०३ साउन २०८३, आइतबार

नेपालीले गान्धीको आदर्श किन अनुसरण गर्ने ?

कात्तिक २०, २०७४
नेपालीले गान्धीको आदर्श किन अनुसरण गर्ने ?


महात्मा गान्धी विश्वका यस्ता दार्शनिक हुन् जसले सिद्धान्त अध्ययन गरेर र अर्ती दिएर कसैलाई अनुयायी बनाएनन् अनि बन्नुपर्छ भनेर अड्डी पनि लिएनन् । आफै‌‍ले अनुभव गरेको कुरालाई जीवन आदर्शमा उतारेर त्यसलाई अहिंसाको सिद्धान्त बनाए । त्यसैले उनी अहिंसाका पुजारी बने । विश्वले त्यसरी नै उनलाई चिन्दछ ।

कुनै पनि समस्यालाई गहन रूपमा अध्ययन गरेर समाधानको कारण पत्ता लागाउन सक्नु उनको व्यावहारिक गुण रह्यो । भगवान बुद्धले दुःखको कारण पत्ता लगाएजस्तै उनले पनि आधुनिक जीवनमा विकराल समस्या रहेको स्वीकारेका छन् । विश्वमा समस्याका धेरै प्रकार छन् । जस्तै, गरीबी, धनी र गरीबबीचको विभेद, पूर्व र पश्चिमबीचको मतभेद, उत्तर र दक्षिणबीचको विभेद, आतंकवाद, जातीय युद्ध, उत्पीडन, भ्रष्टाचार, अतिवाद, उन्माद, हिंसा आदि । यी समस्याको समाधान छ भन्ने कुरालाई उनको जीवनआदर्शले प्रमाणित गरिदिएको छ । 

त्यसका लागि ज्ञान योग, भक्ति योग र कर्म योगको संगम जीवनलाई बनाउन सक्नुपर्छ । मानिस आध्यात्मिक हुनसक्नु पर्छ, न कि कर्मकाण्डी । गान्धीको अनुभव र आदर्शले अहिले संसारको समस्याको समाधान दिन्छ । तर मानवले सत्यको मार्गलाई अनुसरण गर्न सक्नुपर्छ । त्यो भनेको अहिंसालाई आत्मसात गरेर अर्काको भलाइमा समर्पण गर्नु हो । 

उनी समानता, स्वतन्त्रताका पक्षपाती रहे । भगवान् बुद्धका वाणीमा आधारित मैत्री, करुणा, मुद्रिकालाई अंगाल्दै मानव कल्याण र जगत् कल्याणका लागि उनले काम गरे । सामाजिक प्रगति नै निराशाको अन्त्य हो भन्ने उनको मान्यता रह्यो । स्वतन्त्रताका लागि शस्त्रसुसज्जित साम्राज्यस“ग निःशस्त्र आन्दोलनमार्फत गरेर विजयप्राप्त गरेर उनले विश्वलाई चकित बनाइदिए । तर उनले शान्तिपूर्ण साधनाद्वारा आफ्नो देश र जनतालाई स्वतन्त्रता दिलाउन सफल रहे । 

विश्वको राजनीतिक इतिहासमा उनको जीत एउटा चमत्कार नै हो भन्दा हुन्छ । सत्ता परिवर्तनको लडाईंमा अहिलेसम्म त्यसरी एक्लो व्यक्तिको आदर्शमा अहिंसात्मक लडाईं भएर कसैले विजय प्राप्त गरेको पनि छैन । 
अहिंसालाई जीवनचरित्र, साहस, दृढता, संयम र विश्वासका साथ अपनाउन सकियो भने विभेद र अन्यायका विरुद्ध विजय प्राप्त गर्न सकिन्छ भन्ने कुरा उनको जीवनआदर्शबाट जानकारी पाउन सकिन्छ । 

हतियारभन्दा कैयौ गुणा प्रभावशाली हुन्छ अहिंसा मार्ग र सिद्धान्त । उनले सन् १९३० मा गरेको दाण्डी मार्च होस् वा छुवाछुतविरुद्धको भैकाम आन्दोलन, उनलाई अहिंसात्मक आन्दोलनबाट नै देशलाई स्वतन्त्र गराउन सकिन्छ भन्ने आत्मविश्वास जगाएको थियो । सन् १९०६ को दक्षिण अफ्रिकाको आन्दोलनदेखि सन् १९४८ जनवरी ३० सम्म आफ्नो हत्या हुँदासम्म आफ्नो अहिंसाको मार्गबाट उनी विचलित भएनन् ।

बाँच्नका लागि सशस्त्र शक्तिको सहारा लिएनन् । संसार सशस्त्र शक्तिमा विश्वस्त भइरहेका बेला अहिंसामा पनि बल छ भनेर गान्धीले पत्ता लगाए । त्यो मार्गबाट मुक्ति सम्भव छ भनेर प्रमाणित समेत गरेर देखाए उनले । त्यसैले उनलाई व्यावहारिक दार्शनिक भन्दा पनि हुन्छ । विश्वलाई अहिंसात्मक मार्गमा लाग्न प्रेरित समेत गरे उनले । विश्व इतिहासमा अहिंसात्मक शक्तिलाई दर्ज गराउन उनी सफल भए । 

राजनीतिक लडार्इं अहिंसाबाट जित्न सकिन्छ भन्ने विश्वास कसैलाई थिएन । तर गान्धीले त्यसलाई सिद्ध गरेर विश्वलाई विश्वस्त हुन बाध्य बनाए । दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेला र अमेरिकी अश्वेत आन्दोलनका नेता मार्टिन लुथर किंग उनको अहिंसात्मक आन्दोलनका अनुयायी बनेका उदाहरण पनि छन् । त्यसैले ती देशमा गान्धीको आदर्श र दर्शनको उच्च स्थान छ । त्यसो त गान्धीलाई समकक्षी क्रान्तिकारी विचारक लेनिनले जनआन्दोलनका नेता भएकाले क्रान्तिकारी भन्नुपर्छ समेत भनेका छन् ।

भियतनामका पूर्वराष्ट्रपति हो ची मिन्हले गान्धीको सम्मानमा यी शब्द व्यक्त गरेका थिए : ‘गान्धीजी, तपाईंले हामी सबैलाई अहिंसाको मार्गमा हिँडाउन सक्नुहोस् । हामी पनि अहिंसाको मार्गमा हिँड्न सकौं । हामी सबै क्रान्तिकारी हौं । तर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हामी गान्धीकै शिष्य हौं । यसभन्दा कम वा बेशी केही छैन ।’

गान्धीको पहिलोपटक जीवनी उतार्न एक पश्चिमा लेखक जोसेफ डाकले प्रयास गरेका थिए । त्यसक्रममा उनीसँग डाकले प्रश्न गरे, ‘तपार्इंले कस्तो अहिंसाको विकास गर्नुभयो ? यतिसारो केबाट प्रभावित हुनुभयो ?’ त्यतिबेला गान्धीले ‘मलाई बाल्यकालमा अध्ययन गरेको एक कविताको स्मरण छ । उक्त कविताको सार यस्तो थियो । यदि तिमीलाई तिर्खा लागेको बेलामा कसैले पानी पिलाउँछ भने तिमीले पनि उसलाई पानी पिलायौ भने त्यो ठूलो कुरा होइन । बडप्पन त त्यतिबेला झल्किन्छ जब तिमी बैगुन गर्नेलाई समेत गुन गर्न सक्छौ ।’ 

उक्त कविताको पंक्तिले गान्धीको बालमस्तिष्कमा ठूलो प्रभाव पारेको रहेछ । उनी भन्छन्, ‘मैले उक्त पंक्तिलाई व्यवहारमा उतार्न प्रयास गरें । त्यसपछि श्रीमद्भगवद्गीताको कथाबाट त्यसरी नै प्रभावित हुनपुगे । अर्काे ठूलो प्रभाव भनेको रुसी कवि टोल्सटोयको ‘स्वर्ग तिमीभित्रै छ’ भन्ने पुस्तकले पनि मेरो जीवनमा स्थायी परिवर्तन ल्याइदियो ।’ 

मानिसको जीवनमा अरूको जीवन र वचनले प्रभाव पार्ने हो तर त्यसलाई व्यवहारमा खुद मानिसले नै उतार्न सक्नुपर्छ । अनि मात्र चाहेको परिवर्तनको लक्ष्यमा पुग्न सकिन्छ भन्ने सन्देश गान्धीको जीवनीबाट पाउन सकिन्छ । त्यसैले अहिंसामा आधारित गान्धीको दर्शन अहिले पनि नेपाल र नेपालीका लागि अनुकरणीय छ किनकि हाम्रा छिमेकी अस्त्र र शस्त्रले सुसज्जित छन् । 

हामीले उनीहरूसँग शस्त्रबलमा प्रतिरोध गर्न सक्दैनौं पनि । त्यसैले हामीले उनीहरूसँग गर्ने भनेको आदर्श व्यवहार र चरित्रले नै हो । यो कुरा गान्धीको जीवनीबाट सिक्न सकिन्छ ।

लेखक गान्धी र अहिंसा विचारबारे विद्यावारिधि गर्दै छन् ।


लोकान्तर अर्काइभबाट 

salt training

कमेन्ट गर्नुहोस्