×

तल्लो तहका अधिकृतको कोटामा विदेश भ्रमण

विज्ञान सचिवको भ्रमण मोह : सहसचिवको अधिकार आफैंलाई तोकेर अमेरिका र युरोप यात्रा

काठमाडाैं | चैत ५, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले सहसचिवको कोटामा पटक-पटक विदेश भ्रमण गरेको खुलेको छ ।

मन्त्रालयकी विज्ञान तथा प्रविधि सचिव बज्राचार्यले सहसचिवले निर्वाह गर्नुपर्ने भूमिका समेत आफैंमा सीमित गरेर पटक–पटक अमेरिकासहितका देश भ्रमण गरेको खुलेको हो ।


Advertisment

पारमाणविक प्रविधिको शान्तिपूर्ण प्रयोग तथा विकासका लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को राष्ट्रिय सम्पर्क अधिकृत (नेसनल लिएजन अफिसर) सहसचिव हुन्छ । तर, विगत १ वर्षदेखि लिएजन अफिसरको अधिकार सचिव बज्राचार्यले आफैंमा सीमित गरेकी छन् ।


Advertisment

शिक्षा मन्त्रालय स्रोतका अनुसार सचिव बज्राचार्यले विगत १ वर्षमा आईएईएको वर्कशप, ट्रेनिङ आदिका नाममा दुईपटक त अमेरिका भ्रमण नै गरिसकेकी छन् । त्यसबाहेक उनले अस्ट्रिया र थाइल्यान्ड भ्रमण पनि गरेकी छन् । अहिले फेरि यही चैतमा अमेरिका भ्रमणका लागि प्रस्ताव मन्त्रिपरिषदमा पठाएकी छन् ।

'विगतमा परमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी सम्हाल्ने सहसचिव नै नेसनल लिएजन अफिसर हुन्थ्यो, तर १ वर्षदेखि सचिवज्यू आफैंले लिएजन अफिसरको रूपमा काम गर्दै आउनुभएको छ,'  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक कर्मचारीले लोकान्तरसँग भने, 'मन्त्रीस्तरीय निर्णय गराएर सहसचिवको काम पनि आफैंले गर्दै आउनुभएको छ ।'

२०७९ फागुन २८ गते मन्त्रीस्तरीय निर्णय गराएर उनले आफैंलाई आईएईएको लिएजन अफिसरको जिम्मेवारी दिलाएकी थिइन् ।

'तत्कालीन शिक्षा मन्त्री शिशिर खनालको कार्यकालमा नै उहाँलाई एनएलओको जिम्मेवारी दिने भनेर प्रस्ताव गरिएको थियो,' ती कर्मचारीले लोकान्तरसँग भने, 'तर, माघ २२ गते नै उहाँहरू सरकारबाट हट्नु भएपछि सम्माननीय प्रधानमन्त्रीज्यूले नै शिक्षा मन्त्री हेरिरहनुभएको बेला उक्त निर्णयको कागजात मन्त्रालयको महाशाखामा आएको थियो ।'

फागुन २८ गते मन्त्रीस्तरीय निर्णयबाट सहसचिवले पाउने एनएलओको जिम्मेवारी पाएलगत्तै उनी अमेरिका भ्रमणमा हिँडेकी थिइन् । २०७९ चैतमा आईएईएको कार्यक्रममा सहभागी हुनका लागि उनी अमेरिका पुगेकी थिइन् ।

त्यसपछि २०८० जेठमा आईएईएको कार्यक्रममा सहभागी हुनका लागि थाइल्यान्ड भ्रमण गरेकी थिइन् । थाइल्यान्डबाट फर्किएलगत्तै २०८० जेठमा आईएईएको वर्कशपमा भाग लिन भन्दै इन्डोनेसिया भ्रमण गएकी थिइन् । उताबाट फर्किएको तीन महिनापछि २०८० असोजमा आईएईएको तालिममा सहभागी हुन भन्दै उनी अमेरिका भ्रमणमा गइन् ।

अमेरिकाबाट फर्किएलगत्तै २०८० चैतमा आईएईए काउन्सिलमा भाग लिन भन्दै अस्ट्रियाको भियना पुगिन् । अहिले २०८० चैतमा अमेरिकामा आईएईएको वर्कशप र तालिममा भाग लिनका लागि भन्दै उनले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएकी छन् । तर, मुख्यसचिव वैकुण्ठ अर्यालले उनको उक्त भ्रमण रोकिदिएको शिक्षा मन्त्रालयका अर्का एक कर्मचारीले बताए ।

'वर्कशप, तालिम आदिजस्ता कार्यक्रममा भाग लिन सचिवजस्तो पदका कर्मचारीलाई सुहाएन, शाखा अधिकृत, उपसचिवजस्ता कर्मचारीलाई पठाउनुपर्छ भनेर मुख्यसचिवले नै सचिवको भ्रमण रोकिदिएका हुन्,' ती कर्मचारीले भने ।

पारमाणविक प्रविधिको शान्तिपूर्ण प्रयोग तथा विकासका लागि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) तथा क्षेत्रीय सहयोग सम्झौता (आरसीए)लगायतका निकायहरूसँग आवश्यक समन्वय गर्ने कार्य लिएजन अफिसरले गर्छ । त्यसबाहेक अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी तथा क्षेत्रीय सहयोग सम्झौताको प्राविधिक सहायतामा नेपालमा सञ्चालित परियोजनाहरूको अनुगमन, मूल्यांकन, समन्वय स्थापना र समन्वयसम्बन्धी कार्य पनि सोही लिएजन अफिसरले गर्छ ।

त्यसै सन्दर्भमा लिएजन अफिसरलाई अमेरिकादेखि विभिन्न देशमा पारमाणविक प्रविधिको शान्तिपूर्ण प्रयोगदेखि अन्तर्राष्ट्रिय आणविक ऊर्जाका विषयमा भ्रमण गर्ने अवसर प्राप्त हुन्छ । नापतौल तथा गुणस्तर विभागका पूर्व महानिर्देशक समेत रहेका विश्वबाबु पुडासैनी उक्त महाशाखा प्रमुख हुँदासम्म सहसचिव नै लिएजन अफिसर हुन्थे । उनी सेवानिवृत्त भइसकेपछि अन्य सहसचिवलाई जिम्मेवारी दिनुको साटो बज्राचार्यले आफैंलाई लिएजन अफिसर तोकेर काम गर्न थालिन् ।

'सहसचिव नभएको अवस्थामा उपसचिवलाई त्यो जिम्मेवारी दिन सकिन्थ्यो, तर, सचिवज्यूले त्यसो गर्नु भएन,' शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अर्का एक कर्मचारीले लोकान्तरसँग भने, 'सचिवजस्तो नेतृत्वदायी पदमा बसेको व्यक्तिले माथिल्लो पदको लागि पो प्रयास गर्ने हो । तर, उहाँले तलको पदको पनि भूमिका आफैँमा राख्नुभयो ।'

कार्यसम्पादन मूल्यांकनमा असर पर्ने हुनाले कर्मचारीहरूले खुलेर त्यसको विरोध र आलोचना गर्न नसके पनि अप्रत्यक्ष रूपमा भने त्यसको आलोचना गर्दै आएका छन् । अमेरिका जान पाउने, वैज्ञानिकहरूसँग सम्पर्क हुने, सेवा निवृत्त भएपछि पनि कुनै न कुनै रूपमा त्यस्ता संस्थासँग जोडिन सक्ने सम्भावना रहेकाले सचिव बज्राचार्यले पद तथा गरिमाको ख्याल नै नगरी आफूभन्दा एक तहमुनिको कर्मचारीको भूमिकामा समेत झरेर काम गरिरहनुलाई कर्मचारीवृत्तले राम्रो मानेको छैन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुईजना सचिव छन् ।  सुरेश अधिकारी शिक्षा सचिव हुन् भने प्रमिला देवी बज्राचार्य विज्ञान तथा प्रविधि सचिव हुन् । विज्ञान तथा प्रविधितर्फ परमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुख रहने सहसचिव उक्त एजेन्सी आईएईएको राष्ट्रिय सम्पर्क अधिकृत हुने संगठन संरचना छ ।

यता विज्ञान तथा प्रविधि सचिव प्रमिला देवी बज्राचार्य भने आवश्यकताका कारण आफू एनएलओ बनेको जिकिर गर्छिन् ।

'महाशाखा प्रमुख सहसचिव नै एनएलओ हुने भए पनि यहाँ आउने सहसचिवको पद नै अस्थिर थियो,' बज्राचार्यले लोकान्तरसँग भनिन्, 'सहसचिव लामो समय टिक्न नसक्ने तर आईएईएको कार्यक्रमका लागि कोही न कोही हुनैपर्ने आवश्यकताका कारण मैले त्यो पद लिएको हो ।'

महाशाखाका उपसचिवलाई त्यो पद दिए पनि हुन्थ्यो नि भन्ने प्रश्नमा उनले थपिन्, 'उपसचिवलाई पहिलेदेखि नै धेरै कामको बोझ हुन्छ । उपसचिवले नै कति काम गर्ने भनेर मैले त्यो पद लिएको हो । फेरि मन्त्रीज्यूलाई ब्रिफिङ पनि मैले नै गर्नुपर्ने हुनाले उक्त पद लिएको हो ।'

वर्कशप, तालिमजस्ता सामान्य कार्यक्रममा सहभागी हुनका लागि शाखा अधिकृत, उपसचिव, सहसचिवलाई पठाउनुपर्नेमा तपाईं आफैँ पटक–पटक विदेश भ्रमणमा जानुभएको छ नि भन्ने प्रश्नमा उनले भनिन्, 'म इन्जिनियरिङ समूहको सचिव हो । विज्ञान तथा प्रविधितर्फको कुरा सिक्न, जान्नका लागि पनि म जानुपर्ने आवश्यकता देखिएकाले गएकी हुँ ।'

विज्ञान तथा प्रविधि सचिव भएर आएको एक वर्षसम्म कहीँ कतै विदेश भ्रमणमा नगएको हुनाले आईएईएको कार्यक्रममा गएको उनको जिकिर छ ।

पटक-पटक विदेश भ्रमणमा गए पनि भ्रमणबाट फर्किएपछि भ्रमण प्रतिवेदन समेत पेश नगरेको देखेपछि शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले इमेल गरेर सचिव बज्राचार्यसँग भ्रमण विवरण माग गरेकी छन् । उनले गूगल सीटमा इमेल गरेर सचिवसँग विगतमा गरेको वैदेशिक भ्रमणको विवरण तथा भ्रमण प्रतिवेदन माग गरेकी हुन् ।

भ्रमण प्रतिवेदन योजना महाशाखामा पेश गरेको हुनाले त्यस विषयमा योजना महाशाखालाई थाहा हुने सचिव बज्राचार्यले लोकान्तरसँग बताइन् ।

त्यसैगरी रासायनिक पदार्थको उपयोग तथा प्रवर्द्धन, नियन्त्रण र नियमन गर्ने कार्यहरू, पारमाणविक एवं नाभिकिय विज्ञान-प्रविधिको शान्तिपूर्ण प्रयोगको सुनिश्चितताका लागि आवश्यक मापदण्ड, निर्देशिका, कार्यविधि निर्माण गर्ने कार्यहरू, पारमाणविक पदार्थसम्बन्धी ऐन कार्यान्वयनका लागि आवश्यक नियम, निर्देशिका, मापदण्ड तथा फारमहरू निर्माण गर्ने कार्यहरू गर्छ ।

उक्त महाशाखाले त्यसैगरी पारमाणविक प्रविधिको उपयोग तथा प्रबर्द्धन र त्यसको अनुगमन, नियमन, नियन्त्रण र सोसम्बन्धी जनशक्तिको विकास र उपयोग गर्ने कार्यहरू, रेडियोधर्मी पदार्थको आयात, ढुवानी, भण्डारण, जडान, प्रयोग तथा विसर्जन सम्बन्धमा आवश्यकता अनुरूप स्थलगत निरीक्षण गर्ने कार्यहरू, पारमाणविक पदार्थको प्रयोग र उपयोगसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नेसम्बन्धी कार्यहरू गर्छ ।

पारमाणविक प्रविधिको उपयोग तथा विकाससम्बन्धी समयसापेक्ष नीति निर्माण तथा परिमार्जन गर्ने कार्यहरू, पारमाणविक विज्ञानका विविध विधाहरूमा अध्ययन, अनुसन्धान गर्न प्राथमिकता निर्धारण गर्ने कार्यहरू, पारमाणविक विज्ञानका विविध विधाहरूमा नविनतम् खोज, अनुसन्धान नतिजा र प्रविधिबारे सुसूचित गराउने कार्यहरू गर्छ ।

त्यसैगरी पारमाणविक विज्ञानका विविध विधाहरूमा गोष्ठी, सेमिनार, तालिम, सम्मेलन आयोजना गर्ने कार्यहरू, पारमाणविक विज्ञानका विविध विधाहरूमा आयोजना हुने अन्तर्राष्ट्रिय, सभा सम्मेलन, तालिम, प्रशिक्षणमा सहभागिताका लागि उपयुक्त उमेद्वारको मनोनयन सिफारिश गर्ने कार्यहरू पनि महाशाखाले गर्छ ।

असार ३०, २०८१

२६ वर्षअघि तीन जनाको नाममा दर्ता गरिएको नवलपरासीको साबिक गैडाकोट गाविसको वडा नम्बर १ (क)को कित्ता नम्बर ९९ को ९३ रोपनी जग्गा पुनः सरकारी कायम भएको छ । सर्वोच्च अदालतले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्दा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x