०३ साउन २०८३, आइतबार
सक्रिय बन्दै कांग्रेस

कांग्रेसमा विभाग गठन भएपछि बढ्न थाल्यो गतिविधि, कार्यालय दिनकै खचाखच

असोज १, २०८१
काठमाडौं
कांग्रेसमा विभाग गठन भएपछि बढ्न थाल्यो गतिविधि, कार्यालय दिनकै खचाखच

नेपाली कांग्रेसमा विभागहरू बन्ने र सदस्य थपिने क्रम बढेपछि पार्टी गतिविधि पनि बढ्न थालेका छन् । विभाग गठन भएपछि यिनीहरूले गर्ने बैठक र कार्यक्रमका कारण ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय परिसर हरेक दिन खचाखच हुन थालेको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए । 

‘यसअघि विभाग गठन नहुँदा कहिलेकाहीँ मात्र बस्ने केन्द्रीय समिति बैठकले मात्रै केन्द्रीय कार्यालयमा माहोल देखिन्थ्यो । तर, ६९ मध्ये ५५ वटा विभाग बनेपछि कांग्रेसमा यिनीहरूले सक्रियता र कार्यक्रम बढाउन थालेका छन्, जसले कुनै दिन त दुई तीनवटै हल पनि खचाखच हुन थालेका छन्,’ पौडेलले लोकान्तरसँग भने, ‘विभागले गर्ने कार्यक्रम, बैठकजस्ता गतिविधिले पार्टीलाई तल्लो तहसम्मै क्रियाशील बनाउँदै लाने र पार्टीको नीति कार्यान्वयन हुँदै जाने अवस्था आएको छ ।’ 

मानबहादुर नेपाली प्रमुख रहेको कानून विभागले मंगलबार मात्रै संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालयमा छलफल कार्यक्रम गरेको छ । सभापति शेरबहादुर देउवाको उपस्थितिमा ‘संविधानको एक दशक : कार्यान्वयन र चुनौती’ विषयक विचार गोष्ठी कार्यक्रम भएको हो । पछिल्लो केही दिनयता देउवा विभागले केन्द्रीय कार्यालयमा राखेका तीनवटा कार्यक्रममा सहभागी भएका हुन् । 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विभाग गठन भएर सदस्य थपिँदै गएपछि केन्द्रीय कार्यालयदेखि बाहिर पनि कार्यक्रम निरन्तर भइरहेको बताए । यसले पार्टीका गतिविधि स्वाभाविक हिसाबले बढेको बताए । 

‘पार्टीका संरचनालाई पहिले नै पूर्णता दिएको भए हामी अर्कै ढंगमा सक्रिय भएर अगाडि बढ्थ्यौं । समयमा नेविसंघ र तरुण दलको महाधिवेशन भएको भए २०७९ सालको चुनावी नतिजा नै अर्को हुन्थ्यो । तर, हाम्रो कमजोरीका कारण युवाको नाममा अरूले नै भोट लगे,’ विश्वकर्माले लोकान्तरसँग भने, ‘लडाईंमा सेना ढिला गरी भर्ती गर्दा हारिन्छ, छिटो भर्ती गरे जितिन्छ । पार्टीको हकमा पनि यही हो । ढिला गर्दा एउटा लडाईं हारे पनि अब आउने लडाईं जित्नका लागि छिटो संरचनालाई पूर्णता दिएर चलायमान बनाउनुपर्छ । संरचना बनेपछि काम गर्छन् भन्ने पछिल्लो समय विभाग गठनपछिका कार्यक्रम, चहलपहल र सक्रियताले देखाउँछन् ।’ 

कांग्रेसमा विधानबमोजिम बन्नुपर्नेमध्ये ५५ वटामा विभागीय प्रमुख बनाइएका छन् । ५५ मध्ये ३७ वटामा गत साउन २१ गते विभागीय प्रमुख तोकिएको थियो । प्रत्येक विभागमा ५१ सदस्य हुनेमा पहिलो चरणमा हरेकमा १० जनाका दरले गर्ने तयारी पार्टीको छ । यसै शिलशिलामा दिनहुँजसो हरेक विभागमा १० जना सदस्य मनोनीत भइरहेको जानकारी अर्का सचिव प्रकाश शर्माले दिए । 

‘विभागमा प्रमुख, उपप्रमुख, सचिव एक–एक जना र बाँकी सदस्य गर्दा विभाग ५१ सदस्यीय बन्छ । यस क्रममा ५५ मध्ये २०/२२ वटा जतिमा १० जनाका दरले सदस्य मनोनीत भइरहेका छन्,’ शर्माले भने, ‘विभाग बन्ने क्रम बढेसँगै उहाँहरूले कार्यालयपरिसर र बाहिर पनि बैठक राखेर गतिविधि गरिरहनुभएको छ ।’ शुरूमा प्रत्येकमा १० जनाको दरले सदस्य बनाएपछि बाँकी ४० जना पछि थप्ने पार्टीको नीति रहेको उनले बताए । 

पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र, भूपू सैनिक, साहित्य कला तथा संस्कृति, पर्यटन, अपागंता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा, श्रमिक तथा ट्रेड युनियन, वित्तीय संस्था समन्वय, पूर्व आप्रवासी समन्वय, कानून, पेशागत बुद्धिजीवी, महिला, शुभेच्छुक संस्था समन्वय विभागमा पछिल्लो समय १० जनाका दरले सदस्य मनोनीत भएका छन् । 

शुरूमा गठन गरिएको प्रचार विभागमा भने ४३ जना सदस्य पुगिसकेका छन् । कांग्रेसमा मीन विश्वकर्मा प्रमुख रहेको प्रचार विभाग सबैभन्दा बढी सक्रिय छ । मधु आचार्य प्रमुख रहेको स्थानीय तह विभागले सदस्य नै मनोनीत नभई कार्यक्रम गरिसकेको छ । अघिल्लो हप्ता विभागले स्थानीय तहमा कांग्रेसबाट जितेर उत्कृष्ट काम गर्ने नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्षलाई सम्मान गरेको थियो । 

त्यस्तै, १० सदस्य मनोनीत नभए पनि उमेशजंग रायमाझी नेतृत्वको खेलकुद विभागले पनि केन्द्रीय कार्यालयमा कार्यक्रम गरिसक्यो । पारा ओलम्पिकमा नेपालको तर्फबाट तेक्वान्दोमा कास्य पदक जित्ने पलेशा प्रबर्द्धनलाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिएर सम्मान गरेको थियो । स्थानीय तह, खेलकुद र कानून विभागले गरेका यी तीनवटै कार्यक्रममा सभापति शेरबहादुर देउवासहितका नेता सहभागी भएका थिए । 

लगातार भएका कार्यक्रममा देउवा यसरी केन्द्रीय कार्यालय आएको घटना बिरलै भएको अर्का एक नेता बताउँछन् । ‘पार्टीका विभागले कार्यक्रम राखेपछि सभापति यसरी लगातार दुईवटा कार्यक्रममा आउनुभएको धेरै देखेका छैनौं,’ कांग्रेसका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘गुटगत रूपमा घरलाई नै नेताहरूले केन्द्र बनाउनुभन्दा यसरी कार्यालयमा कार्यक्रम राख्ने र नेता कार्यकर्ता भेटघाट गरे पार्टी चलायमान हुन्छ ।’ 

null

डा. डीला संग्रौला प्रमुख रहेको पेशागत तथा बुद्धिजीवी विभागले बीपी कोइरालाको १११ जन्मजयन्तीका अवसरमा भदौ २५ गते ‘बीपीको समाजवाद र आजको सान्दर्भिकता’ विचार गोष्ठी गरेको थियो । विभागले दशौं संविधान दिवसका अवसरमा असोज ३ गते ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषय अन्तरक्रिया गर्दैछ ।

स्थानीय तह विभाग प्रमुख मधु आचार्य ६९ वटै विभागहरू बनेर वडा तहसम्म परिचालन हुँदा पार्टी जीवनमा उल्लेख्य योगदान हुने बताउँछन् । 

‘कांग्रेसमा यसअघि विभाग गठनमै समस्या देखियो । यसपटक विभाग गठन भएलगत्तैदेखि यिनीहरूले काम गर्न थालेका छन् । यो त शुरूआत मात्रै हो,’ आचार्यले लोकान्तरसँग भने, ‘विभागमा मात्रै देशभरका साढे ३ हजार सदस्यलाई परिचालित गर्न सकिन्छ । राजनीतिकमा रुपमा सचेत र अनुभवी सदस्यलाई पार्टीको तल्लो तहसम्म परिचालन गर्न सक्दा पार्टी जीवनमा उनीहरूले महत्त्वपूर्ण सहयोग गर्न सक्छन् । यसैले पार्टीले छिटो विभाग गठनलाई पूर्णता दिनुपर्छ ।’

प्रत्येक विभागले आफूसँग सम्बन्धित विषयबारे प्रचलित संविधान र कानूनमा भएका व्यवस्था, नेपाल सरकारले तर्जुमा गरेको नीति, सरकारले तत् सम्बन्धमा गरेका कामहरूको अनुगमन मूल्यांकन गरी केन्द्रीय कार्यसमितिलाई जानकारी दिने विधानमा उल्लेख छ ।

त्यस्तै, सो सम्बन्धमा पार्टीले बनाउनुपर्ने नीति र गर्नुपर्ने कार्यबारे सुझाव दिने काम पनि विभागलाई तोकिएको छ । यसका लागि प्रत्येक दुई महिनामा बैठक बस्नुपर्ने र प्रत्येक ६ महिनामा कार्यसम्पादन प्रगति प्रतिवेदन केन्द्रीय समितिलाई बुझाउनुपर्नेछ । 

अब्दुल सतार प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभाग र रणबहादुर रावल प्रमुख रहेको गैरसरकारी संस्था समन्वय विभागले पनि बैठक गरिसकेको छ । गुरु बराल प्रमुख रहेको आपूर्ति तथा उपभोक्ता विभागले दुग्ध विकास, कृषि, तरकारी उपभोक्तासँग काठमाडौंमा एक पार्टी प्यालेसमा छलफल गरेको छ । 

पुस्तकालयले बढायो आकर्षण

नेपाली कांग्रेस केन्द्रीय कार्यालयभित्र खुलेको खुला पुस्तकालयले पनि सर्वसाधारणलाई आकर्षित गरिरहेको छ । पुस्तकालय सञ्चालनमा आएपछि केन्द्रीय कार्यालय परिसरमा अध्ययन गर्न आउने क्रम बढेको सचिव शर्मा बताउँछन् । 

‘भर्खरै खुलेको पुस्तकालयको प्रचार भइसकेको छैन । तर, अध्ययन गर्न सर्वसाधारण र पार्टीका नेता कार्यकर्ता पनि आउने क्रम दिनदिनै बढ्दो छ,’ शर्माले भने, ‘पुस्तकालयमा सहजै बसेर अध्ययन गर्न सकिने भएपछि आएकाहरू खुशी भएको पनि पाएका छौं ।’

पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागका प्रमुख अजयबाबु सिवाकोटीले पनि विभाग गठन भएर सदस्यहरू थपिन थालेपछि पार्टीको गतिविधि बढेको बताए । 

‘हाम्रा नेताहरू पार्टीको गतिविधि भएन भन्नुहुन्छ । तर, पार्टीका संरचनालाई व्यवस्थित बनाउँदै लाने हो भने सक्रियता बढ्दोरहेछ भन्ने विभागका पछिल्ला गतिविधिले देखाउन थालेका छन्,’ सिवाकोटीले लोकान्तरसँग भने, ‘नेताहरूले जिम्मेवारी पाउने, विभागमा तल्लो तहसम्मका नेता/कार्यकर्ता अटाउने भएपछि पार्टीका गतिविधि बढ्दा यसको लाभ कांग्रेसले नै उठाउँछ । यसैले झन् व्यवस्थित बनाएर विभागलाई सक्रिय बनाउनुपर्छ ।’

मुख्य दुई ठूला विभाग बन्नै बाँकी

६९ मध्ये ५५ वटा विभाग गठन हुँदा अझै पनि संगठनमा ठूलो महत्त्व राख्ने संगठन र अन्तर्राष्ट्रिय विभाग बन्न सकेको छैन । सभापति शेरबहादुर देउवाले आफ्नो विश्वासपात्र नेतालाई प्रमुख बनाउन सक्ने स्थिति भए पनि उनले यी विभागमा अहिलेसम्म जिम्मेवारी दिएका छैनन् । प्रचार विभाग प्रमुख विश्वकर्मा सभापति देउवाले छिट्टै बाँकीसहितका महत्त्वपूर्ण विभागलाई पूर्णता दिने बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्