२४ असार २०८३, बुधबार
जसपा विभाजनको असर

रक्षात्मक उपेन्द्र : सरकारमै रहन हारगुहार !

बैशाख २६, २०८१
काठमाडौं
रक्षात्मक उपेन्द्र : सरकारमै रहन हारगुहार !

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमण सकेर कतारका लागि विमान चढेलगत्तै आइतबार यहाँ उनको दल विभाजनका लागि निर्वाचन आयोगमा निवेदन पर्‍यो ।

अमेरिकादेखि कतारसम्मको यात्राका क्रममा आकाशमै रहेका बेला उनी कुनै किसिमको सम्पर्कमा थिएनन् । दोहा आइपुगेपछि बल्ल उनले पार्टी विभाजन भएको खबर पाए ।

उपेन्द्र स्वास्थ्यमन्त्रीको हैसियतले विश्व जनसंख्या विकास सम्मेलनमा सहभागिता जनाउन अमेरिका पुगेर फर्किरहेकै अवस्थामा संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा जसपा विभाजित हुन पुगेको हो ।

'अमेरिकाबाट कतार आउन ११-१२ घण्टा लाग्छ । त्यो समयलाई ध्यानमा राखेर नै हामी निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिन पुगेका थियौं,' फुटेको जसपाका एक नेताले लोकान्तरसँग भने, '११-१२ घण्टासम्म कसैसँग उहाँको कुराकानी हुन सक्दैन र नेताहरूलाई दबाब वा प्रभावमा पार्न सक्नुहुन्न भन्ने सोचेरै हामीले सो समय छानेका थियौं ।'

उपेन्द्र कतारबाट नेपाल फर्किनुअघि नै नयाँ दल दर्ता भएको भनेर निर्वाचन आयोगले प्रमाणपत्र दिइसकेको थियो । यससँगै १२ सांसद रहेको जसपा नेपाल प्रतिनिधि सभामा ५ सीटमा खुम्चिनुपरेको छ । राईको नेतृत्वमा फुटेको जसपा ७ सांसदसहित माउ पार्टीभन्दा ठूलो पार्टी बन्न पुगेको छ ।

पार्टी विभाजनपछि उपेन्द्र एकाएक रक्षात्मक बनेका छन् ।

null

पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका यादव नेतृत्वको जसपा नेपाल र राई नेतृत्वको जसपा दुबैले सरकारलाई समर्थन कायमै राख्ने बताएका छन् ।

सरकारमै रहेका घटक दलले आफ्नोविरुद्ध सुनियोजित षड्यन्त्र गरेर पार्टी फुटाएको आरोप उपेन्द्रको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा यादवले उक्त आरोप लगाएका थिए । उनले आफूविरुद्ध भ्रम फैलाएर पार्टी फुटाउने काम गरेको गुनासो पनि गरे ।

'म नभएको मौका छोपेर माधव नेपाल र उपेन्द्र यादव १/१ वर्ष तथा शेरबहादुर देउवा २ वर्ष प्रधानमन्त्री बन्ने गरी यो सरकारलाई ढाल्न लागिपरेको भनेर सरकारमै रहेका साथीले भ्रम छर्नुभयो । त्यो कपोलकल्पित, आधारविहीन, प्रायोजित ढंगले चलाएको अफवाह थियो,’ उनले भने, 'प्रधानमन्त्रीजीलाई पनि त्यही भ्रममा पार्नुभएको रहेछ । उहाँसँग भेटेर त्यो भ्रम निवारण गरेको छु ।’

कांग्रेसका नेतासँग चिया पसलमा समेत नभेटेको उनको जिकिर थियो ।

सत्ता साझेदारले नै पार्टी फुटाएको संकेत गर्दै यादवले भने, 'शिशाको घरमा बस्नेले अर्काको घरमा ढुंगा हान्नुहुँदैन । त्यही ढुंगा फर्किएर आफ्नो घर पनि चकनाचुर हुन सक्छ ।'

कतारबाट फर्किएलगत्तै मंगलबार उपेन्द्रले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । भेटमा के कुराकानी भयो भन्ने बारेमा उनले धेरै खुलाएनन् ।

उपेन्द्रलाई सरकारबाट तत्काल हटाउन प्रधानमन्त्री प्रचण्डले पनि तत्काल हतार नगर्ने संकेत देखिएको छ ।

'विगतमा जसपा नेपालको १२ संख्या थियो । अहिले पनि जसपा नेपालको ५ र जसपाको ७ गरी १२ सांसद नै उहाँलाई चाहिएको छ,' जसपा नेपालका एक नेताले लोकान्तरसँग भने, 'त्यसैले प्रधानमन्त्रीज्यूले हाम्रो अध्यक्षज्यूलाई उपप्रधानमन्त्रीबाट बर्खास्त गर्नुहुन्न होला ।'

बुधवार आयोजित पत्रकार सम्मेलनमा उपेन्द्रले सरकारलाई आफ्नो समर्थन कायमै रहे पनि प्रधानमन्त्रीले चाल्ने कदमअनुसार प्रतिक्रिया जनाउने बताए ।

null

आफूलाई उपप्रधानमन्त्रीबाट बर्खास्त गरे त्यसबाट फेरिने राजनीतिक कोर्सको जिम्मेवारी प्रधानमन्त्रीले नै लिनुपर्ने उनको चेतावनी थियो ।

'सरकारलाई हाम्रो समर्थन कायमै छ । हामीलाई बर्खास्त गरे त्यसबाट उत्पन्न हुने राजनीतिक अस्थिरताको कोर्सको कारक पनि प्रधानमन्त्री नै बन्नुहुन्छ,' यादवले भने, 'उत्पन्न हुने राजनीतिक अस्थिरताका लागि पनि प्रधानमन्त्री नै जिम्मेवार बन्नुपर्छ ।

सरकारबाट हटे पार्टीलाई थप क्षति हुने बुझेका यादव जसरी पनि सरकारमा रहिरहन खोजेको देखिन्छ । अर्कातर्फ फुटेको पार्टी जसपा भने जसरी पनि उपेन्द्रलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने पक्षमा छ ।

'७ जना सांसद रहेको पार्टीलाई उपप्रधानमन्त्री दिने कि ५ सांसद रहेकोलाई भन्ने प्रश्न छ,' नयाँ पार्टी जसपाका एक नेताले लोकान्तरसँग भने, 'हामीलाई पनि त हाम्रो गणितको आधारमा मन्त्री चाहिन्छ ।'

पार्टी फुटेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने आकलनविपरीत उपेन्द्रले समर्थन कायमै राखेपछि प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको छ ।

मन्त्री बन्ने चाहनाकै कारण पार्टी फुटेको हुनाले जसपालाई तत्काल ठाउँ खालि चाहिएको छ । त्यसका लागि राईले प्रधानमन्त्रीसमक्ष दबाब बढाउने देखिन्छ । दुवै पार्टीलाई मिलाएर लैजाने प्रधानमन्त्रीको चाहना भएपनि राईको बढ्ने दबाबलाई प्रधानमन्त्रीले कसरी व्यवस्थापन गर्लान्, त्यो भने प्रस्ट भइसकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्