

केही महिना अघि नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालन गर्ने नियम, कानुन र तरिकाबारे जानकारी गराउन पोखरामा तीन दिने अभिमुखीकरण कार्यक्रम गर्यो। जनप्रतिनिधिले भने तीनै दिन एउटै कुरा दोहोर्याए-‘हामीलाई सुविधा चाहिन्छ।’ तीनै दिन सोधियो-‘के सुविधा?’ तीनै दिन एउटै उत्तर आयो-‘गाडी।’
केही समय अघि काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरूले नगरको बजेटबाट आफूहरूलाई महङ्गो स्मार्टफोन किन्ने निर्णय सेलाउन नपाउँदै मेयर र उपमेयरलाई लगभग करोड करोडका गाडी मगाइएको समाचार आयो। धनगढी उपमहानगरपालिकाले पनि यस्तै गाडी मगाएको खबर आएको छ। त्यसैगरी सुर्खेतको चौकुने गाउँपालिकाका जनप्रतिनिधिहरूले पनि आफ्नो लागि गाउँपालिकाको बजेटबाट एक एक वटा मोटरसाइकल किन्ने निर्णय गरे।
यसरी देशभरीका धेरै स्थानीय तहका जनप्रतिनिधिहरूबीच सेवा र सुविधा बढाउनमा अहिले एक किसिमको होड नै छ| त्यसमा पनि धेरैको अर्जुनदृष्टि गाडीमै छ।वहाँहरूको कुरा पनि सही नै हो- भन्ने बेलामा चाहिँ ‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने अनि सिंहदरबारका सिंहहरूले झैं वहाँहरूले पनि पनि सेवा सुबिधा चाहियो भन्नु र व्यवस्था गर्नु अनौठो होइन| राजा महेन्द्रले एक प्रसंगमा `साम्यवाद मोटर चढेर आउँदैन´ भनेका थिए रे|
हाम्रा जनप्रतिनिधिहरू खासगरी `समाजवादी´ र `सर्बहारा´जनप्रतिनिधिको मोटर मोह देख्दा लाग्छ-निकट भविष्यमा चानचुने मोटर होइन विलासी, महङ्गो र बिशेष मोटर चढेरै नेपालमा समाजवाद र साम्यवाद दुवै आउनेछ। एक हातमा साम्यवाद अर्को हातमा समाजवाद पाएपछि नेपाली जनताको भुइँमा खुट्टा होलान् र?

त्यसैले हाम्रा स्थानीय जनप्रतिनिधिका यस्ता सुन्दर कामको मुक्तकण्ठले प्रशंसा गरौँ, अराष्ट्रवादी र विकास विरोधी हुनबाट बचौं।
तर सामाजिक सञ्जालमा र यत्रतत्र यसको बिरोध भएको देखिन्छ| यसरी विरोध गर्नु जायज छैन किनभने काठमाडौँ महानगरपालिकाले किन्न लागेको गाडीमा जो शयर गर्छ उसलाई काठमाण्डौका सडकका खाल्टोहरू पुरिईसकेको अनुभूति हुनेछ। गाडी नै खाल्डाखुल्डी प्रूफ भएपछि अहिले भैरहेका खाल्डाखुल्डी किन पुर्नु पर्यो? ती पुरेर जनताको करको रकम दुरुपयोग गर्नु हुन्न भन्ने तर्क सोह्रै आना जायज छ| अहिले त मान्छे त्यो पनि सस्याना केटाकेटी निल्ने खाल्डा मात्रै छन्| भोलिपर्सि बस, टिपर, ट्याङ्कर नै डुब्ने खाल्डाखुल्डी भएपछि जल यातायातको सम्भावना पनि बढेर जानेछ भनेर आशा गरौँ। त्यसैले तीनलाई संरक्षण र संबर्द्धन गरौं।
जनताले सुन्दै नसुनेका, देख्दै नदेखेका मोनोरेल र मेट्रोरेल जस्ता जिनिस ल्याइदिने, ‘लोसे सिटी’लाई स्मार्ट सिटी बनाइदिने, खतरा खतरा आशा र सपना देखाइदिने जनप्रतिनिधिले जाबो एकदुई करोडको गाडी, एक दुई लाखको मोबाइल किन्यो भनेर बुरुक बुरुक गर्नुहुन्न। यसैगरी निन्दा गरिराखे मेट्रोरेल, मोनोरेल र स्मार्ट सिटीका ‘एप्स’ मोबाइलमा डाउनलोड गरी खेल्ने स्थिति आउने पक्का छ।
अलिकति सुखका, थोरै सुविधाका अनि हल्काफुल्का विलास र मस्तीका सरकारी चीजहरू आफ्नो साथमा नभए जनतालाई कसरी आशा जगाउन सकिन्छ? जनमुखी काम कसरी गर्न सकिन्छ? बृद्धभत्ता घरघरमै कसरी पुर्याउन सकिन्छ ? जनताको सेवा गर्न कन्फिडेन्स् नै आउँदैन। महङ्गो गाडी नचढ्ने जनप्रतिनिधिलाई त जनताले नै हेप्छन्| नपत्याए महङ्गो गाडी चढेर जनसेवा गर्न जानुस्, मारुती चढेर जनसेवा गर्न जानुस् र लखर लखर हिंड्दै जानुस्, जनताले गर्ने रेस्पोन्समा आन का तान फरक हुन्छ| पजेरो प्राडोको अगाडी बिचरा मारुतीवाला र पैदलवाला!
कतिपय तथाकथित मितव्ययी महानुभावहरूले पुराना विलासी गाडी त्यतिकै थन्किएका छन् तीनलाई मर्मत गरेर चलाउँदा हुन्थ्यो नि भन्ने राय व्यक्त गरेको पनि देखियो | यो त झन् हेपाहा राय हो किनभने जनताको प्रत्यक्ष मतबाट निर्वाचित प्रतिनिधिहरूलाई पुराना गाडी मर्मत गरेर चलाउने भन्ने न्यायोचित कुरा होइन | कम से कम ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ का पक्षधरहरूले त यस्तो कुरा गरेको पटक्कै सुहाउन्न|
आफ्नो पैसाले किन्या भए पनि त हुन्थ्यो नि भन्नेहरू पनि देखिए। यसो भन्नेहरूको बुद्धिको भाँडोमा बिर्को लागेकै हुनुपर्छ! नत्र काम चाहिं जनताको गर्नुपर्ने अनि ती काम गर्न चाहिने चीजबीजहरू चाहिँ आफ्नो पैसाले किन्ने कुरा कसरी सोच्थे ? लौ आफ्नै पैसाले किन्ने हुनुभो रे वहाँहरू! तर वहाँहरूसंग पैसा पनि हुनुपर्यो नि। अधिकांश जनप्रतिनिधिहरू बिचरा कि त `सर्बहारा´ छन् कि त `समाजवादी´ छन्। `सर्बहारा´ र `समाजवादी´संग कसरी हुन्छ पैसा? विहान बेलुकी डुकुभातको जोहो गर्नै धौ धौ! एकाध जनप्रतिनिधि धनमग्न छन् भन्दैमा सबै त्यस्ता हुँदैनन् नि!त्यसैले निन्दा गर्नुको साटो बरू अरू थप सेवा सुविधा लिन सुझाव दिनुपर्छ|
जस्तै-
नम्बर एक, सबै जनप्रतिनिधिहरूलाई एक एक वटा अत्याधुनिक बङ्गला उपलब्ध गराउने। यसो भएमा आफ्नो घर हुनेले बकाइदा आफ्नो घर भाडामा लगाएर अत्याधुनिक बङगलामा राज गर्न सक्नुहुनेछ। अथवा त्यही अत्याधुनिक बङ्गलै पनि भाडामा लगाएर आफ्नो घरमा बसीबसी अतिरिक्त आय आर्जन गर्न सक्नुहुनेछ | जति जनप्रतिनिधिहरूको आर्थिक उन्नति हुन्छ त्यति नै सहज रूपमा जनताको काम हुनेमा कुनै शंका छ र? गरीबीले ग्रस्त जनप्रतिनिधिले कसरी जनताको काम गर्न सक्छ ? यूरोप अमेरिकाका जनप्रतिनिधिलाई हेर्नुस् त ती कति सम्पन्न र धनी छन्| तब न तीनले जनताका काम कति सहजै गर्न सकेका छन् |
नम्बर दुई, वडाध्यक्ष र सदस्यलाई त गाडी सुबिधा दिन त अलिक मिल्दैन होला। झन् धेरै विरोध आउला| त्यसैले प्रत्येक वडाध्यक्ष र सदस्यलाई एक एक थान अरू होइन बुलेट बाइक उपलब्ध गराउने। यसो भयो भने टोलमा आफ्नो वडाध्यक्ष वा सदस्य आएको प्रष्ट थाहा हुनेछ किनभने उस्तै परे मान्छे नै ढाल्न सक्ने आवाज हुन्छ बुलेट बाइकसंग। डनवादी प्रतिनिधि परे भने त बुलेट बाइक चढेको निकै सुहाउँछ। वहाँहरू आको गाको थाहा पाउने बित्तिकै आफ्ना समस्याहरू तुरुन्त राख्न सकिने भइयो| यसो भयो भने ‘गणतन्त्रको उपहार: घरघरमा सरकार’ को नारा सार्थक हुनेछ|
नम्बर तीन, यसरी जनप्रतिनिधिहरूले खाको, लाको, सुख सुबिधा उपभोग गरेको, जनताका काम फटाफट गरेको देखी नसहने राष्ट्रघाती र अलोकतान्त्रिक तत्वहरूले बिरोधै मात्रै गर्ने क्रम बढ्दै गएमा वहाँहरूमाथि सुरक्षा खतरा बढ्छ। अनि बुलेट प्रूफ गाडीको व्यस्था तुरुन्तै गर्नुपर्छ| एक स्थानबाट अर्को स्थानमा जाँदा कडा सुरक्षा बीच सडक खाली गराएर साइरन बजाउँदै सवारी चलाउनु पर्छ|
नगरपालिकामा विजयी अधिकांश जनप्रतिनिधिले आफ्नो नगरलाई ‘स्मार्ट सिटी’ बनाउने घोषणा गरेका छन् भने गाउँपालिकामा बिजयी प्रतिनिधिहरूले भने समृद्ध गाउँपालिका बनाउने घोषणा गरेका छन्। त्यसको प्रारम्भ देशको जेठो र ठूलो महानगरपालिकाबाट भई नै सकेको छ। स्मार्ट मोबाइल र विलासी गाडीको निर्णय यसैको शुरूवात हो भन्नुपर्छ| ठूलाबडाले जे गर्यो अरूले त्यसैको सिको गर्ने हुन्| हाम्रा जनप्रतिनिधिहरूको यसैगरी सेवा सुविधा विविधीकरण हुँदै जाने हो भने आगामी पाँच बर्ष भित्र हाम्रा नगरपालिका ‘टाट सिटी’ बनेर भएपनि ‘स्मार्ट सिटी’ बन्नेमा रत्तिभर सन्देह रहेन| अनि हाम्रा गाउँलेहरू दरिद्र बनेर भए पनि ‘समृद्ध प्रतिनिधि´ बन्नेमा पनि शंका भएन। सुबिधामोहको यो तीब्रता बढ्दै गएर सबैभन्दा धेरै सुबिधाभोगी नै हाम्रा स्थानीय तहका जनप्रतिनिधिहरू भए भने `गाउँ गाउँमा सिंहदरबार' नाराले तीनको मानमर्दन हुनेछ। त्यसैले त्यतिखेर चाहिं `गणतन्त्रको उपहार: गाउँ गाउँमा राजदरबार' भन्नुपर्छ| अझ विशिष्टीकरण गरेर ‘हाम्रा भिलेज र सिटी: सबैतिर नारायणहिटी’ भन्यो भने झन् सार्थक हुनेछ।
हाम्रा जनप्रतिनिधिहरूले भोट माग्दा विकास गर्छु, समृद्धि ल्याउँछु भन्नुभएकै हो र अहिले बिकास र समृद्धि नै ल्याउँदै हुनुहुन्छ।कसको बिकास? कसको समृद्धि? त्यस्ता छुद्र र दरिद्र प्रश्न नसोधौं।
त्यसैले,‘सर्बहारा’ यानेकि केही नभएका हरितन्नम र ‘समाजवादी’ यानेकी समाजको लागि काम गर्दा गर्दा गरीब भएकाहरूलाई चुनाव जिताएपछि अलिअलि सेवा सुविधा जोगाड गर्यो भनेर निन्दा नगरौं।