
राजावादीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा गत चैत १५ गते गरेको प्रदर्शनका ‘जनकमान्डर’ दुर्गा प्रसाईं पक्राउ परेसँगै प्रहरीले अनुसन्धान प्रक्रियालाई तीव्र बनाएको छ ।
प्रहरीले मुख्य योजनाकारका रूपमा प्रसाईंलाई देखाएर मिसिल तयार गर्दैछ । यद्यपि, प्रसाईंको बयान भने लिइएको छैन । प्रहरीले यसअघि पक्राउ परेका राप्रपा महामन्त्री धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितको बयान लिइसकेको छ । अब प्रसाईंको बयान लगिनेछ ।
प्रसाईंले बयानमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोले भने के हुन्छ ? जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकृत भन्छन्- सरकारी वकिल कार्यालयसँग परामर्श लिएर अघि बढ्छौं ।
प्रसाईंले बयानमा ज्ञानेन्द्रलाई पोलेको अवस्थामा उनलाई प्रतिवादी बनाउने वा नबनाउने भन्ने सम्बन्धमा सरकारी वकिलको कार्यालयसँग राय सल्लाह लिने ती अधिकृत बताउँछन् ।
‘हामीले प्रसाईंसँग बयान लिन भ्याएका छैनौं । उनले पूर्वराजा शाहको नाम लिए र शाहले नै प्रदर्शन गर्न निर्देशन दिएको बताए भने के गर्ने भनेर सरकारी वकिल कार्यालयसँग राय सल्लाह लिन्छौं’, परिसरका ती अनुसन्धान अधिृकतले भने, ‘प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा अगाडि बढ्छ ।’
प्रदर्शनको अघिल्लो दिन प्रसाईंले निर्मल निवास पुगेर ज्ञानेन्द्रसँग लामो छलफल गरेका थिए । त्यसपछि उनी जनकमान्डर तोकिएका थिए । उनकै नेतृत्वको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भयो भने प्रदर्शनकारीले लगाएको आगोमा परेर एक पत्रकारको मृत्यु भयो ।
तीनकुने क्षेत्रमा विध्वंस मच्चाएर प्रसाईं त्यही दिनै फरार भएका थिए । उनलाई घटनाको १६ दिनपछि झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको थियो ।
संसद्को कानून तथा मानव अधिकार समितिमा ३ दिनअघि गृहमन्त्री रमेश लेखकले प्रसाईं पक्राउ परेको र उनको बयानका आधारमा अरु पनि पक्रिन सक्ने बताएका थिए ।
अहिले प्रसाईंसहित राणा, मिश्रलगायतका आरोपीहरू प्रहरी हिरासतमा छन् । यसमध्ये राणा पनि क्यान्सर पीडित पनि हुन् ।
वैशाख १४ गते भारतमा नियमित उपचारको ‘फलोअप’का लागि जाने उनको ‘सेड्युल’ छ । तर, प्रहरी हिरासतमा रहेका थुनुवालाई विषम परिस्थिति बाहेकको हकमा देश बाहिर पठाउने प्रावधान छैन ।
राणाका परिवारले उनको नियमित उपचारका लागि भारत लैजानुपर्ने जानकारी प्रहरीलाई गराएका छन् । प्रहरीले भने तत्काल यो सम्भव नरहेको जवाफ दिइसकेको छ ।
क्यान्सरका कारण उनी ठोस खानेकुरा खाँदैनन् । पक्राउ पर्नुअघि पनि उनी ‘मिक्स्चर’मा पिसेर तरल बनाइएका खानेकुरा खाँदै आएका थिए । तर, अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका उनले थुनुवालाई उपलब्ध गराइने खानेकुरा खाइरहेका छन् ।
तीनकुनेको अराजक प्रदर्शनमा भएको तोडफोड, आगजनी र व्यक्ति हत्यामा राणाको प्रत्यक्ष संलग्नता नदेखिए पनि उनी मञ्चमा गएर प्रदर्शनकारीलाई उक्साएको र त्यसबाट सिर्जित परिस्थितिबाट स्थिति तनावपूर्ण भएको बुझाइ अनुसन्धान अधिकारीको छ ।
‘राणाको सवालमा अभियोग पुष्टि हुने वा नहुने कुरा तथ्य प्रमाणले देखाउने भयो । हामीले मुद्दा चलाउने सिफारिससहितको मिसिल बुझाउँछौं’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘हाम्रो तथ्य प्रमाणलाई आधार मानेर सरकारी वकिल कार्यालयले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्छ । मुद्दा दर्ता गरिहाले पनि अदालतको आदेशमा भरपर्छ ।’
ती अधिकृतका अनुसार राणा सांसद पनि भएको र स्वास्थ्यको दृष्टिकोणलाई ख्याल गरेर अदालतले तारेखमा छाड्ने सक्ने देखिन्छ ।
एउटै कसुरमा पक्राउ परेर हिरासतमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रका हकमा भने उनले प्रदर्शनकारीलाई उकासेको, विमानस्थलतर्फ इसारा गर्दै ‘अगाडि बढौं’ भन्दै भीडलाई उत्तेजित पारेको लगायतका सामाजिक सञ्जाल र मिडियामा आएको भिडियोलाई प्रहरीले प्रमाणको रूपमा पेस गर्दैछ ।
‘मिश्र र राणामध्ये प्रदर्शनकारीलाई उत्तेजित पार्ने भूमिका मिश्रको देखिन्छ’, अनुसन्धान अधिकृतले भने,‘मिश्रले प्रदर्शन हुनुअघिका दिनमा सामाजिक सञ्जालमा व्यक्त गरेका अभिव्यक्तिलाई पनि प्रमाणको रूपमा पेस गरिन्छ ।’

तीनकुनेको अराजक प्रदर्शनलाई लिएर हाल काठमाडौं प्रहरी परिसरको हिरासतमा प्रसाईंसहित ७४ जना छन् । मिश्र, राणा र प्रसाईंसहित २२ जनाविरुद्ध राज्यविरुद्धका कसुर र संगठित अपराधसम्बन्धी कसुरमा अदालतबाट म्याद थप भएर प्रहरीले बयान लिइरहेको छ ।
दोलखाका प्रेमबहादुर श्रेष्ठ, सफल भन्ने अभिनाश थापा र मकवानपुरका कृष्ण कुमार बस्नेतसहित ५२ जनाविरुद्ध अपराधिक उपद्रव गर्न नहुने कसुरमा प्रहरीले बयान लिइरहेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले पक्राउ परेकामाथि बयान लिने काम भइरहेको बताए । उनले लोकान्तरसँग भने, ‘प्राप्त प्रमाणका आधारमा कसलाई कुन अभियोगमा जोड्ने र कसको भूमिका के थियो भनेर मिहीन रूपमा अनुसन्धान भइरहेको छ । म्याद थप भएका सबैलाई प्रतिवादी बनाएर मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई मिसिल बुझाउँछौं ।’
कसलाई के मुद्दा ?
राज्यविरुद्धको कसुर र संगठित अपराध :
धवल शमशेर राणा, रविन्द्र मिश्र, सुनसरीका सन्तोष चौधरी, झापाका सन्तोष खड्का, रामकुमार धिमाल, रूपन्देहीका गोपाल मल्ल ठकुरी, ललितपुरका पुष्कर खतिवडा, काठमाडौंका पशुपति खड्का, मुनेन्द्र राजभण्डारी, तनहुँका विष्णु पराजुली, जुम्लाका हरिहर चौलागाईं, झापाका दानबहादुर न्यौपाने, देवी प्रसाद संग्रौला, उमेश तामाङ, तारा भन्ने गोपाल तामाङ, सुनसरीका अनिल कुमार थापा, ललितपुरका विष्णुजंग बस्नेत, रूपन्देहीका प्रेम थापामगर, झापाका दीपक खड्का ।
आपराधिक उपद्रव गर्न नहुने कसुर :
दोलखाका प्रेमबहादुर श्रेष्ठ, सफल भन्ने अभिनाश थापा, मकवानपुरका कृष्णबहादुर बस्नेत, रौतहटका उपेन्द्र प्रसाद साह, कैलालीका गणेश प्याकुरेल, चितवनका जिवलाल पुरी, सिन्धुपाल्चोकका गणेशबहादुर गुरुङ, रौतहटका इरफान खान, रुकुम पश्चिमका विकास वली, महोत्तरीका सूर्यदर्शन थापा, काभ्रेका विवेक रखाल, बझाङका निराजन गिरी, काठमाडौंका श्रवण कुमार लामा, गुल्मीकी लिला राना, सुर्खेतका भविन्द्र विसी, धादिङका आशिष तामाङ, रामेछापका स्टन लामा, कालीकोटका मनिषकुमार शाही, खोटाङका राजकुमार राई, भवगती रोक्का, सिन्धुपाल्चोककी निर्मला कार्की, नुवाकोटकी सुशिला कुमाल, सुनसरीकी एलिसा राई, झापाकी सीता देवी राई, काठमाडौंका लोकबहादुर बस्नेत, सिन्धुपाल्चोककी सरिता केसी, दिनेश खड्का, भारतका रवि रञ्जन कुमार, सर्लाहीका एम कुमार सिंह, धनुषाका आशिष कुमार महतो, सिरहाका राधेश्याम यादव, सर्लाहीका गोविन्द राई, रामेछापका सरोज गौतम, अछामका गोकर्ण शाही, नुवाकोटका रमेश राई, ताप्लेजुङका सिसिल बराल, झापाका समिर मगर, संखुवासभाका मुकुन्द दाहाल, रामेछापका केशव बस्नेत, सर्लाहीका अमित साह, बर्दियाका हेमराज थारू, धादिङका दिवस बोगटी क्षेत्री, सुनसरीका सुमन कार्की, सिन्धुपाल्चोकका कुमार तामाङ, काभ्रेकी एनि भन्ने अनिता कुँवर, सिन्धुपाल्चोकका जितबहादुर श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, कैलालीका डण्डपानी रेग्मी, ललितपुरका कामल कुमार विष्ट, रूपन्देहीका शिशिर जिसी, सिरहाका मनोज कुमार सापकोटा र सिन्धुपाल्चोकका रञ्जित बस्नेत ।