
वन जोगाउने उद्देश्य राखेर सरकारी निकाय र सामुदायिक वनसँगै विभिन्न एनजीओ, आईएनजीओले बिरुवा रोप्ने गर्छन् । बर्सेनि लाखौँ खर्च गरेर ठूलो संख्यामा बिरुवा उत्पादन गर्ने गरिन्छ । तर तिनै बिरुवा रोपेपछि भने संरक्षण गर्ने गरिँदैन । लाखौँ खर्च गरेर रोपिएका बिरुवाले दिने प्रतिफल भने ज्यादै न्यून हुन्छ । रुख रोप्न वन कार्यालयहरूले निःशुल्क बिरुवासमेत उपलब्ध गराउने गरेका छन् । बिरुवा रोपेपछि त्यो बिरुवामा रेखदेख अर्थात् मलजल, पानी लगाउन जानेको संख्या न्यूनमात्र हुने गरेको गुनासो सुन्ने गरिएको छ । यसले गर्दा लगाएका बिरुवामध्ये अधिकांश ठूला हुन पाउँदैनन् भने कतिपय सुकेर मर्ने गरेको पाइन्छ ।

तर विराटनगरका एक व्यक्तिले भने एक हजार बिरुवा रोपेर हुर्काउने घोषणा गरेका छन् । पारुल क्षेत्रीले एकै वर्षमा एक हजार बिरुवालाई हुर्काउने घोषणा गरेका हुन । विराटनगर कंक्रिट शहर हो । यो शहरमा रुख–बिरुवा हुर्काउनेमा कसैको ध्यान नजाँदा चिन्ता लागेर आएको उनी बताउँछन् । ‘रुख काटेर एसी जडान गर्ने समाज पैदा हुँदै गएको छ,’ उनले भने ‘वन र वातावरणको महत्व सिकाउन मैले एक्लै भएपनि अभियान थालेको हुँ ।’
पारुलको अभियानले सार्थकतासमेत पाउँदै गएको छ । धेरै मानिस यस अभियानप्रति आकर्षित भएका छन् । पछिल्लो समय कतिपयले जन्मोत्सव (बर्थ डे)मा समेत बिरुवा रोप्न थालेका छन् । केक काटेर मनाउने प्रचलनलाई परिमार्जन गर्न सकिन्छ भन्ने आत्मविश्वास उनमा पनि पलाएको छ । अहिले कतिपयले बर्थ डेको अवसरमा बिरुवा रोपेर फेसबूकमा उनलाई ‘मेन्सन’ गरेर तस्वीर साझा गर्न थालेका छन् । बिरुवा रोप्न मन्त्री, पालिका प्रमुख र वडाध्यक्षसम्म ताँती लाग्ने तर पछि फर्केर नहेर्ने प्रवृत्ति रहेको उनी बताउँछन् ।

‘विभिन्न अवसरमा देशैभरि हजारौँ बिरुवा रोपिन्छ । राम्रो मनसाय राखेर नै बिरुवा रोपिएका हुन्छन् । बिरुवा रोपेका दिन फेसबूकमा फोटो हाल्छन् । तर एक महिनापछि ती बिरुवाको अवस्था के छ कसैलाई मतलब हुँदैन,’ उनले भने ।
पारुल आफैँले १२–१३ सय बिरुवा रोपेर हुर्काइसकेका छन् । सडकमा रोपिएका बिरुवा गोड्न उनी आफैँ जान्छन्, गोडिसकेर पानी लगाउँछन् । गरेका हरेक कामको तस्वीर र भिडियो सामाजिक सञ्जालमा राख्ने गरेका छन् । त्यो देखेर अहिले धेरैले बिरुवा रोप्नुभन्दा अगाडि हुर्काउने विषयमा छलफल गर्न थालेको उनले बताए । मोरङ क्षेत्र नम्बर ४ का सांसद योगेन्द्र मण्डलले विराटनगरको रोडशेषदेखि जोगवनीसम्मको सडक डिभाइडरमा बिरुवा रोप्न उनीसँग छलफल गरेका छन् । जीवन विकास संस्थाका निवर्तमान अध्यक्षसमेत रहेका मण्डलले सो संस्थाबाट बिरुवा र मल उपलब्ध गराउने र रोप्ने हुर्काउनको जिम्मा लिन आग्रह गरेका छन् ।

आजकल पारुल मरिमराउमा जाँदा समवेदना पत्र लिएर जाँदैनन् । बरु एउटा बिरुवा लिएर जाने गरेका छन् । ‘समवेदना लिएर गयो कतै–कतै राख्ने ठाउँ पनि हुँदैन,’ उनी भन्छन्, ‘त्यसलाई राख्न सोकेसहरू बनाउनु पर्यो खर्च बढ्छ । त्यो गर्नुभन्दा वातावरणलाई स्वच्छ बनाउने बिरुवा लिएर जाने गरेको छु ।’
पारुलले आफ्नो अभियानलाई अझ बिस्तार गर्दै लगिरहेका छन् । बिरुवाको खडेरी नहोस् भनेर उनले आफ्नै घरमा नर्सरी बनाएका छन् । तीन–चार सय बिरुवा उत्पादन गर्नेगरी उनले नर्सरी बनाएका हुन् । कसैले रोप्न चाहेमा उनले बिरुवा पनि निःशुल्क दिने गरेका छन् । आफ्नोमा सकिएको बेला वन कार्यालयबाट ल्याएर भएपनि उनले उपलब्ध गराउने गरेका छन् ।

विदेशबाट आउनेहरूले आफ्ना आफन्त र साथीसंगीका लागि मोबाइल, कपडा तथा अन्य इलेक्ट्रिक सामग्रीहरू गिफ्टका रुपमा ल्याउने गरेका छन् । तर पारुललाई भने विदेशबाट आउने साथीभाइले बिरुवा उपहार ल्याइदिने गरेका छन् । मलेसिया चीन, यूबई साउदी अरेबिया तथा भारतबाट आउने साथीभाइले बिरुवा ल्याएर दिएको उनले सुनाए ।
‘मैले अभियान थालेपछि एक जनाले मलाई भेटे । अनि मेरा सन्तान छैनन्, अब मेरो आम्दानीको १० प्रतिशत बिरुवा रोप्न र हुर्काउन खर्च गर्छु भने । उनीसँग अहिले सहकार्य भइरहेको छ,’ उनले भने ।
बिरुवा रोप्ने आफ्नो अभियानले कंक्रिट शहरलाई राहत दिन्छ भन्ने विश्वास लिएको पारुल बताउँछन् । यस अभियानलाई विद्यालय स्तरसम्म लैजान चाहन्छन् उनी । एक्लै गरेर केही नहुने भएकाले यस अभियानमा जुट्न सबैलाई उनी आग्रह गर्छन् । आफूले फलफूल र छहारी दिने खालका बिरुवामा जोड दिने गरेको उनले बताए । सडकमा भने फूलका बिरुवा रोप्ने गरेका छन् । विगतमा वर–पिपल रोपेर हुर्काएका वृद्धवृद्धालाई घर–घरमा गएर सम्मान गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।
पारुलसँग अहिले वर्षदिनभित्रमा पाँचवटा चौतारो बनाउने योजना छ । ‘अहिले सामाजिक सञ्जालका कारण एकैघरमा बस्नेको पनि ‘फेस टू फेस’ कम संवाद हुने अवस्था छ । धेरै वृद्धवृद्धाका लागि दिन बिताउन समस्या छ । यसर्थ छहारीसहितको बिरुवा रोपेर चौतारो बनाउने योजना ल्याएको हुँ,’ उनी भन्छन्, ‘त्यहाँ रोपिएका बिरुवाले शीतलता दिन्छ । अनि बुवा–आमाहरूलाई बसेर दिन कटाउन पनि सहज हुन्छ ।’