असोज २, २०८०
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन सक्ने चर्चा मात्रले एमालेमा तरंग उत्पन्न भइरहेका बेला फेरि अर्को सन्देश दिने राजनीतिक घटनाक्रम भएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको उत्तराधिकारी को हो ...
काठमाडाैं | भदौ १५, २०८०
१४औं महाधिवेशनमा एउटै टीममा रहेका सभापतिका प्रत्यासी डा. शेखर कोइराला र महामन्त्री गगन थापा कतिपय विषयमा असमझदारीकाबीच फेरि सँगै हिँड्ने बिन्दुमा पुगेका छन् ।
एक भएर अगाडि नबढे १५ औं महाधिवेशनमा पूर्व संस्थापनको बिजोग हुने भएपछि सम्बन्धलाई प्रगाढ बनाएर अगाडि बढ्न उनीहरूमाथि दबाब थियो ।
एक अर्काविरुद्ध विश्वासमा अघि बढ्ने, नेता र टीमको भविष्य सुरक्षित गर्ने दबाबपछि उनीहरू समझदारी बढाएर जान तयार भएका हुन् ।
२००३ सालमा स्थापना भए यता २०७२ सालसम्म कांग्रेसको संस्थापन कोइरालाहरू र उनीहरूको विश्वासपात्र वरिपरि घुमिरह्यो । तर, त्यसयताको ८ वर्ष र अबको तीन वर्ष पनि कोइराला विरासत वा पूर्व संस्थापनबाट नेतृत्व टाढै रहन्छ, किनकि २०७२ र २०७८ मा भएको १३ र १४ औं महाधिवेशनबाट पूर्व संस्थापनलाई सभापति शेरबहादुर देउवाले नमीठो झट्का दिएका थिए । यसैले आफ्ना व्यक्तिगत असन्तुष्टिलाई थाती राखेर भए पनि मिलेर अगाडि बढ्न शेखर र गगन दुवैलाई दबाब बढेको हो ।
‘लगातार दुईपटक नेतृत्व हाम्रो हातबाट फुस्किँदा पार्टीमा धेरै भद्रगोल र विकृति आएका छन् । यसैले केही असझदारी देखिए पनि पार्टी नेता र टीमको भविष्यका लागि पनि मिलेर जानुपर्छ भनेर उहाँरूमाथि दबाब छ,’ दुवैलाई नजिकबाट चिनेका कांग्रेस युवा नेता गुरू घिमिरे भन्छन्, ‘शायद टीमभित्रको दबाबले पनि उहाँहरू दूरी होइन, समझदारी बढाउनुपर्छ भन्नेमा पुग्नुभएको जस्तो लाग्छ ।’
गत महाधिवेशनमा सभापतिमा पराजित भएका शेखर र महामन्त्री जितेका गगन दुवैले आगामी महाधिवेशनबाट सभापतिलाई लक्ष्य बनाएका छन् । यही स्वार्थमा एक अर्काको आकांक्षापछि अभिव्यक्ति र प्रयासले उनीहरूलाई टाढा बनाउने हो कि भन्ने देखिएको थियो ।
‘उहाँहरूको दुवैको काम गर्ने शैली, उमेर, पुस्तामा धेरै अन्तर छ । यसैले कतिपय अवस्थामा विमति नहुँदा पनि टाढा हो कि भन्ने देखियो । सरकार गठनका विषयमा महामन्त्रीले केन्द्रीय समितिमा बोलेको पनि सुनियो,’ घिमिरे भन्छन्, ‘मन्त्री बनाउँदा सल्लाह नभएकोमा महामन्त्रीमा असन्तुष्टि प्रस्टै देखिन्थ्यो । तर फेरि भ्रातृ संस्थामा सदस्य चयनदेखि महिला संंघमा समानान्तर समिति बनाउँदासम्म दुवैले सल्लाहमै काम गरिरहनुभएको छ ।’
सभापतिको कार्यशैलीलाई हेर्ने दृष्टिकोण, सरकारमा मन्त्री पठाउनेसहितका विषयले शेखर र गगनबीच दूरी बढेको झल्को सार्वजनिक कार्यक्रममै देखिन्थ्यो । दुईबीच मेल हुन नदिन सभापति देउवाले पनि शेखरलाई च्याप्न खोजेका घटनाक्रमैबाटै देखिएको थियो ।
देउवाविरुद्ध बोलाइएका गुटगत भेला रोक्ने, देउवासँगै विभिन्न स्थानका कार्यक्रममा जाने, मन्त्रीमा गगनसँग सल्लाह नगरी नाम पठाउने जस्ता गतिविधि शेखरले थालिसकेका थिए । पार्टी प्रणालीका कतिपय विषयमा सभापतिसँँगै देखिए पनि शेखरले आफू नजिक हुन नखोजेको प्रतिक्रिया दिएका थिए । तर गगनले आफूलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएपछि केही नेताको पहलमा दुवैलाई फेरि सँगै हिँडाउने प्रयास भएको थियो ।
‘कतिपयले खेलेका हुन सक्छन्, तर बाहिरबाट हेर्दा पनि उहाँहरूबीच समस्या देखियो । द्वन्द्व बढ्यो भन्नेमा हामीहरू पुगेका थियौं,’ घिमिरे भन्छन्, ‘यसैले उहाँहरू काठमाडौंमा भएका बेला भेटघाटको प्रबन्ध मिलाएर अब यसरी हुँदैन, मिलेर अगाडि बढे मात्रै सबैको हित हुन्छ भन्ने भएपछि केही समयअघि फेरि आन्तरिक समझदारी भएको हो ।’
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य शेखर र गगन मिलेर जाँदा नै दुवैको हित हुने टिप्पणी गर्छन् ।
‘शेखर पारिवारिक र परम्परागत राजनीतिक विरासतबाट उदाए, तर गगनको उदय सडकबाट हुन पुग्यो । यिनीहरूको उमेर, पृष्ठभूमि र विरासत नै अलग भएकाले स्वभावैले इच्छा र आकांक्षा फरक देखिन सक्छ,’ आचार्य भन्छन्, ‘तर आफ्ना इच्छा पूरा गर्न भन्दै एक अर्कामा निषेध र द्वन्द्वभन्दा एकताको बाटो हिँड्दा दुवैको हित हुन्छ ।’
कांग्रेसमा देउवाको विकल्पमा उदाउँदै गरेका नेताद्वय नै भिड्ने अवस्था आउँदा फेरि अर्को पक्ष हावी हुनेतर्फ सचेत हुनुपर्ने उनी बताउँछन् ।
‘स्वभावैले शेखर र गगन आफैं भिड्दा अर्को पक्षलाई फाइदा हुन्छ,’ आचार्य भन्छन्, ‘यसैले हामीबीच कसैले खेलिरहेको त छैन भनेर उनीहरू सचेत देखिनुपर्छ । एक अर्कालाई निषेध होइन, सह-अस्तित्व स्वीकारेर अगाडि बढे समस्या हुन्न ।’
किन मिल्न बाध्य छन् शेखर र गगन ?
पार्टी विभाजन गराएपछि फेरि एकता गरे पनि कुनै नेता स्थापित भएको इतिहास नेपालको राजनीतिमा बिरलै छ । तर देउवाले पार्टी फुटाएर एकतापछि पनि आफूलाई पार्टीको उच्च पदमा पुर्याएरै छाडे । यस क्रममा देउवाले लगातार दुई महाधिवेशनमा पूर्व संस्थापनलाई तितरबितर बनाइदिए । यसैले १५ औं महाधिवेशनबाट पुरानो विरासत फर्काउन पनि मिलेरै अगाडि बढ्नुको विकल्प शेखर र गगन दुवैसामु नदेखिएको हो । नमिल्दा फेरि पनि सबैथोक गुमाउनुपर्छ भन्ने बोध दुवैलाई भएको निकटस्थहरू बताउँछन् ।
१३ औं महाधिवेशनमा पूर्व संस्थापनपक्षीय महाधिवेशन प्रतिनिधि १९ सय हुँदा पनि १३ सय प्रतिनिधि भएका देउवा हावी भए । कोइराला विरासतका शशांकलाई आफूतिर ढल्काउँदै रामचन्द्र पौडेललाई दोस्रो चरणमा देउवाले सभापतिमा पराजित गरिदिए । यसक्रममा कुनै समयका कोइरालाहरूका विश्वासपात्र कृष्णप्रसाद सिटौलाको बलियो साथ समेत देउवाले प्राप्त गरे ।
यतिमात्रै होइन १४ औं महाधिवेशनपछि त कोइराला विरासतकै शेखरलाई नै देउवाले माथ दिए । दुई वर्ष अगाडिको यो महाधिवेशनमा पूर्व संस्थापन झन् तितरबितर हुन पुग्यो । रामचन्द्र पौडेल, शशांक, सुजाता, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला कोही पनि शेखरको पक्षमा उभिएनन् । यसैले देउवाले दोस्रो चरणमा पुगेको निर्वाचन पनि सहजै जित्न पुगे ।
एकपछि अर्को महाधिवेशनमा देउवा हावी भएको र उनी आएपछि पार्टी पार्टीजस्तो नदेखिएकाले अब फेरि मौका गुमाउन नहुने गरी अगाडि बढ्नुपर्ने मत घिमिरे राख्छन् ।
‘१३औं महाधिवेशनपछि सभापतिले सबैलाई समेटेर काम गरेको भए, दूरी र द्वन्द्व घटाउने तथा अस्वस्थ गुटबन्दी अन्त्य गर्ने काम गरेको भए, आन्तरिक एकता गरेको भए, जसले नेतृत्व गर्दा पनि केही हुन्थेन,’ घिमिरे भन्छन्, ‘तर अरूलाई पेलेर एकल वर्चस्व कायम राख्ने र पार्टीलाई सभापतिको सीमित स्वार्थको पिंजडामा कैद गर्ने शैलीका कारण पार्टी जीवन्त हिसाबले चल्न सकेन । यसैले विकल्प खोज्नुपर्यो ।’
एक कार्यकाल पूरा र अर्को महाधिवेशनको आधा हुँदा पनि देउवाले पक्षपाति व्यवहार देखाइरहेको उनी बताउँछन् ।
‘समग्रमा पार्टी १३ औं र १४ औं महाधिवेशनपछि पनि प्रभावकारी रूपले चलेन । पहिले पनि गुटबन्दी थियो, तर यति चर्को र अस्वस्थ थिएन । राम्रालाई छानेर अवसरबाट वञ्चित गर्ने प्रवृत्ति विकास भयो,’ घिमिरे भन्छन्, ‘हामीले नेताको हित भनेनौं, तर पार्टीको हित, उन्नति, प्रगति भनेको लोकतन्त्रको हित हो । यसैले पार्टीलाई सही बाटोमा हिडाउँनुपर्छ भन्नेमा हामी निरन्तर दबाब दिइरहेका छौं ।’
पार्टीभित्रकै बेथितिले लोकतान्त्रिक शासनमा नै असर गरेकाले पनि मिलेर अगाडि बढ्नुको विकल्प नभएको नेताहरू बताउँछन् ।
‘हाम्रो आन्तरिक बेथितिले पनि देशको लोकतान्त्रिक शासनमा खास असर परेको छ । यसको जिम्मा नेतृत्वले जिम्मा लिनुपर्छ,’ घिमिरे भन्छन्, ‘यसैले यस्तो अप्ठ्यरोबाट अगाडि बढ्न पुरानो समूहको बलियो एकता र आगामी महाधिवेशनमा जीत हुने गरी अगाडि बढ्नुको विकल्प छैन ।’
कोइराला विरासत नै मुख्य हो ?
बीपीले हुर्काएको कांग्रेस २०४८ सालपछि गिरिजाकै वरिपरि घुमिरह्यो । उनीपछि सुशीलले केही वर्ष कोइराला विरासत चलाए । तर, गिरिजाले नै २०४८ सालमा गृहमन्त्री बनाइदिएका देउवाले अन्ततः कोइरालाको प्रतिस्पर्धी बन्दै विरासत भत्काउन पुगे । बीपी, गिरिजा र सुशील हुँदासम्म एक ठाउँमा रहे पनि अहिले भने कोइराला परिवार छरपस्ट भइसकेको छ । यसैले पार्टीमा गैर कोइरालाहरूलाई पनि विश्वासमा लिएर अगाडि बढ्नुपर्ने बाध्यता शेखरसामु छ ।
‘कोइराला विरासतले मात्रै अब कांग्रेस चल्दैन, यो एक सय प्रतिशत दाबीका साथ भन्न सकिने विषय हो । डा. शेखरले समेत यो कुरा पटक–पटक भन्दै आउनुभएको छ,’ शेखर निकटकै एक नेता भन्छन्, ‘यसैले सबैसँग समन्वय गरेर सबैको मन जित्ने गरी अगाडि बढ्न सक्ने नेता मात्रै सफल हुन्छ । यस क्रममा उहाँहरूले पारिवारिक समझदारी पनि बनाउनुपर्ने हुन्छ ।’
शेखर स्थापित हुन र नेतृत्वमा पुग्न पनि समझदारी आवश्यक भएको ती नेता बताउँछन् ।
देउवाबाट विरासत फर्काउन सक्दा जो स्वीकार्य हुन्छ, उसैले नेतृत्व गर्नुपर्ने नेता गुरु घिमिरेले बताए । ‘पहिलो शर्त नै शेखर र गगनजीसहितका नेता एक हुनु हो । समग्र पार्टीको हितका लागि जसले नेतृत्व गरे पनि हुन्छ भन्ने बुझाइ हुँदा समस्या हुन्न,’ घिमिरे भन्छन्, ‘उहाँहरूले एक भएर प्रस्ताव गर्ने बित्तिकै उहाँहरू भए पनि, अरू भए पनि जीत निश्चित छ । यसैले व्यक्तिलाई प्राविधिक मानेर टीमको हितलाई ठूलो माने समस्या हुन्न ।’
नत्र हिजो रामचन्द्र पौडेल र पछि शेखरले अवसर पाउँदा पनि नतिजा आफ्नो पक्षमा पार्न नसकेको जस्तो नियति भोग्नुपर्ने उनी बताउँछन् ।
के गर्लान् शशांक ?
स्वास्थ्यले समेत साथ नदिएपछि गिरिजापुत्री सुजाता कांग्रेसमा नेतृत्व गर्ने होडबाट बाहिर छिन् । तर १३ औं बाट महामन्त्री जितेका बीपीपुत्र शंकाक र १४ औं महाधिवशेनमा सभापतिमा पराजित भएका केशव–नोनापुत्र शेखरमा सभापति बन्ने हुटहुटी छ ।
शेखरले सभापतिका लागि फेरि पनि आफूलाई अगाडि बढाएका छन् । तर शशांकले बाबु बीपीको लिगेसी र विरासतको आधारमा आफूले नेतृत्व पाउनुपर्ने मान्यता राखेका छन् । शेखरको जत्तिको तयारी उनको देखिन्न ।
‘शशांकसँग हाम्रो सामूहिक भेट भएको थियो । हामीसँगको भेटमा सभापतिको दाबेदारबारे केही बोल्नुभएन,’ कांग्रेसका एक नेता भन्छन्, ‘तर पब्लिकमा सभापतिको उम्मेदवार बन्छु भनेको सुनेका छौं ।’
तर, शेखरले १३ औं र १४ औं महाधिवेशनपछि गरेको जस्तो तयारी र देशदौडाहा शशांकको छैन ।
‘उहाँको सभापतिका लागि कुनै तयारी देखिँदैन । देउवाले उम्मेदवार बनाउन सक्छन् भन्ने विश्वासमा मात्रै बसेको जस्तो देखिन्छ,’ ती नेता भन्छन्, ‘यसबाहेक पार्टी नेता कार्यकर्ताका मन, भावाना जित्ने, पार्टी सुधारको योजना र कार्यक्रम ल्याउने, कुन–कुन नेतालाई विश्वासमा लिने ? समर्थन क–कसको चाहने ? देशका नेता कायकर्ता र देशको आवश्यता के छ ? उहाँको व्यक्तिगत तयारी के हो ? यो प्रस्ट छैन ।’
शेखर र गगनको मनस्थिति तथा तयारी
शेखर एकपटक सभापतिमा भिडिसकेका छन् । महाधिवेशनयता टीमका नेता पनि उनै छन् । केन्द्रदेखि तल्लो तहसम्म शेखरकै नामको समूह छ । उमेरले पनि पछि साथ नदिने हुँदा उनले १५ औं महाधिवेशनलाई अन्तिम अवसर ठानेका छन् ।
‘एकपटक भिडिसक्नुभएको छ । त्यसैले १४ औं मा पनि सभापतिको प्रतिस्पर्धामा एकपटक लड्छु भन्ने अधिकार उहाँलाई छ,’ शेखरनिकट एक नेता भन्छन्, ‘तर शेखर समूहमा अलिहेसम्म खुलेर उहाँले मात्रै दाबेदारी गर्नुभएको छ । समूहले अर्को दाबेदारबारे पनि बहस गरेको छैन । अर्को बनाउने हो भने पनि सहमतिमा बनाउनुपर्छ ।’
तर अघिल्लोपटक महामन्त्री जितेका र संसदीय दलमा देउवासँग पराजित भएका गगन १५ औं मा सभापतिको दाबेदार छन् ।
‘गगनजीले पनि साढे तीन दशक कांग्रेसमा व्यतित गरिसक्नुभयो । यस क्रममा विभिन्न जिम्मेवारी बहन गरेको नेतालाई अयोग्य छन्, पार्टी चलाउन सक्दैनन् भनेर कसैले भन्ने ठाउँ छैन । गगनजी उत्तिकै लोकप्रिय र क्षमतावान पनि हुनुहुन्छ,’ एक नेता भन्छन्, ‘तर सँगै के पनि हो भने यो पार्टीमा लिगेसी बोकेका तथा पुराना नेता छन् भनेर उहाँले पनि सोच्नुपर्छ । यसैले एकपटक पर्खिदा पनि उहाँलाई ढिलो हुँदैन ।’
अघिल्लोपटक सिटौलाको टीमबाट महामन्त्रीमा थापाले न्यून मत ल्याएका थिए । शेखर टीममा परेपछि मात्रै थापा दोस्रो प्रयासमा महामन्त्री बन्न पुगे । यसैले ठूलो समूहको सहमतिमा मात्रै उम्मेदवार बन्नुपर्ने बोध थापालाई भइसकेको छ ।
तर पार्टी र व्यक्तिको रोडम्याप पनि हुने भन्दै पुस्तान्तरणको बसहमा थापालाई पार्टीले सभापतिको उम्मेदवार बनाउन पनि सक्ने अवस्थालाई नकार्न नहुने मत उत्तिकै छ ।
‘पार्टीको र व्यक्तिको रोडम्याप हन्छ । पुस्तान्तरण गर्ने र पार्टीलाई नयाँ उचाइमा लाने नीति हुँदा युवालाई पनि अघि सार्न सकिन्छ,’ एक नेता भन्छन्, ‘भारतमा भाजपाबाट नरेन्द्र मोदी उच्च वरीयतामा थिएनन् तर उनको व्यक्तित्वले उनलाई प्रधानमन्त्री बनाउने गरी पार्टीले अघि सार्न पुग्यो । पार्टी केन्द्रमा ल्याउनुपर्ने भयो । यस्तै अवस्था हाम्रोमा पनि आउन सक्छ ।’
यस्तोमा सहमतिमा शेखर वा गगन जसलाई अघि सारे पनि मान्नुपर्ने मत शेखर पक्षभित्र छ ।
‘समूहले एकपटक शेखर कोइरालालाई अघि बढाउने हो भने निर्णय गर्दा सबैले मान्नुपर्छ । होइन गगन नै आवश्यक हो भने पनि सर्वसम्मत निर्णय गरेर जानुपर्छ,’ ती नेता भन्छन्, ‘तर शेखर वा गगनको मात्रै इच्छालाई राखेर निर्णय गर्न खोजियो भने समस्या हुन्छ । यसैले एक्लै हिँड्ने होइन, सहमतिमा अगाडि बढ्नुको विकल्प छैन ।’
आवश्यक पर्दा सभापति र प्रधानमन्त्री एक–एकजनाले चलाउने गरी सहमतिमा जाने विकल्पमा पनि यो समूहमा छलफल भइरहेको छ । तर, एक्लाएक्लै अगाडि बढे फेरि देउवा हुने दुवैको विश्लेषण छ ।
पछिल्लो दुई महाधिवेशनयता देउवाले मात्रै अर्को पक्षबाट नेता कार्यकर्ता भित्र्याएका छन् ।
‘देउवाले पछिल्लो १० वर्षमा हाम्रा थुप्रै नेता र कार्यकर्ता आफ्नोतिर लगे, हामीले हाम्रै प्रभावशाली नेता पनि जोगाउन सकेनौं,’ कांग्रेसका एक नेता भन्छन्, ‘देउवाले संरक्षण गर्नुभयो, तर हामीले केही गर्न सकेनौं । सबैको सह–अस्तित्व, सहकार्य र संरक्षण गरेर जान सके सबै राम्रो हुन्छ ।’
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन सक्ने चर्चा मात्रले एमालेमा तरंग उत्पन्न भइरहेका बेला फेरि अर्को सन्देश दिने राजनीतिक घटनाक्रम भएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको उत्तराधिकारी को हो ...
सत्ता स्वार्थ र शक्तिको राजनीतिक दाउपेचका अस्वस्थ शृंखलाबीच शालीनता र समन्वयकारी भूमिकाका लागि प्रसिद्ध सुवासचन्द्र नेम्वाङ अन्ततः अस्ताएका छन् । संविधानसभाको अध्यक्षता गर्ने दुर्लभ अवसर पाएका नेम्वाङको गएराति निधन भए...
पार्टीको संस्थापन पक्षले पुष्पकमल दाहाल प्रचण्ड ‘नेतृत्व’कै सरकारको निरन्तरता चाहिरहेका बेला प्रभावशाली नेता डा. शेखर कोइरालाले पछिल्लो केही सातायता निरन्तर कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने विषय ...
विद्यालय बन्द गरी देशभरबाट काठमाडौं आएका सामुदायिक विद्यालयका शिक्षकहरूले बिहीवार दोस्रो दिन पनि आन्दोलन जारी राखे । संघीय सरकारले संसद्मा पेश गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण ...
२०६८ फागुन दोस्रो साता अपराह्नको समयमा संविधानसभा अध्यक्षको कार्यकक्षमा संसद् रिपोर्टिङ गर्ने पत्रकारहरू जम्मा भएर बसिरहेका थियौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सो समयमा नियमितजसो पत्रकारहरूसँग अनौपचारिक कु...
संघीय संसद्को राज्य व्यवस्था समितिमा दुई सुरक्षा निकायका प्रमुखले ‘सुरक्षा थ्रेट’को विषय उठाएपछि अहिले एक प्रकारको तरंग पैदा भएको छ । नेपालको सुरक्षा अवस्था र सामाजिक, धार्मिक विषय कति संवेदनशील...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...