०३ साउन २०८३, आइतबार
नरपुराको कहानी

श्रीमान् अमेरिका छिर्ने तल्लो बाटोमा, श्रीमती पालिका उपाध्यक्षको कुर्सीमा !

मंसिर १८, २०८१
काठमाडौं
श्रीमान् अमेरिका छिर्ने तल्लो बाटोमा, श्रीमती पालिका उपाध्यक्षको कुर्सीमा !

नेकपा (माओवादी केन्द्र)ले सत्तारुढ कांग्रेस–एमालेको गठबन्धनलाई पछाडि पार्दा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नरपुरा बुढा विजयी भइन् ।

कांग्रेस–एमाले गठबन्धनकी साझा उम्मेदवार केशकुमारी तुलाचनलाई पराजित गर्ने नरपुरा दुर्घटनामा निधन भएकी पूर्वउपाध्यक्ष भूपेन्द्र बुढाकी सहोदर दिदी हुन् । 

एमाले उम्मेदवार केशकुमारी कांग्रेसको चुनाव चिह्न रूख लिएर प्रतिस्पर्धामा उत्रिएपछि माओवादीले आफ्नो ‘आधार इलाका’ जित्छ कि गुमाउँछ भन्ने प्रतिष्ठाको विषय बनेको थियो । बुढाले ३ हजार ६२७ मत ल्याउँदा कांग्रेस–एमालेकी साझा उम्मेदवार तुलाचनले २ हजार १२८ मत मात्र पाइन् ।

नरपुरा रुकुमका पुराना कम्युनिस्ट नेता कृष्णबहादुर बुढाका छोरी हुन् । नरपुरा उपाध्यक्षमा निर्वाचित भए पनि उनका पति गोकुल पुनले विजयको माला र अवीर लगाइदिन पाएनन् । उज्ज्वल भविष्यको खोजीमा गोकुल अवैध तल्लो बाटो हुँदै अमेरिकातर्फ गइरहेका छन् ।

डंकी प्रोसेसबाट अमेरिका जाने बाटोमै रहेकाले उनले श्रीमतीको जीतमा खुशी साट्न नपाएका हुन् ।

माओवादी केन्द्र रुकुमपूर्वकी संयोजक कुमारी बरालले नरपुराका श्रीमान वैदेशिक रोजगारीका लागि अमेरिका जान बाटोमै रहेको बताइन् ।

‘उहाँ (गोकुल) वैदेशिक रोजगारीका लागि अमेरिका जान बाटोमा हुनुहुन्छ । नरपुरा विजयी भएको कुरा उहाँले फोनमार्फत थाहा पाउनुभयो । घरबाट हिँडेको मिति ठ्याक्कै थाहा भएन, तर उहाँ अमेरिका पुग्नुभएको छैन,’ बरालले लोकान्तरसँग भनिन् ।

तल्लो बाटोबाट अमेरिका जानु रुकुम–रोल्पामा संस्कारजस्तै बनेको छ ।

बरालले भनिन्, ‘यहाँ त एक घर, एक अमेरिका जाने संस्कार नै बनिसक्यो । गोकुल पनि एकपटक अमेरिका पुगे पनि डिपोर्ट भएर फर्किनुभएको हो, फेरि बाटोमै हुनुहुन्छ ।’

नरपुराले बहिनी (भूपेन्द्रा) ले अघि सारेर पूरा नभएका अधुरा काम गर्ने आफ्नो सोच रहेको बताइन् ।

‘पालिकामा महिला स्वास्थ्यको समस्या छ, त्यसलाई पूरा गर्नेछु । त्यस्तै, बालबालिकाको शिक्षा र स्वास्थ्य उकास्ने मेरो अबको काम हुनेछ,’ नवनिर्वाचित उपाध्यक्ष नरपुराले लोकान्तरसँग भनिन् ।  

भूपेन्द्राको गत भदौ २८ गते सडक दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन भएको हो । ४२ वर्षीया नरपुरासँग सामाजिक क्षेत्रमा काम गरेको अनुभव पनि छ ।

‘प्लस टु’ सम्म अध्ययन गरेकी उनी माओवादीकी पालिकास्तरीय नेतृ हुन् । उनका दुई सन्तान छन् ।

माओवादीले उम्मेदवारी दर्ताको अन्तिम समयमा यसअघि उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएकी ज्ञानदेवी पुनलाई हटाएर नरपुरालाई उम्मेदवार बनाएको थियो ।

नरपुरालाई उम्मेदवार बनाउन लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कूलप्रसाद केसीले भूमिका खेलेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्