कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
आफ्नो राजनीतिक जीवनमा तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेसको गठबन्धन तोडेर फेरि प्रधानमन्त्री नै कायम रहन सफल भएका छन् । उनका सहयात्री फेरिए पनि सत्ता फेरिएको छैन । विरोधीहरूका नजरमा अस्थिरताका पर्याय प्रचण्ड शुभचिन्तकहरूका लागि भव्य गतिशील (अझ उनकै भाषामा त उथलपुथलकारी) हुन् । उनको यो ‘अस्थिरता’ र ‘गतिशीलता’ले फेरि बजार तताएको छ ।
प्रचण्ड पहिलो पटक २०६५ साउन ३१ गते लोकतान्त्रिक गणतन्त्रका प्रथम प्रधानमन्त्री बनेका थिए । २०६६ जेठ ११ सम्म पदमा रहे । २०७३ साउन २० देखि ०७४ जेठ २४ सम्म दोस्रो पटक प्रधानमन्त्री बनेका उनी २०७९ पुष १० देखि हालसम्म पदासीन छन् ।
हरेक राजनीतिक व्यक्तिका लागि पहिलो पटक मात्रै पनि प्रधानमन्त्री बन्नु सामान्य कुरा होइन । तर, प्रचण्ड तीन पटकको प्रधानमन्त्री र पार्टीमा झण्डै निर्विकल्प अध्यक्ष बनिरहेका छन् । जुन, बिरलै हुने राजनीतिक परिघटना हो ।
नेपाली राजनीतिमा २०४६ सालयता अधिकांश प्रधानमन्त्रीहरूमा यसप्रकारको ‘असाधारण’ व्यक्तित्व निरन्तर प्रकट भइरहेको छ । नेपाली कांग्रेसको तर्फबाट चार पटक प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला एकै घरबाट तीन भाइ नै प्रधानमन्त्री बन्ने ‘कीर्तिमानी’ परिवारका सदस्य हुन् । पाँचौ पटकसम्म प्रधानमन्त्री बनेका शेरबहादुर देउवा, दुई पटक प्रधानमन्त्री बनेका केपी ओली, कुलमा पाँच पटक र बहुदलपछि मात्रै पनि २ पटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापा आदि व्यक्तिहरू नेपाली राजनीतिका ‘पेले’हरू साबित भए । यो उनीहरूको प्रचण्ड सफलता हो । अझ कम्युनिस्ट राजनीतिलाई जनराजनीति मान्ने हो भने जनताको बीचबाट आएका ‘कम्युनिस्ट प्रधानमन्त्री’हरूअन्तर्गत प्रचण्डको पृष्ठभूमि निकै पेचिलो र जोखिमयुक्त रहेकोमा कुनै विवाद छैन । उनै प्रचण्ड आज सत्ता राजनीतिको केन्द्रमा समेत छन् । थुप्रै पटकको राजनीतिक परिवर्तनसँगै देशमा दर्जनौं प्रधानमन्त्रीहरू फेरिए । एउटै व्यक्ति झण्डै आधा दर्जन पटक प्रधानमन्त्री बन्दाको वर्तमान अवस्था भने एकपछि अर्को कहाली लाग्दो बन्दै गइरहेको छ । ‘राजनीति फोहोरी खेल हो’ यो कुनै बजारले निर्माण गरेको मात्रै भाष्य होइन । बरु, नेपाली राजनीति र उनै ‘असाधारण’ व्यक्तित्वहरूले नेपाली जनताका लागि ‘रचना’ गरिदिएको ‘असाधारण’ उपहारजन्य उपहाससमेत हो ।
राजनीतिजस्तो उत्तम जनसेवा आज प्रत्येक युवा र आम जनताका लागि अचाक्ली घृणाको विषय बनिरहेको छ । आजको दिनसम्म आइपुग्दा नेपाली राजनीति यति धेरै पतित बनेको छ कि राजनीति र भ्रष्टाचार एक अर्काका पर्यायवाची बनेका छन् । यसका साथै राजनीतिको पतनले हर क्षेत्रलाई पतनको रसातलमा झारिदिएको छ । फलस्वरूप आज व्यवसाय र भ्रष्टाचार, प्रशासन र भ्रष्टाचार, समाजसेवा र भ्रष्टाचार, बौद्धिकता आदि र भ्रष्टाचार एक अर्काको परिपूरक बनेका छन् । पौराणिक कथामा वर्णित दक्षप्रजापतिको जिउमा जोडिएको बोकाको टाउको झैँ हर क्षेत्रको टाउकोमा भ्रष्टाचारको मुकुट सजिएको छ । जसको परिणाम चरम बढिरहेको राजनीतिक अस्थिरता, आर्थिक परनिर्भरता, सामाजिक विखण्डन र सांस्कृतिक विकृतिले नेपाली जनजीवन एकपछि अर्को दुःख र कष्टको भुमरीमा फस्दै गइरहेको छ ।
राजनीति र अर्थतन्त्र सीमित मानिसहरूको एकाधिकारमा मुट्ठीको माखो बनेको छ । त्यसबाट पैदा भएको सामाजिक विखण्डन र सांस्कृतिक विकृतिले आम जनतालाई पलपल जिउँदो लास बनाइरहेको छ । कुण्ठा, हीनता, निराशा, अविश्वास र धोका क्रमशः नेपाली मनोविज्ञानको आधारभूत ‘कम्पोनेन्ट’ बन्दै गइरहेको छ भने आशा र विश्वासको ‘कम्पोनेन्ट’ले निकै घट्दो मात्रामा काम गरिरहेको छ ।
नेपाली राजनीतिमा प्रत्येक पार्टीभित्र चल्ने साझा बहस हो, ‘फलानो व्यक्ति प्रधानमन्त्री, मन्त्री वा पार्टी अध्यक्ष बनेर हाम्रा लागि के चाहिँ गतिलो भयो त ?’ जनताको आम पंक्तिमा हुने बहस पनि त्यसभन्दा फरक हुने कुरै छैन । हुन पनि संसदीय राजनीतिक खेलमा आफू प्रधानमन्त्री, मन्त्री वा पार्टीको अध्यक्ष रहिरहन या बन्न पार्टीभित्रै कतिसम्मको घात–अन्तरघात हुने गरेको छ, भइरहेको छ ? त्यो दिनको घामजस्तै स्पष्ट छ । सम्भवतः ठूला पार्टीहरूमा विभाजनको आन्तरिक चुरो नै त्यही हो । आफ्नो पार्टीलाई एकताबद्ध राख्न, पार्टी र समाजमा उच्च मनोबल र अनुशासन पैदा गर्ने भूमिकामा होइन बरु, भएको एकतासमेत भताभुङ्ग पार्ने र अनुशासन तथा मनोबल क्षीण पार्न प्रत्येक पार्टीका ठूला (प्रमुखसमेत) नेताहरूको अग्रणी भूमिका रहेको छ । जसको केन्द्रमा रहेको छ– द्रव्य मोह ! निजी सम्पत्ति र निजी भविष्यका लागि यति साह्रो भ्रष्टाचार गर्नु एङ्गेल्सका शब्दमा ‘व्याकरणमा दुई नकारहरू मिलेर बन्ने एक सकारजस्तै वेश्यावृत्ति र वेश्यागमनको योगफलबाट बन्ने सदाचार’ हो । निजी सम्पत्ति र त्यसका लागि गरिने भ्रष्टाचारको योग नेपाली राजनीति र समाजको ‘सदाचार’ बनेको छ । त्यो व्यक्ति, जो साँचो अर्थमा समाज सेवामा समर्पित छ, राजनीति या कुनै पनि पेशा र व्यवसायमा सेवा भावका साथ समर्पित छ भने वर्तमान अवस्थामा ऊ एक ‘नालायक’ व्यक्ति हो । साथी–भाइ, परिवार, समाज, पार्टी सबैतिर ऊ एक ‘असक्षम’ व्यक्ति हो ! किनकि, दलाल पूँजीवादी उत्पादन सम्बन्ध भएको हाम्रोजस्तो समाजमा विश्वव्यापी रूपमा सक्षमताको मानक केबल पैसा बनेको छ !
प्रचण्ड र प्रचण्डहरूको यो प्रचण्ड सफलताले साँचो अर्थमा नेपाली जनता, देश र स्वयंको पार्टीलाई के दियो त ? पार्टीहरू कहीँ भौतिकरूपमै खण्डित छन् त कहीँ मनोविज्ञानका दृष्टिले ? देश एकपछि अर्को पराधीन र पराश्रित बन्दै गइरहेको छ । जसरी आज शेरबहादुर देउवाको पार्टी या केपी ओलीको पार्टी आन्तरिक ताकतका दृष्टिले जर्जर बनेको छ त्योभन्दा ज्यादा प्रचण्डको पार्टी खण्डहर बनेको छ (प्रचण्डको पार्टी आजको माओवादी केन्द्र मात्र नभएर माओवादी घटक सबै प्रचण्डको पार्टी हो) ।
माओवादी कार्यकर्ता कसैले पनि ऊ स्वयंलाई सोध्यो, ‘प्रचण्डको यो सफलताले जनयुद्धको बलिदानलाई के संस्थागत गर्यो ? मार्क्सवादको मूल्यलाई जीवन्तता प्रदान गर्यो ?’ कुनै देशभक्त मनले स्वयंलाई सोध्यो– ‘राष्ट्रको स्वाभिमान र जनताको समृद्धिलाई टेको गर्न प्रचण्डको सफलताले कहाँनिर भरोसा दियो ?’ त्यसको सार्वजनिक जवाफ हुन जान्छ, ‘जुन जोगी आए पनि कानै चिरेका !’ अनि यो प्रचण्डहरूको सफलता हो या देशको भयानक असफलता ?
यदि गिरीजा–शेरबहादुरहरू साँचो अर्थमा सफल भएको भए २००७ को अपूरो पुँजीवादी क्रान्ति २०४६ सालयता पुरा हुन सम्भव थियो । देश औद्योगिक पूँजीवादको राजमार्गमा हुइँकिरहेको हुन्थ्यो । कमसेकम देशमा रोजगारीको अवसर त हुन्थ्यो ? यदि केपीहरू सफल भएको भए २०२८ सालको असफलतालाई पूरा गर्ने कुनै न कुनै नवीन प्रयत्न जरुर हुन्थ्यो । अनि ‘अध्यक्ष’ ‘कमरेड’ ‘प्रचण्ड’ सफल भएको भए जनयुद्धको वीरता र बलिदान आज अपराध र ग्लानिमा परिणत हुँदैन्थ्यो । सामान्यतः भन्ने गरिन्छ– शेरबहादुर, केपी, प्रचण्डहरू बिग्रिए र उनीहरूको असफलताले आज देशको यो हविगत भयो ! यो आंशिक सत्य मात्र हो । पूर्ण सत्य के हो भने ती सबैले आफ्नो आधारभूत नीतिलाई तिलाञ्जलि दिएपश्चात् उनीहरूको पराजय भएको छ या खराब हविगत बेहोर्न बाध्य भएका छन् । किनकि, कांग्रेस र एमालेबीचको भिन्नता मेटिएको लामै समय भैसक्यो । माओवादी र एमालेको भिन्नता पनि त्यसैगरी समाप्त भयो । यसर्थ, न कांग्रेस न त कम्युनिस्ट उनीहरू सबै आफ्ना आधारभूत नीतिहरूबाट विचलित र स्खलित हुनुको परिणाम नै उनीहरूको विघटन हो । राजनीतिक प्रणाली, अर्थप्रणाली र समाजको विघटन हो ।
कुनै पनि नेताको सफलता उसको पार्टीको सफलता हो । जबकि, राजनेताहरूको सफलता सिंगो देशको सफलता हो । ‘प्रचण्डहरू’ राजनेता त हुन सकेनन् नै बिडम्बना उनीहरू एक सक्षम नेता नै हुन पनि मुश्किल भइरहेको छ । हामी व्यक्ति प्रचण्डकै कुरा जोडौं— देशको लागि प्रचण्डको सफलता के हो त ? त्यसको जवाफ हो— असमान सन्धि–सम्झौताहरूको खारेजी हो, सार्भभौमिकताको रक्षा हो । जनताको लागि प्रचण्डको सफलता शिक्षा र स्वास्थ्यलाई पुँजीवादी बजारको बिकाऊ वस्तु बनाउनबाट रोक्नु हो, देशमा राज्य नेतृत्वको अर्थप्रणाली लागू गरेर प्रत्येक जनतालाई आवास र रोजगारीको नैसर्गिकता सुनिश्चित गर्नु हो । पार्टीको लागि उनको सफलता अनुशासित र एकताबद्ध पार्टीको निर्माण तथा परिचालन हो । राजनीतिक मूल्यका लागि प्रचण्डको सफलता जनयुद्धको त्याग र बलिदानलाई संस्थागत गर्नु हो । कम्युनिस्ट मूल्यका लागि उनको सफलता माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकास हो ।
तर, त्यसको ठीकविपरीत अरुहरूको पालामा झैं उनको प्रधानमन्त्रीत्वकाल र उनकै बलमा एमसीसीलगायत राष्ट्रघाति सम्झौताहरू पारित भए । मालेमाको मूल्य विपरीत संसदीय व्यवस्थाको अन्त्य होइन बरु त्यसको बलियो रक्षक उनै प्रचण्ड बनेका छन् । जनयुद्धको रगत पसिनाले निर्माण भएको उनको प्रचण्ड उचाई आज उनको केवल निजी आर्जन बनेको छ । कुनै बेलाको माओवादी आदर्श र अनुशासन आज धुलिसात् भएको छ । आफू स्वयंले वकालत गर्दै आएको अझ त राज्यविरुद्ध त्यही माग राखेर लडेको प्रचण्ड आज आफैं राज्यको नेतृत्वमा रहेका छन् जबकि, राज्य नेतृत्वको अर्थप्रणाली लागू गर्नु त कता हो कता उल्टो राज्यको सम्पत्ति हडप्ने, कमिशन र माफियागिरीको चरम छिनाझपटीमा उनको समूह पनि अब्बल नै साबित बनेका समाचारहरू सार्वजनिक भइरहेका छन् । शिक्षा र स्वास्थ्यलाई बजारीकरण गर्ने नवउदारवाद उनको राजनीतिक सिद्धान्त बनेको छ । पटक पटकको प्रधानमन्त्रीत्व र आजीवन पार्टी अध्यक्षताको उनको प्रचण्ड सफलताले सारतत्त्वमा उनी आफैं, उनको पार्टी र देश प्रचण्ड असफलताको भिरमा ओरालिँदैछ ।
सामान्यतः प्रचण्ड एउटा व्यक्ति हुन् । तर, विशिष्ट अर्थमा उनी व्यक्ति मात्रै पनि होइनन् । आजको नेपाली राजनीतिको आधारभूत विशेषता नै अरूहरूको अर्थमा ‘अस्थिरता’ र प्रचण्डको अर्थमा ‘गतिशीलता’ हो । सत्ता गठबन्धन, चुनावी गठबन्धन, पार्टी एकता कुनै वैचारिक मूल्य या जनताको हक र अधिकारको रणनैतिक उद्देश्यमा आधारित भएर होइन, व्यक्तिगत सफलता र सत्तास्वार्थलाई केन्द्रमा राखेर हुने गरेको जगजाहेर नै छ । यो त वास्तवमा संसदीय व्यवस्थाको आधारभूत विशेषता नै हो । जसले सक्यो उसैले बाजी मार्यो । तर, पछिल्लो चरणमा प्रचण्डको कुशलता अरूहरूको भन्दा अब्बल देखियो । यसैलाई मानिसहरू भन्ने गर्छन्– प्रचण्डमा अझै जनयुद्धको धङधङी छ ! साँचो अर्थमा भन्ने हो भने यो उनले जनयुद्धलाई परित्याग गर्नु र संसदवादलाई अंगाल्नुको गतिलो परिणाम हो । अन्यथा, अरूहरूले गरेको उस्तै तिकडमबाजी चाहिँ बडो ‘प्रजातान्त्रिक’ कदम हुने अनि उनले गरेका गतिविधि मात्रै ‘प्रचण्डकारी’ हुने भन्ने बेतुके तर्कको कुनै स्थान रहँदैन ।
सारभूतरूपमा प्रचण्डले जे गरिरहेका छन् त्यो उच्च स्तरको संसदीय दलाल पुँजीवादी खेल(संस्कृति) मात्र हो । त्यसमा उनले प्राप्त गरेको सफलता सतही दृष्टिमा प्रचण्ड सफलता नै हो । तर, त्यो हिजोदेखि आजसम्म संसदीय व्यवस्थाका अनुयायीहरूले झैं गरेको निरन्तरता मात्र हो । सैद्धान्तिकरूपमा प्रचण्डको पराजय भौतिकवादलाई अध्यात्मवादसँग जोडेसँगै भयो । राजनीतिकरूपमा १२ बुँदे दिल्ली सम्झौता र सांस्कृतिकरूपमा डेढलाखे पलङ आदिबाट भयो । यो पराजयको निरन्तर शृंखलाभित्र उनले हासिल गरेका केही क्षणिक विजयबाट देश र जनताले आशा गर्न सकिने निकै थोरै मात्र छ !
[चलाउने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य हुन् ।]
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...