०३ साउन २०८३, आइतबार

सात वर्ष इजरायल बसेर फर्केपछि गाउँमै फूलखेती‍

कात्तिक १७, २०८१
विराटनगर
सात वर्ष इजरायल बसेर फर्केपछि गाउँमै फूलखेती‍

मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विराटचोककी शान्ति (सानु) गुरुङले आफ्नो ऊर्जाशील सात वर्ष इजरायलमा बिताइन् । सन् २००९ मा इजरायल गएकी उनी २०१५ मा आफ्नै गाउँ फर्किएकी थिइन् । 

केयर गिभरमा इजरायल गएकी उनी मासिक दुई रुपैयाँ कमाउँथिन् । इजरायलमा उनले वृद्धवृद्धाको हेरचाह गर्ने काम गर्थिन् । 

सात वर्ष इजरायलमा बिताएकी सानु अहिले भने आफ्नै माटोमा पौरख गर्न थालेकी छिन् । उनले घरमै नर्सरी स्थापना गरेकी छन् । इजरायलमा गरेको संघर्षले यही केही गर्न आट आएको उनले बताइन् । ‘त्यतिकै समय खेर नफाल्ने भनेर नर्सरी थालेको हुँ,’ उनले भनिन्, ‘म अहिले केही नगरी बस्न नसक्ने भएकी छु । यो चाहिँ मलाई इजरायलले नै बनाएको हो ।’ 

थोरै लगानीमा उनले नर्सरीको स्थापना गरेकी छिन् । करिब अढाइ/तीन लाख रुपैयाँमा लगानीमा नर्सरी स्थापना गरेको उनले बताइन् । 

लगानी बढाउँदै लैजाने उनको योजना छ । हाम्रो समाजमा एक जनाले कमाउने र अरूले गफ गरेर समय बिताउने चलन छ । उनी भने एक जना कमाउने अनि परिवारका अन्य सदस्यले बसेर खाने चलनको विरोध गर्छिन् । सबैले मेहनत गरे मात्रै देश बन्ने उनको भनाइ छ । ‘म गएकै देश पनि स्थापना भएको लामो समय भएको रहेन छ । उसले विकासमा कति छिटो फड्को मारेको छ । हामी चाहिँ परिश्रम गर्दिनौं  अनि कसरी विकास हुन्छ ? उनले भनिन् । 

नर्सरीले दुई/चार पैसा आम्दानीसँगै आत्मसन्तुष्टि मिलेको उनले बताइन् । देखासिकी गर्ने बानीले नेपालीहरू पछि परेको उनको भनाइ छ । ‘इजरायलका मानिसहरू मेहनती हुन्छन् । काम गर्नेहरूलाई रेस्पेक्ट पनि गर्छन् । यहाँ त काम गर्नेलाई इज्जत गर्दैन नि,’ उनले भनिन्, ‘पारिश्रमिक पनि राम्रो दिँदैन । यता चाहिँ काम गर्नेलाई इज्जत गर्छन् र राम्रो पारिश्रमिक पनि दिन्छन् ।’

उनले तिहारका लागि लक्षित गरेर सयपत्री फूलसमेत रोपेकी थिइन् । १५० रुपैयाँमा फूलको माला बनाएर बेच्ने गरेको उनले बताइन् । आफूले उत्पादन गरेका फूलका माला तेह्रथुम धनकुटा तथा स्थानीय बजारमै खपत भएको उनले बताइन् । ‘३ सय मालाको अर्डर आएको थियो,’ उनले भनिन् ।

उनले पहिलो पटक सयपत्री फूल रोपेकी हुन्  । अर्काे वर्ष धेरै उत्पादन हुनेगरी रोप्ने उनको योजना छ । सयपत्री फूलको खेती गरेको जग्गामा धान लगाएको भए ५ हजार पनि आम्दानी हुन मुस्किल पर्ने उनको भनाइ छ  ।  

उनी नर्सरीको काम एक्लै गर्छिन् । घरको काम भ्याएर नर्सरीको काम गर्ने गरेको उनले बताइन् । घरसँगै नर्सरी भएकाले सबै काम आफैंले गर्ने गरेको उनले बताइन् । उनलाई श्रीमान लोकेन्द्रले पनि सघाउने गरेका छन् । सानुका श्रीमान् लोकेन्द्र पनि मोरङकै सलकपुरमा कुखुरा पालन गर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्