०३ साउन २०८३, आइतबार
हरेक वर्ष हजार बिरुवा हुर्काउने घोषणा

कंक्रिट शहरलाई हरियाली बनाउने पारुलको योजना

जेठ १९, २०८१
विराटनगर
कंक्रिट शहरलाई हरियाली बनाउने पारुलको योजना

वन जोगाउने उद्देश्य राखेर सरकारी निकाय र सामुदायिक वनसँगै विभिन्न एनजीओ, आईएनजीओले बिरुवा रोप्ने गर्छन् ।  बर्सेनि लाखौँ खर्च गरेर ठूलो संख्यामा बिरुवा उत्पादन गर्ने गरिन्छ । तर तिनै बिरुवा रोपेपछि भने संरक्षण गर्ने गरिँदैन । लाखौँ खर्च गरेर रोपिएका बिरुवाले दिने प्रतिफल भने ज्यादै न्यून हुन्छ । रुख रोप्न वन कार्यालयहरूले निःशुल्क बिरुवासमेत उपलब्ध गराउने गरेका छन् । बिरुवा रोपेपछि त्यो बिरुवामा रेखदेख अर्थात् मलजल, पानी लगाउन जानेको संख्या न्यूनमात्र हुने गरेको गुनासो सुन्ने गरिएको छ । यसले गर्दा लगाएका बिरुवामध्ये अधिकांश ठूला हुन पाउँदैनन् भने कतिपय सुकेर मर्ने गरेको पाइन्छ । 

null

तर विराटनगरका एक व्यक्तिले भने एक हजार बिरुवा रोपेर हुर्काउने घोषणा गरेका छन् । पारुल क्षेत्रीले एकै वर्षमा एक हजार बिरुवालाई हुर्काउने घोषणा गरेका हुन । विराटनगर कंक्रिट शहर हो । यो शहरमा रुख–बिरुवा हुर्काउनेमा कसैको ध्यान नजाँदा चिन्ता लागेर आएको उनी बताउँछन् । ‘रुख काटेर एसी जडान गर्ने समाज पैदा हुँदै गएको छ,’ उनले भने ‘वन र वातावरणको महत्व सिकाउन मैले एक्लै भएपनि अभियान थालेको हुँ ।’ 

पारुलको अभियानले सार्थकतासमेत पाउँदै गएको छ । धेरै मानिस यस अभियानप्रति आकर्षित भएका छन् । पछिल्लो समय कतिपयले जन्मोत्सव (बर्थ डे)मा समेत बिरुवा रोप्न थालेका छन् । केक काटेर मनाउने प्रचलनलाई परिमार्जन गर्न सकिन्छ भन्ने आत्मविश्वास उनमा पनि पलाएको छ । अहिले कतिपयले बर्थ डेको अवसरमा बिरुवा रोपेर फेसबूकमा उनलाई ‘मेन्सन’ गरेर तस्वीर साझा गर्न थालेका छन् । बिरुवा रोप्न मन्त्री, पालिका प्रमुख र वडाध्यक्षसम्म ताँती लाग्ने तर पछि फर्केर नहेर्ने प्रवृत्ति रहेको उनी बताउँछन् । 

null

‘विभिन्न अवसरमा देशैभरि हजारौँ बिरुवा रोपिन्छ । राम्रो मनसाय राखेर नै बिरुवा रोपिएका हुन्छन् । बिरुवा रोपेका दिन फेसबूकमा फोटो हाल्छन् । तर एक महिनापछि ती बिरुवाको अवस्था के छ कसैलाई मतलब हुँदैन,’ उनले भने ।

पारुल आफैँले १२–१३ सय बिरुवा रोपेर हुर्काइसकेका छन् । सडकमा रोपिएका बिरुवा गोड्न उनी आफैँ जान्छन्, गोडिसकेर पानी लगाउँछन् । गरेका हरेक कामको तस्वीर र भिडियो सामाजिक सञ्जालमा राख्ने गरेका छन् । त्यो देखेर अहिले धेरैले बिरुवा रोप्नुभन्दा अगाडि हुर्काउने विषयमा छलफल गर्न थालेको उनले बताए ।  मोरङ क्षेत्र नम्बर ४ का सांसद योगेन्द्र मण्डलले विराटनगरको रोडशेषदेखि जोगवनीसम्मको सडक डिभाइडरमा बिरुवा रोप्न उनीसँग छलफल गरेका छन् । जीवन विकास संस्थाका निवर्तमान  अध्यक्षसमेत रहेका मण्डलले सो संस्थाबाट बिरुवा र मल उपलब्ध गराउने र रोप्ने हुर्काउनको जिम्मा लिन आग्रह गरेका छन् । 

null

आजकल पारुल मरिमराउमा जाँदा समवेदना पत्र लिएर जाँदैनन् । बरु एउटा बिरुवा लिएर जाने गरेका छन् । ‘समवेदना लिएर गयो कतै–कतै राख्ने ठाउँ पनि हुँदैन,’ उनी भन्छन्, ‘त्यसलाई राख्न सोकेसहरू बनाउनु पर्यो खर्च बढ्छ । त्यो गर्नुभन्दा वातावरणलाई स्वच्छ बनाउने बिरुवा लिएर जाने गरेको छु ।’

पारुलले आफ्नो अभियानलाई अझ बिस्तार गर्दै लगिरहेका छन् । बिरुवाको खडेरी नहोस् भनेर उनले आफ्नै घरमा नर्सरी बनाएका छन् । तीन–चार सय बिरुवा उत्पादन गर्नेगरी उनले नर्सरी बनाएका हुन् । कसैले रोप्न चाहेमा उनले बिरुवा पनि निःशुल्क दिने गरेका छन् । आफ्नोमा सकिएको बेला वन कार्यालयबाट ल्याएर भएपनि उनले उपलब्ध गराउने गरेका छन् । 

null

विदेशबाट आउनेहरूले आफ्ना आफन्त र साथीसंगीका लागि मोबाइल, कपडा तथा अन्य इलेक्ट्रिक सामग्रीहरू गिफ्टका रुपमा ल्याउने गरेका छन् । तर पारुललाई भने विदेशबाट आउने साथीभाइले बिरुवा उपहार ल्याइदिने गरेका छन् । मलेसिया चीन, यूबई साउदी अरेबिया तथा भारतबाट आउने साथीभाइले बिरुवा ल्याएर दिएको उनले सुनाए । 
‘मैले अभियान थालेपछि एक जनाले मलाई भेटे । अनि मेरा सन्तान छैनन्, अब मेरो आम्दानीको १० प्रतिशत बिरुवा रोप्न र हुर्काउन खर्च गर्छु भने । उनीसँग अहिले सहकार्य भइरहेको छ,’ उनले भने । 

बिरुवा रोप्ने आफ्नो अभियानले कंक्रिट शहरलाई राहत दिन्छ भन्ने विश्वास लिएको पारुल बताउँछन् । यस अभियानलाई विद्यालय स्तरसम्म लैजान चाहन्छन् उनी । एक्लै गरेर केही नहुने भएकाले यस अभियानमा जुट्न सबैलाई उनी आग्रह गर्छन् । आफूले फलफूल र छहारी दिने खालका बिरुवामा जोड दिने गरेको उनले बताए । सडकमा भने फूलका बिरुवा रोप्ने गरेका छन् । विगतमा वर–पिपल रोपेर हुर्काएका वृद्धवृद्धालाई घर–घरमा गएर सम्मान गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।  

पारुलसँग अहिले वर्षदिनभित्रमा पाँचवटा चौतारो बनाउने योजना छ । ‘अहिले सामाजिक सञ्जालका कारण एकैघरमा बस्नेको पनि ‘फेस टू फेस’ कम संवाद हुने अवस्था छ । धेरै वृद्धवृद्धाका लागि दिन बिताउन समस्या छ । यसर्थ छहारीसहितको बिरुवा रोपेर चौतारो बनाउने योजना ल्याएको हुँ,’ उनी भन्छन्, ‘त्यहाँ रोपिएका बिरुवाले शीतलता दिन्छ । अनि बुवा–आमाहरूलाई बसेर दिन कटाउन पनि सहज हुन्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्