२४ जेठ २०८३, आइतबार
बढ्दो दुर्घटना

सवारी दुर्घटनाले एक सातामै २६ जनाको ज्यान गयो, ९ महिनामा १३ सयभन्दा बढीको मृत्यु

फागुन ७, २०८०
काठमाडौं
सवारी दुर्घटनाले एक सातामै २६ जनाको ज्यान गयो, ९ महिनामा १३ सयभन्दा बढीको मृत्यु

पछिल्लो एक सातामै सवारी दुर्घटनामा २६ जनाको ज्यान गएको छ । गत सोमबारदेखि आज(सोमवार)सम्म देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा २६ जनाको ज्यान गएको हो । पाल्पा, दाङ र कपिलवस्तुमा धेरै मानवीय क्षति भएको छ ।

आजै तनहुँको आँबुखैरेनी गाउँपालिका– १ गिरौनचोरस्थित भित्री सडकखण्डमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप बिहान दुर्घटना भएको हो । 

गत बिहीबार बिहान कपिलवस्तुमा भएको यात्रुबाहक बस दुर्घटनामा १० जनाको ज्यान गएको थियो । दुर्घटनामा ३० जना घाइते भएका थिए । तीव्र गतिमा रहेको बस घुम्तीमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धामा देखिएको छ । 

दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको औराही– ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यानको कालीजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमानको सनाखत भएको कपिलवस्तु प्रहरी प्रमुख एसपी नवरत्न पौडेलले जानकारी दिए ।

महाकाली यातायातको सु–प– प्र–०२–००१ ख ००९८ नम्बरको बस गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकास्थित बाटोबाट २ सय मिटर तल सुरइना खोलामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ३० जना घाइते भएका छन् । 

मृत्यु हुनेमा ७ पुरुष र ३ महिला रहेको प्रहरीले जनाएको छ । अन्य ७ जनाको अझैसम्म सनाखत हुन सकेको छैन । घाइतेहरूको चन्द्रौटास्थित सञ्जीवनी आधारभूत स्वास्थ्य केन्द्र अस्पताल र बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । 

बुधवार अर्थात् फागुन २ गते दाङमा भएको स्कोर्पियो गाडी दुर्घटनामा दिदीबहिनीको मृत्यु भएको थियो । स्कोर्पियो तीव्र गतिमा भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए । उनकाअनुसार गाडी प्रहरी नियन्त्रणमा लिइए पनि चालक फरार छन् । 

बुधवार राप्ती गाउँपालिका–८ पिपरीमा स्कोर्पियो गाडीले साइकललाई ठक्कर दिँदा प्युठान झिमरुक गाउँपालिका– १ घर भएका दुई दिदीबहिनीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जनाकारी दिए ।

उनकाअनुसार राप्ती गाउँपालिका– ८ बस्दै आएकी ३५ वर्षीया राधा बस्नेतको घटनास्थलमा र साइकलको पछाडि बस्ने वर्ष १६ की विपना केसीको उपचारका क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा परेर पछिल्लो सात महिनामा मात्रै १ हजार ३०३ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कलाई हेर्ने हो भने ज्यान गुमाउनेमा ९८४ पुरुष, २३३ महिला र ८६ जना बालबालिका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका– ८ पिपरीनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१०२२ च १३६९ नम्बरको स्कोर्पियोले सोही दिशा भएर गुडिरहेको साइकललाई ठक्कर दिएको थियो । घाइते केसीको सिसहनियाँ स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरेर थप उपचारका लागि बुटवल लगिएको थियो । केसीको उपचारका क्रममा बुटवलमा मृत्यु भएको डीएसपी मल्लले जानकारी दिए । मृतकको शव लमही अस्पतालको शवगृहमा राखिएको छ । 

सोही दिन पाल्पाको तिनाउ गाउँपालिकामा क्षमताभन्दा बढी यात्रु बोकेको जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको थियो । ८ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा ज्यान गएको हो । 

तिनाउ गाउँपालिका–६ मस्यामको शिखरडाँडा जाँदै गरेको जीप मंगलबार साँझ चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको थियो । १३ सीट क्षमताको जीपमा २७ जना यात्रु सवार थिए । कच्ची, उकालो र घुम्ती सडकमा दुर्घटना भएको थियो ।  यीबाहेक देशका अन्य ठाउँमा पनि एक साताकै अवधिमा सानातिना दुर्घटना भएका छन् । 

दुर्घटनामा परेर पछिल्लो सात महिनामा मात्रै १ हजार ३०३ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कलाई हेर्ने हो भने ज्यान गुमाउनेमा ९८४ पुरुष, २३३ महिला र ८६ जना बालबालिका छन् । सोही अवधिमा ३ हजार ६४३ जना गम्भीर घाइते भएका छन् । १५ हजार जना सामान्य घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले जानकारी दिए । 

२३ हजार ५ वटा दुर्घटनामध्ये काठमाडौं उपत्यकामा मात्रै सात महिनामा ९६ जनाले ज्यान गुमाएका छन् । यसैगरी, कोशी प्रदेशमा २१९, मधेश प्रदेशमा २९०, बागमती प्रदेशमा १७३, गण्डकी प्रदेशमा १००, लुम्बिनी प्रदेशमा २६१, कर्णाली प्रदेशमा ६० र सुदूरपश्चिम प्रदेशमा १०४ जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्कले देखाउँछ । 

आर्थिक वर्ष २०७९/०८० मा २ हजार २६८ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए । २३ हजार ५९७ दुर्घटनामा ५ हजार ७३८ जना गम्भीर घाइते भएका थिए । गत आर्थिक वर्षमा १ हजार ७७३ जना पुरुष, ३९९ महिला, १९६ जना बालबालिकाले ज्यान गुमाएको डीआईजी ढकालले बताए । 

उनका अनुसार अधिकांश दुर्घटना सवारी चालकको लापरबाहीका कारण भएको अनुसन्धानमा देखिएको डीआईजी ढकालको दाबी छ । 

‘अधिकांश दुर्घटना चालकका कारणले भएको देखिन्छ । अझै पनि सार्वजनिक यातायातका सवारी चालकहरूलाई सचेतनाको आवश्यकता देखिन्छ,’ डीआईजी ढकालले भने, ‘चालकहरूले तीव्र गतिमा सवारी चलाउँदा धेरै दुर्घटना भएका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्