
वाणिज्य र विकास बैंकहरूले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् ।
१८ वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो सीमा कम गरेका छन् भने विकास बैंकहरूले पनि अधिकतम सीमामा शून्य दशमलव २५ प्रतिशत कम गरेका छन् ।
तत्काल कर्जाको माग नबढ्ने देखेपछि आफ्नो खर्च कम गर्न निक्षेपमा ब्याजदर कम गरेको बैंकहरूले जनाएका छन् ।
ब्याजदर कम भएपछि बैंकको न्यूनतम् पूँजीकोषमा दबाब कम पर्ने र पूँजीकोषमा कम दबाब परेपछि कर्जा विस्तारमा सहजीकरण हुने विश्वासमा ब्याजदर कम गरिएको एक वाणिज्य बैंकका सीईओले दाबी गरे ।
कुन वाणिज्य बैंकको ब्याजदर कति ?
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १८ ले निक्षेपमा ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंकले पुसको तुलनामा १ दशमलव ९ प्रतिशतले ब्याज घटाएको छ ।
त्यस्तै पुसमा माछापुच्छ्रे बैंकले मुद्दतिमा ९ प्रतिशत ब्याज दिन्थ्यो भने माघका लागि ८ प्रतिशत तय गरेको छ ।
नेपाल एसबीआईले अघिल्लो महिनाको ९ दशमलव ६ प्रतिशतबाट घटाएर ८ दशमलव २५ प्रतिशत बनाएको छ भने कुमारी बैंकले ९ दशमलव ३१ प्रतिशतबाट ८ दशमलव ११ प्रतिशतमा झारेको छ ।
प्रभु बैंकको ९ प्रतिशतबाट ८ दशमलव ०६ प्रतिशत, सानिमाको ९ प्रतिशतबाट ८ दशमलव १५, लक्ष्मी सनराइजको ९ प्रतिशतबाट ८ मा, एनआईसी एसियाको ८ दशमलव ६७ प्रतिशतबाट ८ दशमलव ०६ र राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव ६१ प्रतिशतबाट ८ दशमलव ०७ प्रतिशतमा झरेको छ ।
एनएमबी बैंकले आफ्नो ब्याजदरमा कुनै परिवर्तन गरेको छैन भने नबिल बैंक र ग्लोबल आईएमई दुवै बैंकले ८ दशमलव ६ बाट ८ दशमलव १ प्रतिशतमा झारेका छन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८ दशमलव ५६ प्रतिशतबाट ८ दशमलव ०७ प्रतिशतमा कायम गरेको छ ।
नेपाल बैंकले ८ दशमलव ५५ प्रतिशतबाट ८ प्रतिशतमा ब्याजदर झारेको छ भने पुसमा ८ प्रतिशत ब्याज दिइरहेको एभरेस्ट बैंकले ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ९ दशमलव ५ प्रतिशत ब्याज दिँदै आएकोमा माघ महिनाका लागि ८ दशमलव ६ प्रतिशत ब्याज दिने भएको छ ।
त्यस्तै सिटिजन्सले ९ दशमलव ३५ प्रतिशतबाट ९ दशमलव १५ प्रतिशतमा झारेको छ ।
सिद्धार्थ बैंकले ९ दशमलव २५ प्रतिशतबाट ८ दशमलव १ प्रतिशत ब्याजदर कम गरेको छ भने हिमालयन बैंकले ८ दशमलव ६ प्रतिशतबाट ८ दशमलव १५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
विकास बैंक पनि ब्याजदर घटाउने रेसमा
अधिक तरलताले समस्या निम्त्याएपछि विकास बैंकहरूले पनि वाणिज्य बैंकहरूकै शैलीमा ब्याजदर कम गरेका छन् । यद्यपि वाणिज्य बैंकहरूले भन्दा विकास बैंकले निकै कम प्रतिशतले मात्र माघको ब्याज तय गरेका हुन् ।
औसतमा जम्मा शून्य दशमलव ३४ प्रतिशतले विकास बैंकहरूले आफ्नो ब्याजदर घटाएका हुन् । गरिमा, सांग्रिला, साइन रेसुंगा र कामना सेवा गरी ४ विकास बैंकहरूले पुसमा दिइएको ९ दशमलव २५ प्रतिशतको तुलनामा माघमा जम्मा ९ प्रतिशत ब्याजदर तय गरेका छन् ।
त्यस्तै ज्योति, लुम्बिनी र महालक्ष्मी विकास बैंकहरूले भने पुसमा कायम रहेको ९ दशमलव २५ प्रतिशतबाट शून्य दशमलव ४५ प्रतिशत कम गर्दै ८ दशमलव ८ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
विकास बैंकहरूको आधार दर भने न्यूनतम् १० प्रतिशत देखि अधिकतम ११.५८ प्रतिशतसम्म रहेको छ। गरिमा विकास बैंकको सबैभन्दा थोरै १० प्रतिशत आधार दर हुँदा लुम्बिनी विकास बैंकको आधार दर सबैभन्दा धेरै ११.५८ प्रतिशत छ ।
ब्याजदर अझै घट्न सक्ने
गत साउनदेखि बैंकहरूबीच ब्याजदर तलमाथि गर्ने भद्र सहमति तोडिएको थियो । त्यसयता राष्ट्र बैंकले तोकेको सीमाअनुसार बैंकहरूले छुट्टै ब्याजदर तय गर्दै आइरहेका छन् ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामा नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेपछि बैंकहरू ब्याजदर अझै घटाउनु पर्ने मनोवैज्ञानिक दबाबमा छन् ।
'माघ महिनामा पनि बैंकहरूमा लगानीयोग्य कर्जा बढ्ने अवस्था छैन,' एक वाणिज्य बैंकका सीईओले लोकान्तरसँग भने, 'यतिबेला नयाँ–नयाँ स्किम ल्याएर निक्षेप बढाउनुपर्ने बेला हो तर राष्ट्र बैंकले लिएको मौद्रिक नीतिका कारण निक्षेपको ब्याज कम गर्नुपरिरहेको छ । फागुनमा यो भन्दा अझै कम ब्याजदरमा निक्षेप भित्र्याउनुपर्ने अवस्था आउनेछ ।'