
काठमाडौं, १९ कात्तिक — पुरानो जमानामा मानिसहरूले अपराध गर्दा अत्यन्तै क्रूर सजायहरू दिइन्थ्यो । आधुनिक जमानामा पनि सजायस्वरूप यातना दिनका लागि अनेक उपाय रचिन्छन् ।
यहाँ हामी पाँचवटा यातनाका तरिकाहरूको चर्चा गर्दैछौं ।

टकर टेलिफोन
सन् १९६० को दशकमा कैदीहरूलाई सजाय दिनका लागि विद्युतीय उपकरण टकर टेलिफोन प्रयोग गरिन्थ्यो । अझैै पनि धेरै देशमा यसको गैरकानूनी प्रयोग हुने गरेको बताइन्छ ।
यो उपकरणमा डाइरेक्ट करेन्ट जेनेरेट गर्ने दुई ब्याट्रीसँग सम्पर्क हुन्छ र यसको स्विच एक टेलिफोनको तारसँग जोडिएको हुन्छ । पहिलेपहिले जेनेरेटरबाट निस्केका दुई तारमा एउटा चाहिँ कैदीको गोडाको बूढी औंलामा बाँधिन्थ्यो भने अर्को चाहिँ कैदीको गोप्य अंगमा लगाइन्थ्यो । बाहिरबाट कल गरेर फोन बज्दा कैदीको गोप्य अंगमा बेस्सरी करेन्ट लाग्थ्यो ।
करेन्ट लागेर कैदीको अंग नै बिग्रन्थ्यो । सन् १९६८ मा यसलाई पूर्ण प्रतिबन्ध लगाइयो । तर प्रतिबन्धका बाबजुद धेरै देशमा यसको गैरकानूनी प्रयोग हुन्छ ।

फोर्स फीडिङ
बिरामी मानिसलाई नाक वा नसाबाट खाना खुवाउनु त सामान्य हो तर यातना दिनका लागि पनि यो तरिका प्रयोग गरिन्छ । व्यक्तिको पेट भरिएको भएपनि उसलाई मुख र नाकबाट जबर्जस्ती खाना खुवाइन्छ ।

जर्मन चेयर
यो तरिकामा अपराधीको पिठ्युँको भागतिरबाट कुर्सी उसको हात र गोडामा फसाइन्छ । त्यसपछि कुर्सीलाई पछिल्तिर तानिन्छ । यसो गर्दा बन्दीलाई भयंकर पीडा हुन्छ ।

कुकुरले टोकाएर
अमेरिकी पत्रकार लरेन्स राइटका अनुसार, इजिप्टमा आतंकवादी तथा गम्भीर अपराधका आरोपितलाई एउटा कोठामा नांगै पारेर बाँधिन्छ र त्यो कोठामा एउटा खुँखार कुकुर छोडिन्छ । कुकुरले कैदीलाई टोकेरै अंगभंग पारिदिन्छ ।

चिसो कोठा
धेरै देशमा अपराधीलाई अत्यन्तै चिसो कोठमा नांगै छोडेर यातना दिने गरिन्छ । सीआईएले मुसलमान आतंकवादी भनिएका व्यक्तिलाई यातना दिन यसको प्रयोग गरेको उल्लेख पाइन्छ ।
एजेन्सी