०९ साउन २०८३, शनिबार

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रदेश प्रमुखलाई बेवास्ता !

फागुन २४, २०८१
सुर्खेत
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रदेश प्रमुखलाई बेवास्ता !

मध्यपश्चिम विश्वविद्यालय (एमयू)को तेस्रो दीक्षान्त समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीलाई पनि निमन्त्रणा गरिएको थियो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबार आयोजित समारोहमा सहभागी हुन प्रदेश प्रमुख जोशी पुगेका थिए । 

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी  थिए । तर, कार्यक्रममा प्रदेश प्रमुखलाई अतिथिका रूपमा आसन ग्रहणसमेत गराइएन। फलस्वरूप कार्यक्रम शुरू भएलगत्तै प्रदेश प्रमुख जोशी कार्यक्रमस्थलबाट फर्किएका थिए।

प्रदेश प्रमुख कार्यक्रमस्थलबाट फर्किए पनि आयोजकले कुनै चासो राखेको थिएन । 

कर्णाली प्रदेशको वरीयताक्रमअनुसार प्रदेश प्रमुख सबैभन्दा माथि हुन्छन् । त्यसपछि मुख्यमन्त्री, उच्च अदालतका प्रमुख न्यायाधीशलगायत अन्य उच्च पदाधिकारीहरू हुन्छन् । 

कार्यक्रममा प्रदेश प्रमुखको नामसमेत उच्चारण नगरिएको कारण अपमानित महसुस गर्दै उनी फर्किएका थिए। 'प्रदेश प्रमुखज्यूलाई कार्यक्रममा आमन्त्रण गरिएको थियो। उहाँ सहभागी पनि हुनुभयो। तर, उहाँको नामसमेत उच्चारण नभएपछि त्यहाँ बसिरहन उचित ठान्नुभएन । उहाँले अपमानित महसुस गर्नुभयो, त्यसैले फर्किनुभयो,' प्रदेश प्रमुखका एक स्वकीय सचिवले भने ।

यसबारे नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले पनि असन्तुष्टि जनाएका छन् । प्रदेश प्रमुखलाई उचित सम्मान गर्नुपर्नेमा विश्वविद्यालयले अपमान गरेको उनले टिप्पणी गरे । 'उहाँहरू (विश्वविद्यालयका पदाधिकारी) बौद्धिक वर्गका व्यक्ति हुनुहुन्छ। तर, प्रदेश प्रमुखलाई देख्दादेख्दै उहाँको मर्यादा भुल्ने व्यवहार गलत हो,' उनले भने, 'उहाँको अपमान भएको महसुस मैले पनि गरेँ। बौद्धिक व्यक्तिहरूबाट यस्तो व्यवहार हुनु राम्रो संकेत होइन ।'

मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डा. शोभाखर कँडेलले प्रदेश प्रमुखलाई ‘गेस्ट अफ अनर’का रूपमा मात्र बोलाइएको स्पष्ट गरे। उनले प्रदेश प्रमुखलाई एमयूले निम्तो दिएको स्वीकार्दै भने, 'दीक्षान्त समारोह भएकाले उहाँलाई अतिथिको आसन ग्रहण गराइएको थिएन। विश्वविद्यालयलाई जनता, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिसँग जोड्ने उद्देश्यले मात्रै उहाँहरूलाई निमन्त्रणा गरिएको हो।'

salt training

कमेन्ट गर्नुहोस्