
सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने बाबियाचौर–विद्यापुर सडकखण्ड अन्तर्गत १३ किलोमिटर सडक खण्डमा रहेका ८६४ वटा रुख कटान हुने भएका छन् ।
नेपाल सरकारको मन्त्रिपरिषद्को फागुन २६ गते बसेको बैठकले उक्त क्षेत्रमा पर्ने राष्ट्रिय वन क्षेत्र अन्तर्गत सडक खण्डमा रहेका रुख कटान गर्ने निर्णय गरेको भएपनि त्यसक्षेत्रका नागरिक भने सडक समयमै बन्नेमा अझै आश्वस्त हुन सकेका छैनन् ।
मन्त्रिपरिषद्को निर्णयपश्चात् प्रदेश सरकारको भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास निर्देशनालयले फागुन १९ गते जग्गा सट्टाभर्ना सम्बन्धी पन्ध्र दिने सार्वजनिक सूचना समेत जारी गरेको थियो ।
बराहताल गाउँपालिका-७ का स्थानीय रमेश शाहीले सडक निर्माण पुरा हुने छाँट नदेखिएको बताए ।
‘सडक निर्माण कम्पनीले कछुवा गतिमा काम गरिरहेको अवस्था छ । यही अवस्थामा कसरी सडक निर्माण पुरा हुन्छ होला ? मलाई विश्वास नै छैन’, शाही भन्छन्, ‘हिउँदमा धुलो खानु, वर्षायाममा हिलोमा डुबुल्की लगाउनु पश्चिम सुर्खेतका नागरिकको दिनचर्या नै हो । यो समस्या समाधान कहिले हुन्छ, कसैलाई पनि थाहा छैन ।’
उनी मात्रै होइनन्, पञ्चपुरी नगरपालिका-३ की कल्पना विकसमेत सडक समयमै निर्माण हुनेमा आशावादी छैनन् ।
‘आजदेखि बन्न लागेको होइन यो सडक । कैयौं दशक बितिसके । यो भन्दा पछि बनेका सडक कालोपत्रे भइसकेका छन् तर यो सडकको अवस्था भने दिनहुँ खस्किँदै गएको छ’, विक भन्छिन्, ‘अब रुख काट्ने अनुमति पाएको छ । जग्गा सट्टा भर्नाका लागि सूचना पनि जारी भइसकेको सुन्नमा आएको छ । त्यो खबर सुनेर एकछिन खुशी हुनु बाहेक सडक बन्ने कुनै लक्षण देखिएको छैन । सांसद नै ठेकेदार भएपछि उनलाई कसले निर्देशन दिने ? कसले उनलाई लगाम लगाउने ? समस्या छ ।’
उनले निर्माण कम्पनीले तत्काल सडक निर्माणलाई तीव्रता दिएर काम सम्पन्न गरेको भए पश्चिम सुर्खेतका नागरिकको जीवनशैलीमा व्यापक परिवर्तन आउने बताइन् ।

बाबियाचौर–खम्बागाडे सडक खण्ड अन्तर्गतको १२ किलोमिटर सडक कालोपत्रे गर्न संघीय सांसद दिक्पालकुमार शाहीको निर्माण कम्पनीले ४२ करोड ४७ लाख ६१ हजारमा पूर्वाधार विकास कार्यालय सुर्खेतसँग २०७९ असार १४ गते सम्झौता गरेको थियो । उक्त सडक निर्माणको थप गरेको म्याद भने आउँदो असार १२ गतेसम्म छ ।
हालसम्म उक्त कम्पनीको २० प्रतिशत भौतिक प्रगति र १७.९ प्रतिशत वित्तीय प्रगति गरेको जेभीले पेस्कीबाहेक सात करोड ६० लाख ७४ हजार लिइसकेको छ । अनक/जयदेवि जेभीको ढिलासुस्तीले यो सडक निर्माणमा ढिलाइ भइरहेको हो ।
‘रुख नभएका स्थानमा निर्माण कम्पनीले धमाधम काम गरिदिएको भए स्थानीय नागरिक समयमै सडक निर्माण हुनेमा आशावादी हुने थिए’, पूर्वाधार निर्देशनालयका निमित्त निर्देशक सूर्य शाहीले भने, ‘अब रुख कटानको आदेश आइसकेको छ । निर्माण कम्पनीले यो वा त्यो बहाना गर्न मिल्दैन । छिटो निर्माण कार्य सम्पन्न गर्न हामीले बारम्बार निर्देशन दिइरहेको अवस्था छ ।’
निर्माण कम्पनीका सञ्चालक सन्देश शाहीले बड्डीचौर सडक खण्डको आधा काम असार मसान्तभित्र गरिसक्ने दाबी गरे । ‘त्यो सडक खण्डमा अहिले काम सुरू गराएका छौं । अब रुख कटानको आदेश आइसकेको छ । कामलाई तीव्रता दिन्छौं’, उनले भने, ‘आर्थिक मन्दीको मारमा हामी परेका कारण केही ढिलाइ भएको हो । अब काममा समस्या नहोला ।’