
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।
बैंकले विगत ४ वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच (ओपीडी), अस्पताल भर्ना तथा गम्भीर रोगहरूको उपचार एवं दुर्घटनामा मृत्यु बीमाबापत बीमा कम्पनीहरूमार्फत रकम प्रदान गर्दै आइरहेको छ ।
बैंकको तथ्याङ्कअनुसार यस योजना अन्तर्गत शहरी तथा ग्रामीण क्षेत्रबाट समेत ग्राहकहरू लाभान्वित बनेका छन् ।
बागमती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत दाबी रकम भुक्तान गरिएको छ भने मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११ र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तान गरिएको बैंकले जनाएको छ ।
कुल बीमा भुक्तानी मध्ये बैंकले अस्पताल भर्ना बीमाबापत सर्वाधिक ५४ प्रतिशत रकम भुक्तानी गरेको छ ।
कुमारी परिवार सुरक्षा बचत खातामा खाता वालासहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकोले यो बचत खाता ग्राहकहरूमाझ अत्यधिक लोकप्रिय रहेको बैंकको दाबी छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ इकाइहरू मार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकको छ ।