माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
नेपाली साहित्यको परिसरमा विविध विधाका माध्यमले आफूलाई अनवरत प्रस्तुत गर्दै आएकी एउटी स्रष्टाको नाम ललिता दोषी पनि हो । प्रत्येक सर्जकको सिर्जना र व्यक्तित्वको पाटो एक समान हुन्छ वा हुनु नै पर्छ भन्न सकिन्न । कतिपय सर्जकको सिर्जना अब्बल भए पनि व्यक्तित्व नजिकिँनै नसकिने किसिमको पनि हुन्छ । मैले कतिपय सर्जकलाई ‘विषधारी गोमन सर्प र उनका सिर्जनालाई मूल्यवान मणि’ पनि भन्दै आएकी छु । तर हाम्री ललिता दोषी भने आँखामा हाल्दा पनि नबिझाउने सर्जकको नाम हो भन्दा मलाई आत्मसन्तुष्टि हुने गर्छ ।
ललिताजस्ती निर्दोष मानवीले किन आफ्नो उपनाम दोषी राखिन् होला भनेर मलाई आश्चर्य पनि लाग्छ । नामकै कुरा गर्दा दोषले भरिपूर्ण व्यक्तिको नाम निर्दोष र अविवेकी व्यक्तिले विवेक नाम ओढेर दाैडिरहेको देखिन्छ । यसरी नामको विपरीतार्थ अभिव्यक्ति पाइरहेका सन्दर्भमा त्यसैले ललिताको दोषीले निर्दोषी स्वभाव खामेको कुरामा म ढुक्क छु । यसकारण दोषीको अनुहार जति उज्यालो छ मन पनि त्यति नै उज्यालो र उनका सिर्जना अझै उज्याला छन् भन्न अत्युक्ति हुने छैन भन्ने मेरो मान्यता छ ।
यस धरामा आधा शताब्दी बिताउँदै गरेकी दोषीले नेपाली साहित्य भण्डारमा तीन दर्जन बढी कृति समर्पण गरिसकेकी छिन् भन्दा उदेक लाग्छ । अझ कुशल गृहणीको भूमिका निर्वाह गरिरहेकी दोषीको संस्थागत सक्रियता पनि लोभलाग्दो देखिन्छ ।
१०४ पृष्ठको उनको पुस्तक लघुकथाका लागि सहज आकारको भएको कारण पनि अहिलेको व्यस्त जीवनशैलीका पाठकले दोषीको ‘महान् कविज्यू’लाई हार्दिकतापूर्वक स्वागत गर्नेछन् । लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ’रोदन’को लघु शुभेच्छा र लघुकथामै विद्यावारिधि गरेका डा पुष्करराज भट्टले कृतिको समालोचकीय भूमिकाद्वारा पुस्तकको अग्रपृष्ठ शोभायमान हुनाले दोषीको कृतित्वलाई वान्की दिएको छ ।
यसका साथै लघुकथामा नै आफ्नो पहिचान स्थापित गरिसकेका नारायण तिवारी, नेपाली लघुकथा विधालाई चर्चित र सम्मानित बनाउन लागिपरेका डायोस्पोरिक स्रष्टा खेमराज पोखरेल, सिर्जना र समालोचनामा सक्रिय स्रष्टा हरिप्रसाद भण्डारी लगायतका व्यक्तित्वहरूको शुभकामनाका पङ्तिद्वारा दोषीले आफ्नो ’महान् कविज्यू’ लाई सिंगारेकी छिन् ।
ललिता दोषी व्यवहारमा नरम छिन् तर उनको लेखनी भने निकै तीक्ष्ण छ । समसामयिकीसँग तादात्मयता राख्दै व्यङ्ग्यात्मक प्रस्तुति गर्न उनको लेखक खप्पिस छ । लघुकथाजस्तो थोरैमा धेरै कुरा भनिसक्नुपर्ने विधाको कला प्रस्तुतिमा दोषीको प्रखरता देखिन्छ ।
साहित्य साधना हो । अध्ययन, लेखन र प्रकाशनमा अनवरत लागिपर्न सकेमात्र यस क्षेत्रमा सार्थकता प्राप्त हुनसक्छ भन्ने कुरासँग पनि दोषीले आत्मसात गरेकी छिन् भन्ने कुराको प्रमाण यसै पुस्तकको पृष्ठ ९४ देखि पृष्ठ १०२ सम्म समाहित भएको ललिता दोषीको परिचयले प्रस्तुत गरेको छ । अध्ययन, लेखन, प्रकाशन, संस्थागत उन्नयनका अतिरिक्त सक्रियताका साथ पारिवारिक र सामाजिक धरातलमा समेत सुललित जीवनशैली दोषीको परिचायक बनेको छ ।
यसरी चारैतिर सहजताका साथ परिभ्रमण गर्ने सदासयी लेखकका रचनामा नै विषयवस्तुको घनत्व र सामाजिक यथार्थको वाहुल्य हुने गर्छ । अर्को कुरा समाजमा छरिएका कुरिति निवारणका लागि पनि दोषीका कथाहरू लक्षित देखिन्छन् । तन, मन र विचारले स्वयम् सुन्दर दोषी समाजका कुुरुप विकृतिहरू आफ्ना रचनाका माध्यमले समाप्त पार्न उद्धत देखिन्छिन् । ‘महान कविज्यू’भित्र सङ्ग्रिहित लघुकथाहरूले धारण गरेका र मैले आत्मसात गरेको विशेषताको खुलासा यहाँ मैले लघु रूपमै प्रस्तुत गरेकी छु :
१. महान् कविज्यू : साहित्यिक विकृतिको एउटा रूप,
२.रक्सीको गन्ध : गरिबीको स्वरूप,
३.समय : परोपकारिताको कीर्ति,
४.तपाईँजस्तो : राजनैतिक व्यभिचारप्रतिको व्यङ्ग्य,
५.भगवान् : असल कर्मको प्रतिफल भगवद्स्वरूपको दर्शन । मानिस नै कर्मद्वारा भगवान् बन्ने प्रस्तुति,
६. मूल्याङ्कन : साहित्यिक क्षेत्रको विकृतिको खुलासा,
७. थोरै झुठ : मातापिताको खुसीका लागि छोरीले लिएको झुठको सहारा,
८. पापको भुँवरी ः आफ्नो हितकर्ताप्रतिको गलत बुझाइ,
९. दश रुपियाँको नोट : नश्वर जीवनवोध,
१०. महान् आमा : त्यागमय मातृत्वको महान् गाथा,
११.खुसीको आँसु : पिताको कर्तव्य गान,
१२. अठोट : वैदेशिक रोजगारीको पर्यायबारेको जानकारी दिइएको वर्तमान नेपालका लागि आवश्यक कथा,
१३. धाईआमाको आँशु : पैसामुखी भ्रष्ट समाजको चित्र,
१४.चेतना : पर्यावरणीय चेतनाले व्याप्त उत्कृष्ठ कथा,
१५.महामानव : मानवीयताको उदाहरण प्रस्तुत गरिएको अर्को उत्कृष्ट कथा
१६.कर्णवीर : सामाजिक विकृतिको पराकाष्ठाको झलक,
१७. उपमा : नारीमहत्ता,
१८. निर्णय : पतिपत्नीका वीचको विश्वास,
१९. नानी ! अङ्किते : पर्यावरणीय चेतनायुक्त,
२०. अप्रिलफुल : भद्धा र स्तरहीन हास्यले निम्त्याउने दुर्घटनाको स्वरूप,
२१. हीराको मोल : असल स्वभावको अमूल्य वान्की,
२२. प्रेम : शाश्वत प्रेमको नमूना,
२३. गुरुको शिर : असल शिष्यको धर्म,
२४. भ्यालेन्टाइन डे : विकृतिजन्य प्रेम,
२४.गणतन्त्र : गणतन्त्र नामधारी चरम बेथितिबारेको आक्रोश,
२५. उघ्रिएको आकाश : कर्मचारीहरूले पारिवारिक जीवनप्रति जिम्मेवारी बहन गर्नुपर्ने चेतना,
२६. फेसन : नयाँ जमानाका केटाकेटीका फेसनबारेको व्यङ्ग्य
२७. बौलाही : समाजले निर्धामाथि गर्ने अत्याचार, नाटकीय शैलीको कथा,
२८. कविता प्रतियोगिता : साहित्यको विकृत रूपमाथिको कटाक्ष,
२९. लाख सलाम : सच्चरित्र नारीशक्तिको महत्ता,
३०. चीत्कार : बलात्कार विरूद्धको चेतना,
३१. अधिकारका कुरा : मायाप्रेम, सुसम्बन्ध र संस्कारको अर्थ नबुझ्ने नारीलाई शब्दझापड,
३२. जीवनको रङ : शाश्वत प्रेमको परिभाषा,
३३. धाप : विकृतिले आक्रान्त प्रेम परिसर प्रवेश गर्नेका लागि सतर्कता अपनाउन चेतना प्रवाह,
३४.मनको लड्डु : फरक सोच र भ्रमको तानाबाना,
३५. भिल्लको देश : मूल्यहीनतामा मूल्यको खोजी,
३६. सौता : परिहास र गलत बुझाइको अर्थ साक्षात्कार,
३७.पूरा वाक्य : आमा र गुरुआमाबीच एकाकार ।
‘महान कविज्यू’का विशेषता :
१. लघुकथारूपी हतियार प्रयोगद्वारा वर्तमान नेपाली साहित्य परिसरमा छताछुल्ल विकृतिको भण्डाफोरमा ललिता दोषी सक्रिय देखिन्छिन् । यस सङ्ग्रहमा भएका कतिपय कथाहरू यिनै कुराका प्रमाण भएर बोलेका छन् भने पुस्तकको नामाकरण नै साहित्यिक विकृतिजन्य व्यङ्ग्य प्रधान कथा ’महान् कविज्यू’ राखिनुले पनि दोषीको लक्ष्य स्पष्ट पारेको छ ।
२. दोषीका केही लघुकथाभित्र कवितांशले पनि स्थान पाउनाले यस कृतिका पाठकले लघुकथामा काव्यिक स्वाद अनुभूत गर्दै द्विविधीय आनन्दप्राप्त गर्ने मौका पाएका छन् ।
३. युग सापेक्षता वा समय सापेक्षता दोषीका लघु कथाका गहना बनेका छन् । ‘अठोट’जस्तो कथा विदेश पलायन हुने युवाहरूका लागि गायत्री मन्त्र नै बनेको छ । देश र आफ्नो माटोको महिमा बुझाउन यो लघुकथा समर्थ बनेको छ ।
४. ‘दूध गुनाको बुद्धि, कुल गुनाको जात’, ‘दूध उम्ले अगेनामा, छोरी उम्ले खाल्डामा’ , ’भाइ भए भरोस, गाई भए गोरस’, ‘कहाँ जालिस् मछली मेरै ढडिया’, ’गहिरो नदी कुर्लिँदैन’, ’हग्नेलाई भन्दा देख्नेलाई लाज’, ’लाटाको खुट्टा बाटामा’, ’जुन जोगी आए पनि कानै चिरिएको’, ’जो सोझो उसैको मुखमा घोचो’, ’बाटाको मादल बजायो, छोड्यो, हिँड्यो’जस्ता उखान वा लोकोक्तिका प्रयोगले लघुकथा रसिला बनेका छन् ।
निष्कर्ष :
साहित्यका विविध विधामा कलम चलाउने सष्टा ललिता दोषीको अत्यन्त सौम्य, नम्र, शिष्ट र सरल व्यक्तित्वसँग मात्र परिचित पाठकले ’महान कविज्यू’ भित्रका कतिपय कथामा अभिव्यक्त उनको विद्रोहले दोषीभित्रको लेखकीय ज्वाला सहजै अनुभूत गर्न सक्छ । सामाजिक विकृतिका विरूद्धमा आगो ओकल्न पछि नपर्ने कथाकारका रूपमा दोषी यहाँ प्रस्तुत भएकी छिन् ।
’महान् कविज्यू’मा सङ्ग्रिहित कथाहरू सबै सुन्दर हुँदाहुँदै पनि ’पूरा वाक्य’ यस सङ्ग्रहको सार्थक, अति सुन्दर र प्रेरक कथा हो ।
हाम्रो समाजले आमाजस्तै गुरुआमा र गुरुआमाजस्तै आमा पाउन सके राष्ट्रकै अनुहार फेरिन सक्छ । यी दुवै आमाले बालबालिकाको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।
शब्द सङ्ख्याका हिसाबले यस सङ्ग्रहभित्रको सबैभन्दा थोरै शब्द खामिएको लघुकथा पनि ’पूरा वाक्य’ नै हो । तर यस कथाले वहन गरेको भावार्थ, समय सापेक्षता र लघुकथाको बनोटकै हिसाबले पनि यो लघुकथा अत्यन्त सार्थक कथाका रूपमा रहेको छ । थोरै शब्दमा विराट अर्थ बोकेको यस लघुकथाले पाठकका मष्तिष्कमा दीर्घकालीन असर छोड्न सक्षम छ ।
शिक्षकको महत्ता उजागार गरेर कथाकार दोषीले यस कथामार्फत् समाजलाई नै मार्ग दर्शन गरेकी छिन् ।
अहिलेको समयमा नेपाली साहित्य लेखनमा बाढी नै आएको छ । अझ त्यसमा पनि गजल र लघुकथाले त साहित्यिक परिसर नै ढाकेको देखिन्छ । प्यास लाग्दा बाढीको प्रदुषित पानी पिउन सकिन्न । तर प्राकृतिक विपदा भएर आउने बाढी छेक्न पनि सकिन्न ।
तर ललिता दोषी बाढी भएर आएकी स्रष्टा नभएर कलकल निरन्तर बग्ने स्वच्छ नदीस्रष्टा हुन् । त्यसैले साहित्यिक बाढीग्रस्त अवस्थामा स्रष्टा ललिता दोषीका लघुकथा भने पाठकको पठनतृष्णा मेटाउने शुद्ध जल नै बनेका छन् । लघुकथाकार दोषीको उर्वर कलमले भविष्यमा थप कालजयी लघुकथा सिर्जना गर्नेछन् भन्ने कुराको विश्वासिलो आधारका रूपमा ’महान कविज्यू’लाई अघि सार्न सकिन्छ । म दोषीको निर्दोष स्रष्टा जीवनप्रति गौरव गर्छु ।
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...