११ साउन २०८३, सोमबार
बिरलै देखिने परिदृश्य

एउटै केन्द्रबाट एसईई दिइरहेका तिम्ल्याहाः लक्ष्य शिक्षक बन्ने, सामुदायिक विद्यालय सुधार्ने

चैत १७, २०८०
विराटनगर
एउटै केन्द्रबाट एसईई दिइरहेका तिम्ल्याहाः लक्ष्य शिक्षक बन्ने, सामुदायिक विद्यालय सुधार्ने

यही चैत्र १५ गते (बिहीवार)देखि शुरू भएको एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी छन् । जसमध्ये २ लाख ५३ हजार ६२७ छात्र, २ लाख ५० हजार ७७२ छात्रा र अन्य १५ जना सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ  ।

सदा झै यस वर्ष पनि एसईई परीक्षाका उल्लेखनीय विभिन्न पाटा छन् । जसमध्ये बिरलै देखिने एउटा परिदृश्य हो–  एकै केन्द्रबाट परीक्षा दिइरहेका तिम्ल्याहा विद्यार्थी । मोरङस्थित विराटनगरको कर्ण परिवारमा तिम्ल्याहा बच्चाको रुपमा जन्मिएका २ छोरा र १ छोरीले परीक्षा दिइरहेका छन् । विराटनगरमै रहेको सत्यनारायण माध्यमिक विद्यालयबाट मधुसुदन, शशि  र माधवले परीक्षा दिइरहेका हुन् ।

null

तिम्ल्याहामध्ये मधुसुदन जेठा हुन् भने त्यसपछि बहिनी शशि र माधव सबैभन्दा कान्छा हुन् । उनीहरू २०६५ सालमा विराटनगरस्थित कोशी अस्पतालमा जन्मिएका हुन् । आमा ममता कर्णका अनुसार मधुसुदन र शशि ६ घण्टाको फरकमा जन्मिएका हुन् । यस्तै शशि र माधवबीचको फरक आधा घण्टाको मात्रै छ । 

उनीहरूले सामुदायिक विद्यालयमा पढिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण छोराछोरीलाई अंग्रेजी माध्यमका निजी विद्यालयमा पढाउन नसकिएको गुनासो आमा ममताको छ । यद्यपि, पढाइमा तीनै जना अब्बल रहेको उनीहरूलाई पठाउने शिक्षक–शिक्षिका बताउँछन् ।

null

एकले नजानेका कुरा अर्काले सिकाउने गरेकाले पढ्न सहज भइरहेको तिम्ल्याहाहरू बताउँछन् । पहिला–पहिला विद्यालयमा जाँदा तिम्ल्याहा बच्चा भनेर साथीहरू छक्क पर्ने गरेको उनुभव पनि उनीहरूले सुनाए । तिम्ल्याहा पहिलोपटक देखेको भन्दै साथीहरूले जिस्क्याउने गर्थे,’ मधुसुदन भन्छन् ।

शुक्रवार परीक्षा सकिएपछि परीक्षा केन्द्रभन्दा बाहिर भेटिएका तीनै जनाले आफूहरूको एउटै इच्छा रहेको बताए । लोकान्तरसँगको कुराकानीमा उनीहरूले भविश्यमा विदेश पलायन नहुने अठोट गरे । बरु नेपालमै बसेर शिक्षक बन्ने इच्छा रहेको बताए ।   

‘हामीसँग उच्च शिक्षाका लागि विदेश पढ्न जाने पारिवारिक अवस्था छैन,’ तिम्ल्याहाको प्रतिनिधित्व गर्दै माधवले भने, ‘ऋण काढेर भएपनि कमाउनका लागि खाडी जानेसम्म हैसियत होला । तर त्यो पनि हाम्रो सोचाइ छैन । तीनै जनाले विदेश नगइ केही गरौँ, सकेसम्म शिक्षक नै बनौँ भनेर सल्लाह गरेका छौँ ।’

सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको अवस्था देखेर शिक्षक बन्ने इच्छा राखेको उनीहरूको भनाइ छ । ‘हामीजस्तो सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको अवस्था ठीक छैन । हामी शिक्षक बनेर यस्ता विद्यालयको पढाइ सुधार्न चाहन्छौँ,’ माधवले थपे ।

विराटनगरकै शंकरपुर आधारभूत विद्यालयमा कक्षा– ५ सम्म पढेका उनीहरूले कक्षा ६ देखि भने आदर्श माध्यमिक विद्यालयमा पढेका थिए । घरको आर्थिक ऋण काढेर छोराछोरी पढाउने गरेको आमा ममता बताउँछिन् । बुवा विवेक कर्ण भने एक उद्योगमा मजदुरी गर्छन् । विगत ३४ वर्षदेखि उनको यो काम गरिरहेका छन् । यसै कमाइबाट उनले तिम्ल्याहासहित ५ जना छोराछोरी पढाइरहेका छन् ।

null

तिम्ल्याहाका २ जना दिदीलाई आफूहरूले ग्रामीण विकास बैंकबाट ऋण लिएर सिटी कलेजमा पढाइरहेको बुवा विवेकले बताए । ठूली छोरी इसा बीएड पढ्छिन् भने  माइली मुस्कानले बीबीएस पढिरहेकी छिन् । ‘नानीहरूले ले पढ्न मन गरेकाले ऋण निकालेका हौँ,’ आमा ममताले थपिन् । 

बुबा विकेकको कमाइले नै उनीहरूको ठूलो परिवार धानिएको छ । यसकारण आर्थिक दृष्टिले दुःखको सीमा नै नरहेको आमा ममता बताउँछिन् । ‘छोराछारीलाई पढाउन गाह्रो भइरहेको छ,’ उनी थप्छिन्, ‘तर उनीहरू आफ्नो खुट्टामा नउभिउन्जेलसम्म हामी भाग्न पनि त मिलेन नि !’ विवेक र ममताको इच्छा पनि भविश्यमा आफ्ना सन्तानले नेपालमै रहेर सरकारी जागिर खाउन् भन्ने इच्छा छ ।

कर्ण दम्पतीका २ वटी छोरी थिए । तर छोराको आशाले तेस्रो सन्तान जन्माएका थिए । तेस्रो जन्माउने हुँदा २ छोरासहित तिम्ल्याहा जन्मिएका हुन् । ‘हामीलाई एउटा छोरा चाहिएको थियो, एउटा छोरा र एउटी छोरी सित्तैमा पाइयो,’ ठट्टा शैलीमा उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्