
मकवानपुरस्थित सगरमाथा रोडा उद्योगमा ६ महिनादेखि २०० गाडी गिट्टी स्टकमा छ । त्यहाँ काम गर्ने २६ जना कर्मचारीलाई बिदा दिइएको छ । ६ महिनादेखि स्टकमा राखिएका रोडा तथा ग्राभेलमा घाँस उम्रिसकेको उद्योगका सञ्चालक राजन न्यौपाने बताउँछन् ।
‘६ महिना भइसक्यो, २०० गाडीभन्दा बढी माल त्यत्तिकै थन्किएको छ । अहिले त झार पनि उम्रिसकेको छ । कामदारहरूलाई तलब खुवाएर राख्न सकिँदैन’, न्यौपानेले भने, ‘काम नै नभएका बेला सबैलाई बिदा दिएको छु । हेरचाह गर्न एकजना राखेका छौं । अरू सबै अन्तै काममा गइसके होलान् ।’
रोडा उद्योगसँग भएका ९ वटा टिप्परको ब्याट्री निकालेर घाममा सुकाइएको उनले सुनाए । स–साना घर बनाउने कामका लागि खोलाबाट केही मात्रामा रोडा–गिट्टीको जोहो स्थानीयले नै गरिरहेका छन् ।
दुई वर्ष अघिसम्म मासिकरूपमा करोडमाथिको मालसामान पठाउने न्यौपानेको काम अहिले पूर्णरूपमा ठप्प छ ।
***
हेटौंडा उपमहानगरपालिका– १९ मा रहेको दीपज्योति कंक्रिट उद्योगमा झन्डै एक वर्षदेखि खासै व्यापार छैन । बालुवा, गिट्टी तथा रोडा प्रशोधन गर्ने क्रसरमा झारपात पलाएको छ ।
१० वटा टिप्पर त्यत्तिकै घाँस उम्रिएर बेवारिसे अवस्थामा छन् । दीपज्योति कंक्रिट इन्डस्ट्रिजका सञ्चालक रामप्रसाद खड्का कर्जाको ब्याज भुक्तानीका लागि यताउति धाइरहेका छन् ।
दुई वर्षदेखि काम नपाएर उद्योग बन्द हुने अवस्थामा पुगेको सञ्चालक खड्काले बताए ।
खड्काका अनुसार ठेकेदारहरूले भुक्तानी दिएका छैनन् । उधारोमा मालसामान पठाउँदा उद्योग नै बन्द गर्नुपर्ने अवस्था छ । ठूला आयोजनाहरूमा काम नभएकाले पनि उद्योग बन्द गर्नुपर्ने अवस्थामा आएको उनको ठहर छ ।
‘एक हजार टिप्परजति बालुवागिट्टी स्टक त्यत्तिकै छ । काम नै नभएपछि कसलाई पठाउने ? करोडौं लगानी गरेको, अहिले ऋणको ब्याज तिर्न यताउति धाइरहेको छु’, उनले भने, ‘अझै टुङ्गो छैन, सबै संयन्त्रहरू अलपत्र छन् ।’

***
रुपन्देहीका गोपाल ज्ञवाली एक वर्षअघि मात्रै क्रसर उद्योगबाट बाहिरिए ।
रुपन्देहीमा क्रसर उद्योगहरूको बिगबिगीका बीच उद्योग चल्ने नदेखेपछि आफू बाहिरिएको उनी बताउँछन् । रुपन्देहीमा ठेक्कापट्टाको काम नभएर उद्योगहरूमा रोडा–गिट्टीको स्टक थुप्रिएको उनी बताउँछन् ।
‘कति चाहियो ? त्योभन्दा बढी रोडा–गिट्टी पर्याप्त छ । तर, माग नै छैन । निर्माणको काम भएको देखिँदैन,’, उनले भने, ‘त्यसैले म बाहिरिएको हुँ । अहिले अन्य व्यवसायमा छु ।’
***
पश्चिम नेपालको दाङमा गिट्टी बालुवाको खपत ५० प्रतिशतले खस्किएको पाण्डेश्वर एग्रिकेट प्रालिका सञ्चालक रामप्रसाद पोखरेल बताउँछन् । उनका अनुसार दैनिक बालुवागिट्टीको खपत ३०/३५ टिप्परबाट १०/१२ टिप्परमा खुम्चिएको छ । ‘अहिले दैनिक १०/१२ टिप्पर बालुवागिट्टीको काम भइरहेको छ, जुन एकदुई वर्षअघि दैनिक २५/३० टिप्परसम्म जाने गर्दथ्यो’, उनले भने, ‘गाउँपालिकाबाट पनि ठेक्का लागेको छैन । सबैतिर बालुवागिट्टीको काम यस्तै छ । कतिपय बन्द पनि भइसके ।’
पश्चिम नेपालमा मात्रै नभएर काठमाडौं उपत्यकासँगै जोडिएको नुवाकोटमा पनि बालुवा, गिट्टी तथा रोडा उद्योगहरूको काम ५० प्रतिशत खुम्चिएको छ । दैनिक रोडा–गिट्टीको खपत करिब ४० देखि ५० प्रतिशतसम्म घटेको नुवाकोटको गंगटेमा रहेको वर्ड स्टोन क्रसर उद्योगका सञ्चालक विनोदराज श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार दैनिक ५०/६० गाडी रोडा–गिट्टीको माग हुने गरेकोमा अहिले २०/३० गाडीमा खुम्चिएको छ ।
‘दैनिक ५०/६० गाडीसम्म माग हुने गर्दथ्यो, जुन अहिले २० देखि ३० गाडीमा सीमित भएको छ’, श्रेष्ठले भने, ‘हाम्रो उद्योगबाट स–साना घर बनाउनका लागि माल जाने गर्दछ, जुन पछिल्लो दुई वर्षदेखि खस्किँदै गएको छ । समग्रमा अहिले ५० प्रतिशत माग घटिसकेको छ ।’
माथि उल्लेखित प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । पछिल्लो समय देशैभर यस्तै अवस्था छ । देशभरमा २५० भन्दा बढी क्रसर उद्योग पूर्णरूपमा बन्द रहेको नेपाल क्रसर तथा खानी व्यवसायी महासंघले जनाएको छ । हाल देशभरमा साढे ८ सयको हाराहारीमा क्रसर उद्योग सञ्चालनमा छन् ।

किन रोडा–गिट्टी उद्योगहरूको काम कम हुँदैछ ?
कतिपय रोडा उद्योग काम नपाएर बन्द भएका छन् भने कतिपय उद्योग कानूनी मापदण्ड पूरा नगरेका कारण चल्न पाएका छैनन् । मकवानपुरमा स्थानीय तहदेखि प्रदेश सरकारसम्म कुनै पनि आयोजनामा काम नभएकाले व्यापार ठप्प रहेको सगरमाथा रोडा उद्योगका सञ्चालक न्यौपाने बताउँछन् ।
‘सबैतिर काम ठप्प छ । गाउँपालिकाहरूले पनि कुनै निर्माणको काम अगाडि बढाएका छैनन्’, न्यौपानेले भने, ‘ठेकेदारहरूले पैसा दिएकै छैनन् । पैसा नदिई माल पठाउने कुरा भएन । पुराना आयोजनाहरूमा केही माल पठाइन्थ्यो, त्यो पनि अहिले ठेकेदारले पैसा दिन सकेका छैनन् । अनि हाम्रो काम पनि भइरहेको छैन ।’

ठूला परियोजनाहरूका लागि आवश्यक रोडा–गिट्टीको काम ठप्प भएपनि स–साना कामका लागि थोरबहुत व्यापार छ । घर निर्माणबाट आउने माग समेत आधा घटिसकेको वर्ड स्टोन क्रसरका सञ्चालक श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार नयाँ घर बनाउने काम निकै कम भएकाले माग घटेको हो ।
गाउँपालिकाहरूमा स–साना विकासका काम पनि लामो समयदेखि नभएकाले बालुवा गिट्टीका उद्योगहरू सुस्ताएको दाङका रामप्रसाद पोखरेल बताउँछन् । पोखरेलका अनुसार नेपालमा घर बनाउने प्रवृत्ति घट्दै गएको र विदेशिने लहर बढेकाले मागको अर्को स्रोत पनि सुक्दै गएको छ ।
‘पहिले हाम्रो काम त्यत्तिकै पनि बढी थियो । घर बनाउनेहरू उल्लेख्य थिए । ३/४ वर्षयता विदेश जाने लहर चल्यो । त्यसले समग्र निर्माणको कामलाई प्रभाव पारेको छ’, उनले भने, ‘धेरैले नेपालमा घर बनाउनै चाहँदैनन्, केहीले मात्रै बनाउँछन् । यसका साथै विकास निर्माणको काम पनि हुन सकेको छैन ।’
पछिल्ला दुई/तीन वर्षदेखि निर्माणको काम हुन सकेको छैन । यसले गर्दा पनि क्रसर उद्योगहरूको काम कम हुँदै गएको देखिन्छ ।

उद्योग सञ्चालन मापदण्डको प्रभाव
क्रसर उद्योगहरू बन्द हुनुको अर्को कारण बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ पनि रहेको व्यवसायीहरू बताउँछन् । मापदण्डले राजमार्गको दायाँ–बायाँ क्रसरको दूरी ५०० मिटर टाढा हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक, पुरातात्त्विक, महत्त्वका स्थान तथा सुरक्षा निकाय, अन्तर्राष्ट्रिय सीमा, वन क्षेत्र र घना बस्तीबाट क्रसर उद्योग २ किलोमिटर टाढा हुनुपर्ने व्यवस्था गरिएको छ ।
हेर्नुहोस्, मापदण्ड :

२०७७ सालमा ल्याइएको मापदण्डअनुसार उद्योग राख्न मिल्ने स्थान कतै नरहेको भन्दै उद्योगीहरूले विरोध जनाएका थिए । र, मापदण्ड लागू नगर्न माग गरेका थिए । २०७७ सालको मापदण्डलगत्तै कयौँ उद्योग बन्द भए । अर्थात्, मापदण्ड बाहिर परेका उद्योगहरू स्वतः अवैध भए र बन्द हुन पुगे ।
२०७९ जेठ ६ गते मन्त्रिपरिषद्को बैठकले क्रसर उद्योग सञ्चालनको दुरीसम्बन्धी व्यवस्थालाई संशोधन गरेको थियो । उक्त संशोधन विरुद्ध सर्वोच्चमा रिट दायर भयो र सर्वोच्चले संशोधित मापदण्ड लागू नगर्न आदेश दियो । त्यसपछि बन्द भएका उद्योगहरू अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् ।

अर्बौं राजस्व गुमाउँदै सरकार
आर्थिक वर्ष २०७७/७८ मा क्रसर उद्योगीहरूले १० अर्ब राजस्व बुझाएका थिए । त्यस्तै, आर्थिक वर्ष २०७८/७९ मा यस्ता उद्योगहरूले ८ अर्ब राजस्व बुझाएका थिए । आर्थिक वर्ष २०८०/८१ मा ४ अर्बको हाराहारीमा राजस्व खुम्चिएको नेपाल क्रसर तथा खानी व्यवसायी महासंघले जनाएको छ । यसले पनि क्रसर उद्योगहरूको व्यापार खुम्चिँदै गरेको संकेत मिल्छ ।
व्यवसायीहरू रोडा–बालुवा निर्यातमा रोक लगाइएका कारण पनि समस्या भएको बताउँछन् । वार्षिक रूपमा नेपालका खोलानालाबाट ८/१० करोड घनमिटर माल वस्तु बगेर जाने गरेको नेपाल क्रसर तथा खानी उद्योग महासंघका अध्यक्ष सीताराम न्यौपानेले बताए ।
‘नेपालका नदीहरूबाट ३१ करोड घनमिटर माल वस्तु उत्खनन् गर्न सकिन्छ, जसमा बर्सेनि चुरे पहाडहरूबाट १० करोड घनमिटर बगेर खोलामा थपिने गर्छ । ८/१० करोड घनमिटर अदृश्य तरिकाले बगेर भारततर्फ जाने गरेको छ’, उनले भने, ‘यसको कुनै हिसाब छैन । निर्यात गर्न दिने हो भने वार्षिक २ खर्ब राजस्व सरकारले उठाउन सक्छ । अहिले सरकारले आम्दानीको त्यो हिस्सा गुमाइरहेको छ ।’
नेपालको सम्पूर्ण निर्माण तथा विकासको कामका लागि करिब ४ करोड घनमिटर माल वस्तु खपत हुने गरेको महासंघको हिसाब छ । अहिले देशको वास्तविक अर्थचित्र डरलाग्दो रहेको अर्थविज्ञ डा. चन्द्रमणि अधिकारी बताउँछन् । सरकारको ढुकुटीमा जम्मा हुने आम्दानीभन्दा बढी चालू खर्च पुगिसकेको र राज्य ऋण तथा अनुदानमा निर्भर हुनुपर्ने अवस्थामा पुगेको उनको भनाइ छ ।
‘अहिले अर्थतन्त्रको वास्तविक अवस्था लुकाइएको छ । अर्थात्, फेस म्यापिङ गरिएको छ । उद्योगहरूको अवस्था त्यस्तै छ । अधिकांश उद्योगको उत्पादन र खपत आधाभन्दा बढी खुम्चिसकेको छ । कतिपय उद्योगहरू बन्द नै भइसकेका छन् भने कतिपय बन्द हुने अवस्थामा छन् । यी अवस्थाहरूले के देखाउँछ भने देशमा रोजगारीको अवसर गुमिरहेको छ । लगानी सुरक्षित छैन, जसले गर्दा हाम्रो उत्पादकत्व बढाउने जनशक्ति बाहिर पलायन भइरहेको छ’, डा. अधिकारीले भने ।
पढ्नुहोस्, थप विशेष स्टोरी :
इम्बोस्ड प्लेटको कहानी: ठेक्का लागेयता सवा अर्ब घाटा, ९ वर्षपछि उजुरी अनुगमनमा राख्दै काम फुक्का
बुटवल–नारायणगढ सडकको दुर्दशा: दिनकै हजारौं यात्रुलाई सास्ती, भनिसाध्ये छैन स्थानीयको व्यथा
ब्यूरोक्रेसीमा अचम्मको रोग: पटक-पटक नठुँगी हुन्न काम, लत्याइन्छ मन्त्रिपरिषद्कै निर्णय
संविधान संशोधन : कांग्रेस–एमालेको रणनीतिक चाल मात्रै कि तयारी पनि ?
घरजग्गाको मन्दीले अर्थतन्त्रमा भयंकर डेडलक: व्यवसायीले ज्यान गुमाउने, सरकारले राजस्व !
घरजग्गाको मन्दीले अर्थतन्त्रमा भयंकर डेडलक: व्यवसायीले ज्यान गुमाउने, सरकारले राजस्व !
मन्दीको मारले थिचिँदै छड उद्योग, समग्रमा ५० प्रतिशत पनि छैन बजार माग
प्रहरीमा २८ हजार दरबन्दी थप्ने प्रस्ताव गृहमा अलपत्र– उपत्यकादेखि प्रदेशसम्मै अपुग