
फोहोर व्यवस्थापन पोखरा महानगरपालिकाको मुख्य चुनौती हो । प्रशोधन केन्द्र स्थापना गरी फोहोरको समस्या समाधान गर्ने महानगरको प्रतिबद्धता अझै कार्यान्वयन हुन सकेको छैन । तर, यहीबीच फोहोरबाट रोजगारी सिर्जना गर्ने हिसाबले महानगरले अर्को योजना अघि सारेको छ ।
महानगरले ‘सर्कुलर इकोनोमी’को अवधारणालाई पछ्याउँदै कोरियाली सहयोग नियोग (कोइका) र यूएनडीपीको सहयोगमा पोखरा-९ प्रदर्शनी केन्द्रमा यो परियोजना सञ्चालन गर्ने योजना अघि बढाएको छ ।
रिसाइक्लिङ र अपसाइक्लिङमार्फत् हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसिहत परियोजनााको सोमबार शिलान्यास गरिएको छ ।
सर्कुलर इकोनोमीको अवधारणले पुनः प्रयोगको अभ्यासलाई प्रोत्साहन गर्छ । बढ्दै गएको प्लाष्टिक प्रदूषणलाई न्यूनिकरण गर्नका लगि विश्वमा यो अवधारण सही सावित भएको छ । यही अवधारणलाई पछ्याउँदै ठूलाठूला निजी कम्पनी स्थापना समेत भएका छन् ।
नेपालमा पनि पुनः प्रयोगलाई प्रोत्साहन गर्दै सानादेखि ठूला उद्यमीले योगदान गरिरहेका छन् । जसले प्लाष्टिकजन्य फोहोरलाई मोहोरमा बदलिरहेका छन् ।
प्लाष्टिकको पुनः प्रयोग गरेर श्रृंगार सामान बनाउने गरेकी दिगो विकास उद्यमी सिलसिला आचार्य यही योगदानका लागि बीबीसीको एक सय महिलामा परिन् । पोखरा लगायत देशका विभिन्न स्थानको फोहोरलाई मोहोरमा परिणत गरिरहेको छ, पोखराकै अर्को संस्था हिमालय लाइफ प्लाष्टिक प्रालिले । साना उद्यमी र निजी तवरबाट दिगो विकास उद्यमको अवधारण अघि सरेपनि नीतिगत रूपमा यसले प्राथमिकता पाएको छैन । तर, यसमा पोखरा महानगरले प्रयास थालेको छ ।
महानगरको यो योजनाले रोजगारी र फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने बताउँछन् वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मरासिनी । ‘दिगो फोहोरमैला व्यवस्थापन र रोजगारीमा सहयोग पुर्याउँछ भन्ने विश्वास लिएका छौं’, वडाध्यक्ष मरासिनीलेले भने ।
यो योजनाले हरित रोजगारी सिर्जना गर्नेबाहेक युवाहरूसँग समन्वय गरेर नयाँ अवधारण र सोचलाई पनि अघि सार्नेछ । यो परियोजना आशा र नयाँ सोच पनि रहेको कोइकाकी डेपुटी कन्ट्री डिरेक्टर योनहुले बताइन् ।
‘पोखरामा दिगो विकासका लागि यो योजना नयाँ युगको शुरूआत हो । यो दिगो विकास मात्र नभई नयाँ आशा र नवीनताको अवसर हुनेछ’, उनले भनिन् । वातावरण प्रदूषणको चुनौतीलाई समाधान गर्न यसले सहयोग पुर्याउने उनको भनाइ छ ।
‘वातावरण प्रदूषण आजको दिनमा हामीले भोगिरहेको चुनौती हो । फोहोर घटाउने र व्यवस्थापन गर्दै रोजगारी सिर्जना गर्नु अवसर हुन्छ । हामीले सृजनात्मक सोचलाई अघि सार्छौं । र, दिगो विकासका लागि आजको आवश्यकता पर्यावरण व्यवस्थापनमा भूमिका खेल्छौं’, योनहुले भनिन् ।
यूएनडीपीकी नेपाल प्रतिनिधि क्यूकोले यो प्रोजेक्ट यूनएनडीपीका लागि समेत महत्त्वपूर्ण रहेको बताइन् । फोहोर व्यवस्थापन जटिल समस्या रहेको बताउँदै यसमा विभिन्न क्षेत्रको सहयोग आवश्यक पर्ने उनले सुनाइन्।
‘यो यूएनडीपीका लागि महत्त्वपूर्ण प्रोजेक्ट हो । शहरी क्षेत्रमा फोहोर व्यवस्थापन जटिल छ । विविध क्षेत्रको साथ आवश्यक पर्छ’, क्यूकोले भनिन् । यसमा पोखराको सफलताले अन्यलाई पनि सिकाउनेमा आशावादी रहेको उनको भनाइ छ ।
आज शिलान्यास भएको भवन १८ महिनामा सक्ने लक्ष्य छ । योजना सञ्चालनमा आएपछि यसबाट तीन हजारले रोजगारी प्राप्त गर्ने छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो योजनाले पुन: प्रयोगलाई प्रोत्साहन गर्नेमा विश्वस्त रहेको बताए ।
‘पोखराका सबै वडाबाट छानिएका तीन हजारले रोजगार पाउँछन् । पुन: प्रयोग सिक्छन् । आ-आफ्नो स्थानबाट प्रयोग र बिक्रीमा प्रोत्साहन मिल्छ । फोहोरको पुनः प्रयोग कसरी गर्ने भनेर देखाउन यो स्थल अत्याधुनिक सो केश गर्ने ठाउँ हुन्छ’, महानगर प्रमुख आचार्यले भने ।