×

NIC ASIA

माल पाएर चाल नपाएपछि...

कोभिडपछि भित्रिए २ अर्बका भेन्टिलेटर: अधिकांश थन्किँदा आधाजसो बिग्रिएर 'कोमा'मा !

पहुँचका भरमा जथाभावी वितरण, सरकारीमा भेन्टिलेटर थन्किँदा निजी अस्पताल धाउँदै बिरामी

काठमाडाैं | भदौ २२, २०८०

Prabhu Bank
NTC
Premier Steels

पछिल्लो ३ वर्षमा देशभरका सरकारी अस्पतालमा झण्डै २ अर्ब मूल्यका भेन्टिलेटर पुर्‍याइए पनि लापरबाहीका कारण सञ्चालनमै नआई अलपत्र परेको पाइएको छ ।

Muktinath Bank

संघ, प्रदेश र स्थानीय सरकारले छुट्टाछुट्टै किनेका, अस्पताल आफैंले खरिद गरेका र विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भेन्टिलेटरहरूको सदुपयोग नगर्दा राज्यको अर्बौं रुपैयाँ लगानी बालुवामा पानीसरह बन्न पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिडपछि स्वास्थ्य सेवा विभागले मात्रै देशभरका विभिन्न सरकारी अस्पतालमा ८४० थान भेन्टिलेटर हस्तान्तरण गरेको छ, तर धेरैजसो भेन्टिलेटर अहिले सञ्चालनमै छैनन् । केही उदाहरण हेरौं:


Advertisment
Nabil box
Kumari

मधेश प्रदेशको महोत्तरी प्रादेशिक अस्पताल जलेश्वरमा झन्डै तीन वर्षअघि खरिद गरिएका ५ थान भेन्टिलेटर हालसम्म पनि सञ्चालनमा आउन सकेको छैनन् ।

Vianet communication

कोभिडको पहिलो संक्रमणकालमै मधेश प्रदेश सरकारले ५ वटा भेन्टिलेटर किनेर अस्पताललाई हस्तान्तरण गरेको थियो ।

प्रदेश सरकारले कोभिडकालमा बजेट विनियोजन गरेर ५० बेडको अस्थायी कोभिड अस्पताल बनाएको थियो । सोही क्रममा ५ थान भेन्टिलेटर खरिद गरेर हस्तान्तरण गरिएको थियो ।

कोभिड अस्पतालबाट अहिले उक्त अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नति भइसकेको छ, तर हालसम्म पनि भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन ।

अस्पतालका विकास समितिकी अध्यक्ष मीनु झा भने जनशक्ति र बजेट अभावमा तीन वर्षदेखि भेन्टिलेटर सञ्चालन हुन नसकेको बताउँछिन् ।

'तालिम प्राप्त जनशक्ति नै थिएन । अहिले केही कर्मचारीले तालिम लिएर आउनुभएको छ । केही दिनभित्रै भेन्टिलेटरसहितको आईसीयू सञ्चालन गराउने तयारीमा दिनरात लागेकी छु,' अध्यक्ष झाले लोकान्तरसँग भनिन्, 'प्रदेश सरकारले साथ दियो भने केही दिनभित्रै भेन्टिलेटर उपयोगमा आउँछ ।'

****

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेका २५ वटा भेन्टिलेटरमध्ये १० वटा बिग्रिएका छन् ।

संघीय सरकारअन्तर्गत रहेको उक्त अस्पतालमा कोभिडपछि ठूलो संख्यामा भेन्टिलेटर आपूर्ति गरिएको भए पनि १० थान भेन्टिलेटर बिग्रिएर प्रयोगविहीन बनेका हुन् ।

अस्पतालका सूचना अधिकारी समेत रहेका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. संकेतकुमार रिसालका अनुसार कतिपय भेन्टिलेटर नियमित प्रयोग नभएर बिग्रिएका हुन् ।

'इमर्जेन्सीमा एउटा भेन्टिलेटर राखिएकोमा सञ्चालनमा नै छ । अप्रेसन थिएटरमा रहेका ४ वटा भेन्टिलेटरमध्ये २ वटा सञ्चालनमा छन् भने २ वटा बिग्रिएका छन्,' रिसालले लोकान्तरसँग भने, 'त्यसैगरी आईसीयूमा जडान भएका २० वटा भेन्टिलेटरमध्ये १२ वटा सञ्चालनमा छन् भने ८ वटा बिग्रिएका छन् ।'

उक्त अस्पतालमा बायोमेडिकल इन्जिनियर पनि छन् । तर, बिग्रिएका महंगा भेन्टिलेटरहरू मर्मत गरी सञ्चालनमा ल्याइएको छैन । सञ्चालनमा रहेका भेन्टिलेटरबाटै काम चलिरहेकाले मर्मत नगरिएको रिसालको जिकिर छ ।

'१० बेडको आईसीयूमा २० वटा भेन्टिलेटर जडान भए पनि १२ वटा सञ्चालनमै रहेकाले अहिलेका लागि काम चलेकै छ,' रिसालले थपे, 'त्यसैगरी ओटीमा भएका ४ भेन्टिलेटरमध्ये २ वटा सञ्चालनमा रहेकाले त्यसबाट पनि काम भइरहेको छ ।'

केही भेन्टिलेटर अस्पताल आफैंले खरिद गरेको थियो भने केही हस्तान्तरण भएर आएको थियो ।

****

कोशी प्रदेशको विराटनगरस्थित कोशी अस्पतालमा रहेका २० वटा भेन्टिलेटरमध्ये १६ थान भेन्टिलेटर बिग्रिएका छन् भने ४ थान भेन्टिलेटर मात्र सञ्चालनमा छन् ।

मेडिकल वार्डदेखि आईसीयूसम्म भेन्टिलेटर जडान गरिएको भए पनि सञ्चालनमा भने ४ वटा मात्र रहेका हुन् ।

कोशी अस्पताल विराटनगरकी शाखा अधिकृत इन्दिरा यादवले बिग्रिएका भेन्टिलेटरहरू सामान्य मर्मत गरी सञ्चालनमा ल्याउन सक्ने खालका रहेको बताइन् ।

'हामीसँग रहेका कुल २० वटा भेन्टिलेटरमध्ये सबै जडान गरिएको भए पनि ४ वटा मात्र अहिले सञ्चालनमा छन्,' यादवले लोकान्तरसँग भनिन्, 'बिग्रिएका भेन्टिलेटरहरू सामान्य मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने खालका नै छन् ।'

१२ बेडको आईसीयू सञ्चालन गरिएकोमा १७ थान भेन्टिलेटर त्यहाँ जडान गरिएको थियो । त्यसमध्ये अधिकांश भेन्टिलेटर सामान्य समस्याका कारण थन्किएको उनको कथन छ ।

कोभिडपछि अस्पतालले कुल ११ थान भेन्टिलेटर खरिद गरेको तथा बाँकी हस्तान्तरण भएर आएको उनले बताइन् ।

'लामो समयदेखि हामीसँग बायोमेडिकल इन्जिनीयरको दरबन्दी नै थिएन । न बायोमेडिकल इन्जिनियर थियो, न त बायोमेडिकल टेक्निसियन नै,' यादवले लोकान्तरसँग थपिन्, 'झन्डै २० दिनअघि मात्र हामीले एकजना बायोमेडिकल इञ्जिनीयर राखेका छौं । अब उहाँले बिग्रिएका भेन्टिलेटर मर्मत गरी सञ्चालनमा ल्याउनुहुन्छ ।'

****

मधेश प्रदेशको प्रादेशिक अस्पताल जनकपुरधाममा रहेका ९ थान भेन्टिलेटरमध्ये ७ थान भेन्टिलेटर मात्र सञ्चालनमा छन् ।

प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. रामनरेश पण्डितका अनुसार कोभिडको पहिलो चरणमै सञ्चालनमा ल्याइएको कोभिड अस्पतालमा बिरामीहरूले २ थान भेन्टिलेटर फुटाइदिएका थिए ।

तीन वर्षअघि नै फुटाइएका ती २ थान भेन्टिलेटर हालसम्म मर्मत नगरिएको उनले खुलाए ।

'भएका ७ थान भेन्टिलेटर आईसीयू, एनआईसीयू र एचडीयूमा सञ्चालन गरिएको छ । अत्यधिक बिरामीको चाप हुने यस अस्पतालमा अझ धेरै भेन्टिलेटरको आवश्यकता छ ।

चालू आर्थिक वर्षमा थप भेन्टिलेटर किन्ने तयारीमा छौं,' डा .पण्डितले लोकान्तरसँग भने ।

****

बुटवल उपमहानगरपालिकमा सञ्चालित लुम्बिनी प्रादेशिक अस्पतालमा रहेका कुल ४६ थान भेन्टिलेटरमध्ये ३६ वटा मात्र सञ्चालनमा छन् । उक्त अस्पतालका बायोमेडिकल इन्जिनीयर जोबन शाहका अनुसार ३६ वटा भेन्टिलेटर सञ्चालनमा छन् भने १० वटा भेन्टिलेटर बिग्रिएर थन्किएका छन् ।

कोभिडअघि उक्त अस्पतालमा जम्मा १० वटा भेन्टिलेटर थियो । कोभिड अस्पतालका लागि सञ्चालन गरिएका १० वटा भेन्टिलेटर अहिले निकालेर स्टकमा राखिएको उनले खुलाए ।

'भएका भेन्टिलेटरमध्ये केही आईसीयू, एनआईसीयू, पीआईसीयू र ओटीमा सञ्चालनमा छन् । त्यसमध्ये एनआईसीयूमा रहेका ६ मध्ये ३ वटा भेन्टिलेटर बिग्रिएका छन्,' शाहले लोकान्तरसँग भने, 'त्यसैगरी कोभिड अस्पतालको आईसीयूमा जडान गरिएका १० वटा भेन्टिलेटर अहिले स्टकमा राखिएको छ । स्टकमा राखिएकालाई पनि नियमित मर्मत गर्नुपर्ने हुन्छ । बिग्रिएका भेन्टिलेटरलाई समेत मर्मत गरी पुन: सञ्चालनमा ल्याउँछौं ।'

****

कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगरमा कुल १८ वटा भेन्टिलेटर रहेकोमा १५ वटा भेन्टिलेटर सञ्चालनमा छन् ।

उक्त अस्पतालका सूचना अधिकारी विनोद बस्नेतका अनुसार पुराना ३ थान भेन्टिलेटर बिग्रिएर थन्किएका छन् ।

'तीन थान भेन्टिलेटर मर्मत नै हुन नसक्ने अवस्थामा छन्,' बस्नेतले लोकान्तरसँग भने, 'बाँकी रहेकाहरू भने नियो नेटल आईसीयू र एडल्ट आईसीयूमा सञ्चालनकै अवस्थामा छन् ।'

****

माथि उल्लेख गरिएका केही प्रतिनिधिमूलक अस्पताल मात्र हुन्, अधिकांश अस्पतालमा भेन्टिलेटरको अवस्था यस्तै छ ।

कोभिडअघि देशभरका सरकारी अस्पतालमा भेन्टिलेटरको चरम अभाव थियो । भेन्टिलेटरको अभावकै कारण सयौं बिरामीले ज्यान गुमाएका थिए । त्यसपछि संघीय सरकारदेखि विभिन्न प्रदेश सरकार र केही स्थानीय तह समेतले महंगो दरमा भेन्टिलेटर किनेका थिए । त्यसैगरी विभिन्न दातृ निकायले संघ, प्रदेश सरकारलाई समेत भेन्टिलेटर हस्तान्तरण गरेका थिए ।

२ अर्बभन्दा बढीका भेन्टिलेटर वितरण, लापरबाहीले राज्यको अर्बौं नोक्सान

स्वास्थ्य सेवा विभागले मात्रै पछिल्लो ३ वर्षमा कुल ८४० थान भेन्टिलेटर देशभरका सरकारी अस्पतालमा पठाएको छ ।

कोभिडपछि २०७७ साउनदेखि हालसम्म स्वास्थ्य सेवा विभागमा प्राप्त भएको ९२४ थान भेन्टिलेटरमध्ये ८४० थान सरकारी अस्पतालहरूमा वितरण गरिएको व्यवस्थापन महाशाखाका आपूर्ति प्रमुख डा. सुरेन्द्रप्रसाद चौरसियाले बताए ।

वितरण गरिएकाबाहेक ८४ थान भेन्टिलेटर भने विभागले भण्डारण गरेर स्टकमा राखेको छ ।

अनुदानमा प्राप्त गरिएका ७८४ थान भेन्टिलेटरमध्ये सबैभन्दा बढी चीनबाट २८२ थान भेन्टिलेटर नेपाललाई प्राप्त भएको हो । युएसएडबाट १ सय थान, जर्मनी सरकारबाट ११२ थान भेन्टिलेटर प्राप्त भएको छ ।  अन्य विभिन्न दातृ निकायले पनि भेन्टिलेटर उपलब्ध गराएका छन् ।

कोभिडपछि आए झण्डै २ अर्बका भेन्टिलेटर, कुन कहाँबाट आए ?

कुल ९२४ थानमध्ये ८७४ थान भेन्टिलेटर विभिन्न दातृ निकायले अनुदान सहयोगमा उपलब्ध गराएका हुन् । बाँकी ५० थान भेन्टिलेटर विभाग आफैंले किनेको हो ।

१२ करोड २७ लाख १८ हजार रुपैयाँमा विभागले ५० थान भेन्टिलेटर किनेको थियो ।  प्रतिभेन्टिलेटर २४ लाख ५४ हजार ३६० रुपैयाँका दरले भेन्टिलेटर किनिएको विभागले जनाएको छ ।

विभागको तथ्यांक हेर्दा अनुदानमा प्राप्त भएका भेन्टिलेटरको मूल्य कतै शून्य राखिएको छ भने कतै ८ हजार ६१३ रुपैयाँ कायम गरिएको छ ।

कुल ९२४ थान भेन्टिलेटरको मूल्य ७४ करोड ९८ लाख ९५ हजार ८४७ रुपैयाँ उल्लेख गरिएको छ । तर, अनुदानमा प्राप्त भेन्टिलेटरको वास्तविक मूल्य समेत जोड्ने हो भने डेढ अर्बभन्दा बढी हुन्छ ।

एउटा भेन्टिलेटरको औसत मूल्य १० लाखदेखि २५ लाख रुपैयाँसम्म पर्छ । त्यस आधारमा प्रति भेन्टिलेटर औसत मूल्य १७ लाख ५० मान्ने हो भने ९२४ थान भेन्टिलेटरको मूल्य १ अर्ब ६१ करोड ७० लाख रुपैयाँ हुन आउँछ । यही हिसाबले सरकारी अस्पतालमा हस्तान्तरण गरिएका ८४० थान भेन्टिलेटरको मूल्य करीब १ अर्ब ४४ करोड २० लाख हुन आउँछ ।

यसबाहेक विभाग बाहिरैबाट विभिन्न प्रदेश सरकार, स्थानीय सरकारले पनि भेन्टिलेटर खरिद गरेका थिए । ती सबैको मूल्य जोड्दा २ अर्बभन्दा माथि हुन आउँछ ।

यसरी खरिद गरिएका भेन्टिलेटर अहिले सञ्चालनमै छैनन् । कतै जडान नै नभइकन बिग्रिएका छन् भने कतिपय अस्पतालमा जडान भएर पनि सञ्चालनमा आएका छैनन् ।

हेर्नुहोस्, अनुदानमा प्राप्त भेन्टिलेटरको विवरण :


स्वास्थ्य सेवा विभागका आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्रप्रसाद चौरसियाले कोभिडपछि धेरैजसो अस्थायी अस्पतालले भेन्टिलेटर प्रयोगमा ल्याए पनि अहिले बिरामी नभएकाले सञ्चालनमा नरहेको जिकिर गरे ।

'त्यतिबेला भेन्टिलेटरको अत्यधिक माग थियो । कोभिड अस्पतालमा हामीले दिएका भेन्टिलेटर जडान गरेर सञ्चालनमा पनि आयो,' चौरसियाले लोकान्तरसँग भने, 'तीमध्ये केही मात्र बिग्रिएको हो । धेरैजसोले अहिले बिरामी नभएका कारण स्टोरमा राखेका छन् ।'

देशभर कति भेन्टिलेटर सञ्चालनमा छन् र कति बिग्रिएका छन् भन्ने तथ्‍यांक विभागसँग नरहेको उनले खुलाए ।

स्वास्थ्य सेवा विभाग, पूर्वाधार विकास शाखाकी बायोमेडिकल इन्जिनियर सञ्जिता शर्माले कति भेन्टिलेटर बिग्रिए र कति सञ्चालनमा छन् भन्ने तथ्यांक विभागसँग नरहेको बताइन् ।

'धेरैजसो अस्पतालमा भएका सबै भेन्टिलेटर सञ्चालनमा छैनन्, कतिपय बिग्रिएका पनि छन्,' उनले लोकान्तरसँग भनिन्, 'कतिपय स्थानमा त तालिमप्राप्त दक्ष जनशक्ति नै नरहेका कारण भेन्टिलेटर जडान नभएर पनि बिग्रिएको भन्ने हामीले सुनेका छौं ।'

भेन्टिलेटर सञ्चालन गर्न बजेट अभाव भएको, मर्मत गर्न जनशक्ति नै नभएको, जनशक्ति भएको ठाउँमा पनि स्पेयर पार्ट्स किन्न बजेट नरहेको गुनासो गर्ने गरेको उनको भनाइ छ ।

कोभिडकालमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहिसकेका डा. जागेश्वर गौतम भने बिग्रिएका भेन्टिलेटरहरूलाई मर्मत गरी सञ्चालनमा ल्याउन अत्यन्त आवश्यक रहेको बताउँछन् ।

गौतम अहिले सरकारी जागिरबाट सेवानिवृत्त भइसकेका छन् ।

'अहिले पनि धेरैजसो सरकारी अस्पतालमा आईसीयूमा भेन्टिलेटर बेड नभएका कारण सिकिस्त बिरामीहरू महंगा निजी अस्पतालमा जान बाध्य छन्,' गौतमले लोकान्तरसँग भने, 'भेन्टिलेटर सञ्चालन गर्नका लागि धेरैजसो सरकारी अस्पतालमा अहिले पनि तालिमप्राप्त जनशक्ति छैनन्, भेन्टिलेटर भए पनि जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको अवस्था छ ।'

बिग्रिएका भेन्टिलेटर मर्मत गरी सञ्चालन गर्नुपर्ने उनको कथन छ ।

आईसीयू सञ्चालन नभएका कतिपय अस्पताल पहुँचको भरमा भेन्टिलेटर लगिएको उल्लेख गर्दै उनले त्यस्ता भेन्टिलेटर आईसीयू भएका स्थानमा सार्नुपर्ने बताए ।

'कोभिडको समयमा विभिन्न राजनीतिक दलका नेताले पहुँचको भरमा आवश्यक जनशक्ति र पूर्वाधार नभएको स्थानमा पनि भेन्टिलेटर लगेका थिए । तर, ती अस्पतालमा स्रोत साधन अभावमा भेन्टिलेटर सञ्चालनमै आउन सकेन,' उनले थपे, 'हो, अहिले जुनस्थानमा आवश्यक छैन, ती स्थानबाट भेन्टिलेटर आवश्यक पर्ने तथा जनशक्तिसहित आईसीयू सञ्चालन भइरहेका सरकारी अस्पतालमा स्थानान्तरण गर्नुपर्छ ।'

कोरोनाकालमा निमोनिया भएर फोक्सो ध्वस्त भएका बिरामीको फोक्सोमा सिधा अक्सिजन दिएर श्वास भर्न भेन्टिलेटर प्रयोग गरिएको थियो । अचेत अवस्थामा रहेका बिरामीलाई भेन्टिलेटरमार्फत औषधि र पौष्टिक आहार समेत दिने गरिएको थियो ।

जुन बिरामीलाई सास फेर्न गाह्रो हुन्छ, दम बढ्छ, अक्सिजन स्तर पुग्दैन, कार्बनडाइअक्साइड फाल्न सक्दैन, उसलाई मुखभित्र हावा धकेल्ने काममा भेन्टिलेटर प्रविधिले सहयोग गर्छ ।

यसबाहेक अन्य केही रोग लागेर छातिको मासु कमजोर भए, सर्पको टोकाइबाट पक्षघात भए, निमोनिया र बेहोस पारेर गरिने शल्यक्रियामा पनि भेन्टिलेटर प्रयोग हुँदै आएको छ ।

सिकिस्त बिरामीको ज्यान बचाउनका लागि आईसीयूमा प्रयोग हुने महंगो उपकरण भेन्टिलेटरको सदुपयोग नगर्दा अर्बौं रकमका सामान यत्तिकै खेर जाने अवस्था छ ।

हेर्नुहस्, सरकारी अस्पतालमा वितरित भेन्टिलेटरको विवरण :

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x