइन,’ ढुंगानाले भने, ‘कृषकले ऋण पाउने सीमालाई खेती एपमै भएको कारोबार तथा तथ्यांकका आधारमा ३ वटा वर्गमा वर्गीकरण गरिएको हुन्छ । यस्तो कर्जाको लागि १ लाखसम्म, डेढ लाखसम्म र २ लाखको सीमा तय तोकिएको छ ।’

कृषक जुन वर्गमा पर्छ, सोहीअनुसार पटक–पटक सामान खरिद गरेर पनि सीमासम्मको कर्जा लिन सक्ने सुविधा बैंकले दिएको ढुंगानाले बताए ।

बैंकले यस्तो सुविधा हाल बागमती र गण्डकी क्षेत्रमा मात्रै सीमित गरेको छ । यो सेवाका लागि अहिले नै १० हजार कृषक योग्य भएको खेती एपको दाबी छ । योग्य कृषकमध्येबाट बैंकले पहिलो वर्ष १ हजार जना कृषकलाई यस्तो ऋण दिने लक्ष्य अगाडि सारेको छ । बैंकको योजना सफल भए यसका शर्त र सीमाहरू पनि बिस्तारै खुकुलो हुँदै जाने पनि एनएमबि बैंकका ढुंगानाले जानकारी दिए । 

एनएमबि खेती कर्जामा योग्य कृषकले ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्ने गरी बैंकले पूर्ण इको सिस्टममा यो डिजिटल सेवा दिने भएको छ । वित्तीय पहुँचबाट वञ्चित रहेका किसानलाई सहज रूपमा कर्जा दिन यस्तो सुविधा ल्याएको बैंकले जानकारी दिएको छ । 

एनएमबि खेती कर्जा प्राप्त गर्नका लागि ग्राहकहरूले एनएमबि बैंकमा खाता खोलेको हुनुपर्छ भने खेती एप अनिवार्य डाउनलोड गर्नुपर्छ । यस्ता कृषकले खेती एप प्रयोग गरेर त्यसमा भएका फिचरहरूको प्रयोग पनि गर्नुपर्छ । कृषिजन्य उत्पादन तथा उपकरणको कारोबार खेती एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म शुरू जस्ता खेतीका महत्त्वपूर्ण चरणहरूमा पूर्ण सहभागी भएको हुनुपर्ने सहितको शर्त पनि एपमा राखिएको छ ।

खेती एपका सहसंस्थापक नेउराज कार्कीले किसानलाई सहजीकरण गर्न र उनीहरूको उत्पादन बिक्रेतासम्म पुर्‍याउने कामका लागि बैंकसँग सहकार्य भएको बताए । बैंकसँगको सहकार्यमा दिइने ऋण सुविधाले कृषकलाई सहज हुने र अत्यावश्यक गर्जो टर्ने बुझाइ पनि कार्कीको छ । कार्कीका अनुसार किसानले यस्तो ऋण सुविधा लिन न्यूनतम १० हजारदेखि २ लाखसम्मको सामान खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ । खेतीले सामान बेच्ने बिक्रेतालाई समेत एपमा जोडेका कारण किसानको उत्पादन सहजै खरिद–बिक्री हुने पनि कार्कीले बताए । 

सन् २०१६ देखि शुरूआत भएको एप ३० हजारभन्दा बढीले डाउनलोड गरेका भए पनि सक्रिय प्रयोगकर्ता १० हजार पुगेका खेती एपले जानकारी दिएको छ ।

किसानलाई कृषि सामग्री एउटै प्याटफर्मबाट उपलब्ध गराउने, एपबाटै निःशुल्क कृषि परामर्श दिने, कर्जा सुविधा, उत्पादनलाई बिक्रेतासम्म पुर्‍याउने काम खेतीले गर्छ । किसानको उत्पादनलाई खेती फूडमार्फत अनलाइन डेलिभरी समेत गर्ने सहितको सेवा दिइरहेको पनि कार्कीले बताए । 

एनएमबि बैंक र खेतीबीच विनाधितो कर्जा सम्झौता

salt training

कमेन्ट गर्नुहोस्