
अदालतको अवहेलना सम्बन्धी मु्द्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग लिखित जवाफ मागेको छ ।
मंगलबार न्यायाधीशहरू विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले उनीहरूसँग लिखित जवाफ माग्ने आदेश गरेको हो ।
‘अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ?’ भन्दै सर्वोच्चले रास्वपाका केन्द्रीय पदाधिकारी एवं सांसदहरूसँग लिखित जवाफ मागेको हो ।
सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि भएका प्रदर्शनका क्रममा अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले लिखित जवाफ माग्ने आदेश गरेको हो ।
भट्टराईले रास्वपाका सबै केन्द्रीय पदाधिकारीसहित बागमती प्रदेशका सभापति डा.अच्युतम लामिछाने, कार्यबाहक प्रवक्ता मनिष झा लगायत रवि लामिछानेबाहेक २० जना सांसदलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।