०४ साउन २०८३, सोमबार

कोशीका पूर्वसांसद कार्कीलाई निलम्बन गर्ने एमालेको निर्णय गायब !

माघ ११, २०८१
विराटनगर
कोशीका पूर्वसांसद कार्कीलाई निलम्बन गर्ने एमालेको निर्णय गायब !

नेकपा (एमाले)ले कोशी प्रदेशका प्रदेशसभा पूर्वसदस्य विमल कार्कीलाई निलम्बन गर्ने निर्णय लुकाएको छ । गत पुस २७ गते विराटनगरमा बसेको एमाले प्रदेश समितिको बैठकले नेता कार्कीलाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको थियो । 

तर, एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले जारी गरेको परिपत्रमा भने कार्कीमाथि कारबाहीको कुरा उल्लेख छैन ।

अध्यक्ष खतिवडाले माघ ५ गते जारी गरेको अन्तर कमिटी निर्देशनमा कार्कीलाई कारबाही गरिएको विषय उल्लेख गरेका छैन । १२ पृष्ठको अन्तरपार्टी निर्देशनमा अन्य विषय भए पनि कार्कीमाथिको कारवाही कतै पनि उल्लेख नगरिएको नेताहरूले बताएका छन् ।  

कारबाहीले पार्टीभित्र असर पुग्ने देखिएपछि निर्णय अहिले लुकाएको एमालेका एक नेताले बताए । ‘एमालेभित्र कारबाहीको डन्डा बजाउँदा पार्टीभित्र असन्तुष्ट हुनेको संख्या धेरै देखियो,’ ती नेताले भने ‘त्यही भएर विमलजीलाई गरिएको कारबाही गुपचुप राखिएको होला ।’ 

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला पार्टी हितविपरीत क्रियाकलापबारे पूर्वसांसद कार्कीले आलोचना गर्दै आएका थिए । मीनबहादुर गुरुङबाट जग्गा दान लिने निर्णयको उनले आलोचना गरेका थिए । यस्तै, पार्टीका  नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथि गरिएको कारवाहीको पनि उनले विरोध गर्दै आएका थिए ।

गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा असन्तुष्ट कार्कीले विरोध गरेपछि एमाले प्रदेश कमिटीले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएको र तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै उनलाई प्रदेश कमिटीले पदबाट ६ महिनाका लागि निलम्बन गरेको थियो । 

कारबाहीको औपचारिक जानकारी आफूले नपाएको कार्कीले बताए। बैठक बसेको २ साता बितिसक्दा पनि निलम्बन गरिएको विषय मिडियाबाट मात्रै आफूले थाहा पाएको उनले बताए । पार्टीको औपचारिक पत्र नआएको र नेताहरूले पनि त्यसबारे केही नबताएको उनको भनाइ छ ।

एमालेका नेताहरूले अहिले भने कार्कीलाई कारबाही गर्ने निर्णय नै नगरेको दाबी गर्न थालेका छन् । 

पार्टीको पदाधिकारी लेबलमा कार्कीबारे छलफल भए पनि कारवाहीको निर्णय नै नभएको एमाले प्रदेश कमिटीका प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले दाबी गरे । 
तर, प्रदेश कमिटीका उपाध्यक्ष टीका चेम्जोङले भने निलम्बन गर्ने निर्णय भएको बताए । प्रदेश कमिटीको बैठकले निलम्बन गर्ने निर्णय गरेको दावी गर्दैै उनले परिपत्रमा कसरी छुट्यो भन्ने थाहा नभएको बताए । कार्कीलाई निलम्बनपछि पार्टीले पत्र दिनुपर्नेमा किन नदिएको हो भन्ने विषयमा कार्यालय सचिवलाई सोध्नुपर्ने उनको भनाइ छ । 

एमाले प्रदेश कार्यालय सचिव नरेन्द्र बरालले भने कार्कीलाई निलम्बनको पत्र पठाइसकेको बताएका छन् । ‘हामीले पत्र पठाएका थियौं, किन पुगेन बुझ्छौं,’ उनले भने । 

गत मंसिर १६ गते एमाले कोशीले कार्कीलाई तीन दिने स्पष्टीकरण सोधेको थियो । कार्कीले ढिलो गरेर स्पष्टीकरणको जवाफ फर्काएका थिए । पार्टीले कार्कीसहित अन्य नेतालाई पनि स्पष्टिकरण सोधेकोमा उनीहरूले गल्ती स्वीकार गरेकोले कारबाही नगरेको अध्यक्ष खतिवडाले जानकारी दिएका थिए  । 

तर, कार्कीले स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको, ढिलोगरी जवाफ पठाएको र गल्ती पनि स्वीकार नगरेकोले कारबाही गरेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्