
सरकारी वकिलको कार्यालयले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई अनुसन्धानमा खुल्न आएका बखत मुद्दा गर्ने गरी प्रतिवादी नबनाएको दाबी गरेको छ ।
जिल्ला न्यायाधीवक्ता महेशप्रसाद खत्रीले ‘पछि थप अनुसन्धानले खुलिआएका बखत पेश गर्ने’ भनेर प्रतिवादी नबनाएको बताए । ‘पूर्वप्रधानमन्त्रीहरू र अन्य प्रतिवादी नभएकाहरूको हकमा मुद्दा खुल्ला राखिएको छ,’ खत्रीले लोकान्तरसँग भने ।
पूर्वप्रधानमन्त्रीद्वयलाई अनुसन्धानको दायरामा नल्याइएको भन्दै व्यापक आलोचना भएपछि सीआईबीले अन्तिम समयमा उनीहरूको घरमै पुगेर बयान कागज गरेको थियो । सीआईबीले दुवै जनालाई प्रतिवादी बनाउन समेत सिफारिस गरेको थिएन ।
प्रकरणमा ४ पूर्वमन्त्री तथा बहालवाला सञ्चार सचिव कृष्णबहादुर राउत समेत २९० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा तत्कालीन भौतिक पूर्वाधार राज्यमन्त्री सञ्जय साहलाई प्रतिवादी बनाइएको छ ।