०३ साउन २०८३, आइतबार

सुर्खेतमा बढ्दै लागुऔषध कारोबारी र सेवनकर्ता, नियन्त्रण चुनौतीपूर्ण

नगरप्रमुख ढकाल भन्छिन्- नगरपालिका एक्लैले नियन्त्रण गर्न सक्दैन, सबै मिलेर हातेमालो गर्नुपर्छ
चैत २१, २०८१
सुर्खेत
सुर्खेतमा बढ्दै लागुऔषध कारोबारी र सेवनकर्ता, नियन्त्रण चुनौतीपूर्ण
तस्वीर : पृष्ठभूमिमा जिल्ला प्रहरी कार्यालय र अगाडि बायाँबाट क्रमश: वीरेन्द्रनगर नगरपलिका प्रमुख मोहनमाया ढकाल, डीएसपी विरेन्द्रविर विश्वकर्मा र भैरव युवा सशक्तिकरण केन्द्रका सञ्चालक ललित भट्टराई ।

गत साउन ६ गते दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित हुलाक टोलमा कोठाभाडा लिई बस्ने नेपालगन्ज उपमहानगरपालिका–१५ हालविनका अन्दाजी २७ वर्षीय ‘वुद्धपथ ए’ (नाम परिवर्तन)लाई २५ ग्राम २९० मिलिग्राम लागु औषधसहित प्रहरीले नियन्त्रणमा लियो । प्रहरीले उनलाई कानून बमोजिम कारवाही गर्न भनेर सुर्खेत जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यो । प्रहरीको प्रतिवेदनअनुसार उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइदियो । उनी लागुऔषध कारोबारी थिए । उनले भारतको रुपैडियालगायत स्थानबाट लागुऔषध सुर्खेतमा ल्याउने र काराबार गर्ने गर्दथे । यसअघि पनि उनी प्रहरीको हिरासतमा बसिसकेका थिए ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ त्रिभुवनचोक, (हाल विरेन्द्रनगर–१०) बस्ने अन्दाजी २९ वर्षकी नेपालगन्ज २९ (नाम परिवर्तन)लाई प्रहरीले रंगशाला क्षेत्रबाट गत पुस ७ गते पक्राउ गरेको थियो । खान तलासी गर्दा प्रहरीले उनको साथबाट ९ ग्राम २१० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो । उनी पनि लागुऔषध कारोबारी थिइन् । यसअघि पनि उनलाई प्रहरीले ब्राउनसुगरसहित बारम्बार नियन्त्रणमा लिएको थियो । यसपटक प्रहरीले ठूलो मात्रामा ब्राउनसुगरसहित पक्राउ गरेको भन्दै जिल्ला अदालतमा आवश्यक कारवाहीका लागि भन्दै मुद्दा दर्ता गर्‍यो । जिल्ला अदालतले उनलाई हाल पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको छ । 

यी दुई उदाहरण मात्रै हुन् । कर्णाली प्रदेशको सुर्खेतमा लागुऔषध प्रयोगकर्ता र काराबारीको संख्या निरन्तर बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार दैनिक कम्तिमा दुईदेखि तीन जनासम्मलाई लागुऔषधसम्बन्धी मुद्दाअन्तर्गत नियन्त्रणमा लिइरहेको हो । यसका अलावा जिल्ला प्रहरी कार्यालयले दैनिक कम्तिमा एक लागुऔषधसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गराइरहेको हो ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगमा सबैभन्दा बढी लागुऔषध सेवनकर्ताको रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी विरेन्द्रविर विश्वकर्माले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरको वडा नम्बर–४ लागुऔषधको हवको रूपमा देखा परेको छ भने योबाहेक नगरपालिकाका वडा नं. १०, ११ र १२ नम्बर पनि अति प्रभावित क्षेत्र हो ।

चालु आर्थिक वर्षमा वडा नम्बर ४ बाट १२ जना, ११ बाट ११ जना, १२ बाट ८ जना, १०बाट ७ जना पक्राउ परेका छन् । यस्तै, वडा नम्बर ८ बाट ४ जना, ६ बाट ४ जना, ३ बाट ४ जना, ५ बाट ३ जना, ७ बाट ३ जना, १ बाट र वडा नम्बर १४ बाट एक एक जना पक्राउ परेका छन् ।

चालु आर्थिक वर्षमा १८ वर्षमुनिका एक जना, १८ देखि २५ वर्षसम्मका ४७ जना, २५ देखि ३५ वर्षसम्मका ४३ जना पक्राउ पर्दा ३५ देखि ४५ वर्षसम्म १९, ४५ देखि ५५ सम्म एक जना र ६५ वर्षमाथिका एक जनागरी ११२ जना पक्राउ परेका हुन् ।

उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा लागुऔषधसम्बन्धी ८८ मुद्दा दर्ता भएकोमा १४८ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०/०८१ मा ७४ मुद्दामा १०९ जना पक्राउ परेका थिए भने चालु आर्थिक वर्षको हालसम्म ७३ मुद्दा दर्ता भइसकेका छन् । यी मुद्दामा ११२ जना पक्राउ पर्दा तीमध्ये सात जना महिला र एक बालबालिका रहेको जिल्ला प्रहरीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

वीरेन्द्रनगरमा लागु औषधमध्ये सबैभन्दा बढी प्रयोगकर्ता ब्राउनसुगरका रहेका छन् । त्यसका अलावा मेडिकलमा पाइने नाईट्राजन, ट्रामाडोल लिने र सेवन गर्नेहरूको संख्या बढी रहेको पाइएको हो ।

डीएसपी विश्वकर्माका अनुसार वीरेन्द्रनगरमा गाँजा सेवनकर्ता भने कम मात्रामा भेटिने गरेका छन् । प्रहरी अनुसन्धानका क्रममा लागुऔषध भारतको रुपडिया र बर्दियाको सीमामा पर्ने बलरामपुरबाट सुर्खेत भित्रिने गरेको पाइएको छ ।

‘उहाँहरूसँग सोध्दा ती स्थानमा ३५ सय रुपैयाँमा एक ग्राम ब्राउनसुगर पाइने रहेछ । यहाँ उनीहरूले ३० देखि ३५ पोका बनाउँदा रहेछन् । ती पोकाको मूल्य कम्तिमा एक हजारदेखि १५ सयसम्म लिने रहेछन् ।’ डीएसपी विश्वकर्माले भने, ‘लागुऔषध सुर्खेत ल्याउन सजिलो र बढी रुपैंया पाउने लोभका कारण पनि युवाहरू यो जोखिममा पर्दै गइरहेको पाइएको हो ।’

डीएसपी विश्वकर्माले सुर्खेतमा लागुऔषध नियन्त्रण गर्ने हो भने फार्मेसीको सरोकारवाला निकायले निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिए । ‘हामीले अहिलेसम्म दुईवटा फार्मेसीलाई मुद्दा चलाइरहेका छौं,’ उनले भने, ‘एकवटा फार्मेसीबाट मात्रै हामीले ४८०० ओटा ट्रामाडोलका गोली भेटाएका थियौं । त्यो पनि हामीलाई सूचना आएका कारण छापा मारेर नियन्त्रणमा लियौं । हामीलाई सबै फार्मेसीमा छापा मार्ने अधिकार नभएका कारण समस्या भएको हो । सरोकारवाला निकायले अनुगमन गरिदिएको खण्डमा फार्मेसीबाट अवैध रूपमावितरीत हुने ती औषधीलाई नियन्त्रण गर्न सकिने र त्यसबाट लागुऔषध सेवनकर्ताको संख्यालाई कम गर्न सकिन्छ ।’

उनले लागुऔषध नियन्त्रण गर्ने जिम्मा प्रहरीको मात्रै नभएको बताउँदै सबैले यसबारे गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको बताए ।
यद्यपि प्रहरीले भने जनचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको उनको भनाइ थियो ।

सुधार केन्द्रमा १८० बढी लागुऔषध सेवनकर्ता
यता, वीरेन्द्रनगरमा रहेका विभिन्न सुधार केन्द्रमा अहिले १८० भन्दा बढी लागुऔषध सेवनकर्ता रहेका छन् । भैरव युवा शशक्तिकरण केन्द्रका सञ्चालक ललित भट्टराईले दैनिकजसो लागु पर्दाथ सेवनकर्ताहरू आउने जाने गरिरहेको बताए । ‘१८ वर्षदेखि ४५ वर्षसम्मका युवाहरू यहाँ आइरहेका छन् । यो संख्याको दश प्रतिशत युवाहरू बारम्बार आउने गरेका छन्,’ उनले भने, ‘अहिले उपचार सशुल्क भएका कारण उपचार पाउनुपर्ने मान्छेले उपचार पाइरहेका छैनन् ।

सबैसँग पैसा नभएका कारण समस्या भएको छ । संविधानमा स्वास्थ्य अधिकार लेखिएको तर, कार्यान्वयन भएको छैन । उसले उपचार नपाएको खण्डमा ऊसँग ड्रग्स खाने पैसा पनि हुँदैन ।  त्यसपछि ऊ सामाजिक अपराधमा लाग्ने, अरूलाई सिकाउने र अरू दश जना समूहमा ल्याउने काममा लाग्छ ।’

के गर्दैछ वीरेन्द्रनगर ?

वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले  जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गरेर हरेक वडामा, विद्यालयमा दुव्र्यसनीविरुद्ध जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको बताइन् ।

‘सुर्खेतको वीरेन्द्रनगरमा स्थायीभन्दा पनि अस्थायी जनसंख्या बढी छ । राजधानी शहर भएका कारण यहाँ वीरेन्द्रनगरलाई ट्रान्जिट बनाई अन्य जिल्लामा आउने जानेहरूको संख्या पनि धेरै हुन्छ । त्यसलाई हामी नगरपालिका एक्लैले मात्रै नियन्त्रण गर्न सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘सुरक्षित शहर निर्माण गर्ने हाम्रो सोच छ । त्यो सोचलाई पूर्ण गर्न सबैको सहकार्य गर्न आवश्यक छ । कसैले लागुऔषधको कारोबार गर्दैछ वा सेवन गरिरहेको छ भने सम्बन्धित निकायलाई खबर गरिदिएको खण्डमा यसलाई नियन्त्रण गर्न सकिन्छ । यसमा सबै मिलेर हातेमालो गर्न जरुरी छ ।’

salt training

कमेन्ट गर्नुहोस्