२६ जेठ २०८३, मंगलबार
दुर्गा प्रसाईं र महेश बस्नेतबीच टक्कर

जोखिमको सूक्ष्म विश्लेषणमा सुरक्षा निकायः प्रसाईंको कार्यक्रममा ७ हजार जनासम्म आउने आकलन

मंसिर ६, २०८०
काठमाडौं
जोखिमको सूक्ष्म विश्लेषणमा सुरक्षा निकायः प्रसाईंको कार्यक्रममा ७ हजार जनासम्म आउने आकलन

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । 

नेपाल प्रहरीले प्रसाईं र बस्नेतको घर वरपर सादा पोशाकमा आफ्ना सुरक्षाकर्मीहरूलाई निगरानीका लागि खटाएको छ । अनुसन्धान गर्ने उपत्यकाभित्र रहेका प्रहरीका विभिन्न निकायले सुक्ष्मरुपमा  निगरानी गरिराखेका छन् । उनीहरूले बिहीवार हुने तय भएका कार्यक्रमको तालिका अध्ययन गरेर त्यहाँ हुनसक्ने सम्भावित घटनाका विषयमा अध्ययन गरेको एक प्रहरी अधिकारीले लोकान्तरलाई जानकारी दिए । त्यसबारे विशेष प्रतिवेदन तयार गरेर सम्भावित दुर्घटना रोक्न सोहीअनुसार काम गर्ने तयारी भएको उनको भनाइ छ ।   

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेतले भीडलाई नियन्त्रण गर्न र उचित सुरक्षा दिन विशेष सुरक्षा योजना नै बनाइएको जानकारी दिए ।  

‘हामीले एकीकृत सुरक्षा योजना बनाएर सुरक्षा दिइरहेका छौं र बिहीवारको कार्यक्रमका लागि सुरक्षा पनि त्यसैअनुसार चल्नेछ,’ उनले लोकान्तरसँग भने । 

सुरक्षा निकायका अनुसार दुर्गा प्रसाईंले आफ्नो कार्यक्रममा देशभरबाट २५ हजार आउने आकलन गरेका थिए । तर पछि उनले एकजना आउने ठाउँमा तीनजना आउने दाबी गर्दै एक लाख मानिस उपस्थित हुने प्रहरीलाई जानकारी गराएका छन् । महेश बस्नेत समूहले भने आफ्नो कार्यक्रममा कति सहभागी हुन्छन् भन्नेबारे जानकारी गराएका छैनन् । 

प्रहरी अधिकारीहरूले गरेको सुक्ष्म विश्लेषणमा प्रसाईंको कार्यक्रममा सात हजारको हाराहारीमा र बस्नेतको कार्यक्रममा तीन हजार ५०० को हाराहारीमा मानिस उपस्थित हुनसक्ने आकलन गरेका छन् ।

‘हाम्रो आकलनमा दुर्गा प्रसाईंको प्रदर्शनमा सात हजारसम्म र महेश बस्नेतको मा तीन हजार ५०० सम्म मानिस उपस्थित हुन सक्छन्,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने ।

null

उपत्यकामा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरेर प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना जनशक्ति परिचालन गरेका छन् । 

प्रहरीले चार हजारभन्दा माथि र सशस्त्र एक हजार ५०० भन्दामाथि प्रहरी परिचालन गर्नेगरी तयारी अवस्थामा राखेका छन् । प्रहरीले उपत्यकामा करिब साढे दुई हजार प्रहरी प्रदर्शनस्थलमा खटाउने तयारी गरेको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले बुधवार एक सूचना जारी गर्दै यस्तो अपिल अत्यावश्यकबाहेक सवारी लिएर ननिस्किन ट्राफिक प्रहरीले अपिल गरेको छ ।

‘काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यही मंसिर ७ गते विभिन्न समूहद्वारा र्‍याली, जुलुसका साथै विरोध प्रदर्शन गर्ने भन्ने बुझिन आएको छ । यसैले काठमाडौं उपत्यकाभरी सवारी आवागमनमा असहजता हुनसक्ने हुँदा अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्किन हुन अनुरोध छ,’ अपिलमा भनिएको छ ।

प्रहरीले सवारी लिएर निस्किनु पूर्व १०० वा १०३ नम्बरमा फोन गर्न र ट्राफिक एफएम ९५.५ निरन्तर सुनी सडकको अवस्थाबारे जानकारी लिन पनि अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्