
ओखलढुंगास्थित चिशंखुगढी– ४ का खेमराज बोगटी गत भदौ १ गते रसिया पुगेर राम्रो कम्पनीमा काम गर्ने भन्दै भिजिट भिसामा दुबई उँडे । बोगटीलाई दुई वर्ष कम्पनीमा काम गरेर त्यहाँको ग्रीनकार्ड पाएपछि रुसी सेनामा भर्ती गराइदिने आश्वासन एजेन्टले दिएका थिए । सुनसरीको तरहरा बस्ने ज्ञानबहादुर अधिकारीमार्फत चिरञ्जिवी अधिकारीसँग सम्पर्क बनाएका बोगटीलाई मासिक तलब ५ देखि ७ लाख रुपैयाँसम्म हुने बताइएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई उडेका उनी रसिया पुगे । एजेन्टले त्यति गरेबापत १२ लाख रुपैयाँ बुझेका थिए । तर, रकम बुझेपछि एजेन्टहरू सम्पर्कविहीन भए । अन्ततः रसिया पुगेको तीन दिनपछि बोगटीले आफू रुसी सेनामा भर्ती भएको परिवारलाई बताए । गत असोज १ गते फेसबूक म्यासेन्जरमा परिवारको सम्पर्कमा आएका उनले युद्ध भएको स्थानतर्फ जान लागेको भनी भ्वाइस म्यासेज छाडेका थिए । त्यसपश्चात उनी सम्पर्कमा नआएको बोगटीका आफन्त खेमराज बोगटीले प्रहरीलाई गराएका छन् ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बोगटीका दाजु सञ्जीवले दर्ता गरेको जाहेरी अनुसार चिरञ्जीवी र ज्ञानबहादुर अहिले सम्पर्कमा छैनन् । ब्यूरोले अध्यागमन विभागबाट बोगटीको यात्रा विवरण माग गरेको छ । त्यस्तै जिल्ला अदालत काठमाडौंबाट बोगटीको ‘अपरेसनल डेटा’का लागि अनुमति लिएको छ । बोगटीको खोजतलासका लागि परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको ब्यूरोले जनाएको छ ।
बोगटीजस्तै काभ्रेपलाञ्चोकस्थित मण्डनदेउपुर– ६ का सिद्धार्थ ढकाल पनि एजेन्टमार्फत भदौ ३० गते दुबई हुँदै रसिया पुगे । निसान केसी नाम गरेका व्यक्तिले सुगम ढकालमार्फत सिद्धार्थलाई रुसी सेनामा भर्ती गराइदिने नाममा ९ लाख ५० हजार रुपैयाँ बुझेका थिए । सिद्धार्थकी आमा गंगाले ब्यूरोमा दिएको जाहेरी अनुसार उनी अहिले रुसी सेनाको नियन्त्रणमा छन । ब्यूरोले सिद्धार्थको उडान यात्रा विवरण, एजेन्ट मिलन केसीको बैंक खाता विवरण माग गरी अनुसन्धान गरिरहेको छ । सिद्धार्थको रिहाइका लागि परराष्ट्र मन्त्रालयले रसियामा पत्राचार गरेको छ ।
रोल्पास्थित जिनावाङ –५ का खगेन्द्र खत्री भने रुसी सेनामा भर्ती भएर पनि कमान्डरलाई केही रकम दिएर नेपाल आउन सफल भएका थिए । उनी पनि गत असोजमा एजेन्टहरू नीमबहादुर कुँवर, मोहन वली र गणेश न्यौपानेलाई ७ लाख रुपैयाँ बुझाएर रसिया पुगेका थिए । उनलाई मासिक ५ देखि ९ लाख रुपैयाँ आम्दानी हुने आश देखाइएको थियो । एजेन्टले पछि परिवारलाई लैजान पाउने भनेर भ्रम छरेका थिए । उनी रुसी सेनामा भर्ती पनि भए । उनले रुसी सेनामा १३ दिन तालिम लिए । रेड जोनमा पठाउन लागेपछि कमान्डरलाई पैसा खुवाएर उनी त्यहाँँबाट उम्किन सफल भए । खगेन्द्र स्वयं ब्यूरोको सम्पर्कमा आएर प्रहरीमा आफ्नो फसेको रकम र दुःख पाएको विवरण उल्लेख गर्दै जाहेरी दिएका थिए ।
खेमराज, सिद्धार्थ र खगेन्द्रले रुसी सेनामा गएर पाएको दुःखका यी केही उदाहरण मात्रै हुन् । ब्यूरोमा हाल १८ जना पीडितका आफन्त सम्पर्कमा आएका छन् । पीडितका आफन्तहरूमध्ये केहीले एजेन्टलाई कारबाही गरी रसिया पुगेकाको उद्धार तथा आफूले दिएको रकम फिर्ता गराउन प्रहरीसमक्ष माग गरेका छन् । पछिल्लोपटक रुसी सेनामै भर्ती हुन स्याङ्जास्थित वालिङ नगरपालिका–१४ का दिलिप खाँडले एजेन्टलाई पैसा बुझाए पनि उनी जान पाएनन् ।
ब्यूरोमा गत चैत ७ गते खाँडकी श्रीमती आशाले दिएको जाहेरी अनुसार दिलिपसँग एजेन्टमध्ये तनहुँको व्यास नगरपालिका– १ का रामकाजी सिलवाल क्षेत्रीले रसियामा आकर्षक तलब सुविधा हुने प्रलोभन देखाई ६ लाख ५० हजार लिएका थिए । तर, दिलिपले रसियाको अवस्था र त्यहाँ सेनामा गएकाको हालत देखेपछि एजेन्टसँग पैसा फिर्ता मागेका थिए । ब्यूरोले अनुसन्धान गर्दा रामकाजी डाँकाचोरी मुद्दामा प्रहरी वृत्त लैनचौरको हिरासतमा भेटिए । अर्का एजेन्ट कृष्णप्रसाद कँडेलले पीडितलाई रकम फिर्ता गरेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा गएकामध्ये गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, दार्चुलाका कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु पुष्टि गरेको छ । हालसम्म १७ जनाको मृत्यु भएको परराष्ट्रले जनाएको छ । रुसी सेनामा भर्ती हुन गएकामध्ये एक सय १६ जना घाइते र लामो समयसम्म परिवारको सम्पर्कमा नआएका २ सय ५० जना रहेको परराष्ट्रले जनाएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता एवं उपसचिव ऋषिराज आचार्यले मृतकका परिवारलाई राहत र बेपत्ताको उद्धारका लागि कूटनीतिक च्यानलमार्फत पहल भइरहेको छ । उनले भने, ‘अहिले प्रहरीमा गएका पीडितका आफन्तहरूले एजेन्टलाई कारबाही गर्न र फसेको रकम उठाउनका लागि गएका होलान्, त्यसमा गृह मन्त्रालयले पहल थालेको छ । बाँकी रुसी सेना भर्ती भएकाको उद्धार र मृतकको शव ल्याउने विषयमा परराष्ट्रले नै पहल गरिरहेको छ ।’
ब्यूरोका प्रवक्ता ज्ञानेन्द्र फुयाँलले हालसम्म १८ जना पीडितका आफन्त सम्पर्कमा आएको बताए । उनले भने, ‘स्टुडेन्ट भिसा र पर्यटक भिसामा एजेन्टले गैरकानूनी ढंगबाट रुस पुर्याएर ठगी गर्ने एउटा पाटो भयो । अर्कातर्फ प्रलोभन देखाएर मानव तस्करी गरेको देखिन्छ । हामीले दुवै पाटो केलाएर हेरिरहेका छौं ।’
यी हुन्, ब्यूरोमा जाहेरी दिएका पीडित र एजेन्टका नामः
पीडित – एजेन्ट
खेमराज बोगटी– चिरञ्जिवी अधिकारी, ज्ञानबहादुर अधिकारी
सिद्धार्थ ढकाल– निसान केसी, सुगम ढकाल
नवराज भट्ट – नखुलेको
मदन गुरुङ – डिकबहादुर थोकर
खगेन्द्र खत्री– निलमबहादुर कु्ँबर, मोहन वली, गणेश न्यौपाने
धनबहादुर थापामगर – दामोदरकाजी पाण्डे, सागर लामा, अनिल थापा
दिलिप खाँड– रामकाजी सिलवाल, कृष्ण कँडेल, विजय श्रेष्ठ
भुवन पुन – प्रकाश घर्ती भन्ने नारायण घर्ती
हरिकुमार राई – शैलेन्द्र राई
झपटबहादुर शाह – शान्ता बेलवासे
माइतमान घर्ती – अमराज दुम्जन
मदन कुमाल– यमुना गहतराज
नरबहादुर दर्लामी – गोकर्ण अर्याल
शुकबहादुर तामाङ– प्रज्वल्ल अधिकारी
भीमबहादुर घर्तीमगर– कमल जैसी