
माछापुच्छ्रे बैंकले अफलाइन ‘ट्याप एन्ड पे’ सेवा शुरु गरेको छ । बैंकले ईएमभी स्ट्यान्डर्डमा आधारित टोकनाइज्ड प्रविधिको प्रयोग गरी नेपाली बैंकिङ्ग उद्योग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सञ्चालनमा ल्याएको हो ।
यसमा ग्राहकको खाता विवरणको सट्टा सिस्टम जेनेरेटेड कोडबाट कारोबार हुने हुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहने बैंकले जनाएको छ । साथै बैंकले टोकनाइजेसनलाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिइएको बताएको छ ।
बैंकका ग्राहकले अब तोकिएका निश्चित मर्चेन्टहरूबाट पीओएसमार्फत कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एम–स्मार्ट प्रयोग गरी आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्ने छन् ।
हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिने र सेवा प्रयोग गरेबापत कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ ।
बैंकले एफवानसफ्ट इन्टरनेसनल, नेपाल क्लियरिङ हाउस लिमिटेड र सिटिटेकसँगको सहकार्यमा सेवा सञ्चालनमा ल्याएको बताएको छ । बैंकले टोकनाइजेसलाई विस्तारै अन्य प्रोडक्ट तथा सर्भिसहरूमा पनि प्रयोगमा ल्याउने जनाएको छ ।
माछापुच्छ्रे बैंकले देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, १२ एक्स्टेन्सन काउण्टर, १ सय ३० शाखारहित बैंकिङ सेवा, २ सय ३ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।