
भलाम, कास्की ११ मंसिर - कास्कीको पर्यटकीय नगरी पोखराबाट उत्तरमा रहेको भलाम गाउँमा धानको दाँई लगाउने चटारो छ ।
राजनीतिक दलका नेताहरु घरदैलोमा आइरहेको समयमा स्थानीय किसानहरु भने खेतमा पराल स्याहार्न व्यस्त देखिन्छन् ।
कास्की क्षेत्र नम्बर २ मा पर्ने यस ठाउँका मतदाताहरु पोखरा नजिकै रहेपनि आफूहरुको गाउँ बत्तीमुनीको अध्याँरो जस्तो रहेको गुनासो गर्छन् ।
यसअघि कास्की १ मा पर्ने यो क्षेत्रबाट अघिल्लो चुनावमा नेपाली कांग्रेस विजयी भएको थियो । निर्वाचन क्षेत्र निर्धारण गर्दा यो क्षेत्र २ नम्बरमा गाभिन पुग्यो ।
वामपन्थी गठबन्धनका तर्फबाट कास्की २ मा नेकपा एमालेका रवीन्द्र अधिकारी चुनावी मैदानमा छन् । २०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव जित्ने एमालेका सीमित नेतामा पर्छन् अधिकारी । प्रदेश सभातर्फ क बाट एमालेका कृष्ण थापा र ख बाट माओवादीका राजकाजी गुरुङ प्रतिष्पर्धामा छन् ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट कास्की २ मा नेपाली कांग्रेसका देवराज चालिसे पनि यही क्षेत्रबाट चुनावी मैदानमा छन् । प्रदेश सभातर्फ गुरु बराल र बिन्दु थापा चुनावी मैदानमा छन् । चुनावको मिति नजिकिँदै जादा उम्मेदवारहरुले प्रचार प्रसारलाई तीब्र बनाएका छन् ।
चुनाव जित्नेमा दुवै उम्मेदवार ढुक्क जस्तै देखिएका छन् । स्थानीय तहको चुनावको नतिजालाई आधार मान्ने हो भने कास्कीमा बामपन्थी गठबन्धन हावी देखिन्छ । तर प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा स्थानीय तहको चुनवाकै नतिजाले काम गर्छ भन्ने एकिन हुँदैन ।
आर्थिक समृद्धिको लागि मलाइ भोटः अधिकारी
फेरिपनि तपाईलाई किन भोट दिने भन्ने लोकान्तरको प्रश्नमा रवीन्द्र अधिककारीले भने, ‘सगरमाथाको शीर जस्तै अटल र स्थिर सरकार निर्माणका लागि वामपन्थी गठबन्धनलाई बहुमत दिन्छन् ।’ यसपटक चुनाव जितेभने कास्कीबाट रवीन्द्र अधिकारीले ह्याट्रिक गर्ने छन् ।
राजनीतिक परिवर्तनपछि जनता आर्थिक समृद्धिको पक्षमा रहेको र आर्थिक समृद्धिको एजेण्डालाई राष्ट्रिय बहसमा ल्याउन सक्ने नेतृत्व उनीहरुको रोजाइमा पर्ने अधिकारीको दावी छ ।
पटक पटक चुनाव जितेपनि संविधानसभाको ८ बर्षे कार्यकालमा उनी मन्त्री बन्न भने पाएनन् ।
‘पोखरा अन्तराष्ट्रिय विमानस्थलको कामलाई अगाडी बढायौं । जोमसोम कोराला, पोखरा बाग्लुड वेनी तथा भीमाद कावासोती हुँदै भैसालोटन सडकसम्म निर्माणको काम अगाडी बढायौं, उनले थपे, ‘कालीगण्डकी करिडोरको ट्रयाक सम्पन्न गर्ने काम गर्यौ’ चारबर्ष संसदको विकास समितिको नेतृत्व गरेका अधिकारीले भने ।
‘यी काम पूरा गर्न कास्केली जनताले मलाइ फेरि एकपटक भोट दिनुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।’
प्रदेश सभातर्फ उम्मेदवार रहेका माओवादीका राजकाजी गुरुङले पोखराको विकासका लागि वामपन्थी गठबन्धन कास्केली जनताको रोजाइ रहेको दावी गरे । ‘कास्कीको विकासको मामिलामा हामीहरुको साझा धारणा र दृष्टिकोण छ’ रवीन्द्रसंगै घरदैलोमा हिडिरहेका गुरुङले लोकान्तरसंग भने ।
के भन्छन् मतदाता ?
कुनै दलमा नलागेका मतदाताहरु भने राजनीतिक दलका नेताहरुसंग सन्तुष्ट छैनन् । भोट माग्ने समयमा गाउँमा आउने र चुनाव जितेर गएपछि नफर्किने गरेको मतदाताको गुनासो छ ।
‘जो पनि भोट माग्न आउँदा नमस्कार गर्छन्, पछि नचिने झैं गरेर हिड्छन् । यसपटक जनताको समस्या बुझ्नेलाई भोट दिने हो’ खेतमा काम गर्दै गर्दा भेटिएकी अप्सरा केसीले लोकान्तरसँग भनिन् ।
निबृत्त शिक्षक फणिन्द्र शर्मा पोखरा नजिकैको गाउँ भएरपनि आफूहरु विकासबाट पछि परेको बताउँछन् । ‘विकास हुन सकेको छैन, बाटो, खानेपानी, सिंचाइ लगायतका समस्या छन्’ शर्माले भने । कृषक रवीलाल विक पनि यसपटक विकास गर्ने नेतालाई भोट दिने बताउँछन् ।
पहिलो संविधानसभा चुनावमा यो क्षेत्रबाट माओवादी र दोस्रोमा कांग्रेसले चुनाव जितेको थियो ।
‘पोखराबाट यति नजिक भएपनि यो ठाउँ दुर्गम जस्तै छ, पुल नहुँदा बर्खामा पानी आउँदा बच्चालाई स्कुल पठाउन सक्दैनौ’ स्थानीय सरिता केसीले भनिन्, ‘जसले जितेर गएपनि विगतमा विकास गर्ने नेता पाएनौ ।’
चुनावी घरदैलो कार्यक्रममा रवीन्द्रले मतदातासामु स्थानीय जनताका समस्याबारे जिज्ञासा राख्छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष कार्यक्रम र सांसद विकास कोषको खर्चको पारदर्शिता कायम गरेका अधिकारी आफूले चुनाव जितेमा यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने दावी गर्छन् ।