जनकपुरधाम ३ असोज – जनकपुर उपमहानगरपालिकामा मेयरका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा राजपाले अग्रता लिएको छ । पूर्वउपप्रधानमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता बिमलेन्द्र निधिको जिल्लामा कांग्रेस कमजोर देखिएको छ ।

मंगलवार साँझ सम्मको प्रारम्भिक मतगणनामा राजपा उम्मेदवार लालकिशोर साहले एकसय ४५ मत पाएका छन् ।
कांग्रेस उम्मेदवार मनोज कुमार साहले ७२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार लक्ष्मीनारायण भगतले जम्मा पाँच भोट प्राप्त गरेको मतगणना स्थलमा रहेका राजपाका एक नेताले जानकारी दिए । यद्यपि यो आधिकारीक नतिजा भने होइन ।
अहिले उपमहानगरपालिकाका १, २, ३ र ४ वडामा मतगणना भइरहेको छ । ४ सय मतगणना सकिएपछि मात्र आधिकारीक नजिता सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
मतगणना अत्यन्त ढिलो गतीमा भइरहेको छ । अन्य १७ स्थानमा पनि पनि मतगणना जारी छ ।