०३ साउन २०८३, आइतबार

प्रहरीमा दुई महिनादेखि १० डीआईजी खाली, एआईजी अचार्यको अवकाश कुरेर रोकियो बढुवा

जेठ ६, २०८२
काठमाडौं
प्रहरीमा दुई महिनादेखि १० डीआईजी खाली, एआईजी अचार्यको अवकाश कुरेर रोकियो बढुवा

नेपाल प्रहरीको कर्णाली प्रदेश प्रहरी कार्यालय साढे दुई महिनादेखि निमित्तको भरमा चलिरहेको छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले नेतृत्व गर्ने प्रदेश प्रहरी कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को भरमा छ । 

प्रदेशका तत्कालीन प्रहरी प्रमुख जनक भट्टराई एआईजीमा बढुवा भएर अवकाश पाइसक्दा पनि गृहमन्त्री रमेश लेखकले डीआईजी पठाउन सकेका छैनन् । कर्णाली प्रदेश प्रहरी प्रमुखको रूपमा एसएसपी शिवकुमार श्रेष्ठले नेतृत्व गरिरहेका छन् । 

गृह मन्त्रालयले गएको वैशाख २१ गते ७ जना डीआईजीको सरुवा गरेको थियो । प्रदेश प्रहरीको नेतृत्व गरिरहेका डीआईजीहरू एआईजीमा बढुवा भएपछि डीआईजीको सरुवा गरिएको थियो । प्रदेश प्रहरी कार्यालयहरू क्रमशः कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा डीआईजीको सरुवा गरिए पनि कर्णालीमा भने कसैलाई पठाइएन । 

कर्णालीमा डीआईजी हिमालय कुमार श्रेष्ठलाई पठाउन खोजिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत श्रेष्ठले शक्तिकेन्द्रमार्फत् आफू कर्णालीमा नजाने जनाउ दिएसँगै उनको सरुवा अन्तिम समयमा रोकिएको थियो ।

नेपाल प्रहरीमा प्रशासनतर्फ २० जना डीआईजीको दरबन्दी छ । जसमध्ये १० दरबन्दी गत चैत ५ गतेदेखि नै खाली छ । ६ प्रदेशमा ६ जना डीआईजी कार्यरत रहँदा बाँकी चार जना डीआइजीहरू क्रमशः सिद्धि विक्रम शाह विशेष ब्यूरोमा, गोविन्द थपलिया केन्द्रीय अनुसन्धान ब्यूरोमा, सुशील सिंह राठौर आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय र श्रेष्ठ अख्तियारमा कार्यरत छन् । 

डीआईजी बढुवामा एआईजीको अवकाश कुर्दै गृहमन्त्री !
एआईजी लालमणि आचार्य यही जेठ ११ मा अनिवार्य अवकाशमा जाँदैछन् । आचार्यको अवकाशसँगै खाली हुने एआईजीमा डीआईजी शाह बढुवा हुने दाउमा छन् । शाहको बढुवासँगै रिक्त डीआईजीको संख्या ११ पुग्नेछ । त्यसैले गृह मन्त्रालयले एकैपटक ११ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्ने तयारी गरेको छ । तर, डीआईजी बढुवा त्यति सजिलो भने छैन । बढुवाका लागि प्रतिस्पर्धीबीच चर्को दौडधूप छ । 

डीआईजी बढुवाका लागि राष्ट्रिय अनुसन्धान विभाग (राअवि)बाटै सेवा परिवर्तन गरेका एसएसपीहरू वरिष्ठतामा अगाडि छन् । डीआईजी बढुवामा प्रहरीको १११ र ११२ टोलीबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । १११ टोलीका २ एसएसपीहरू सुदर्शन कोइराला र दीपक रेग्मी छन् । उनीहरू हालै एआईजीमा बढुवा भएका दानबहादुर कार्कीकै ब्याची हुन् । 

बाँकी एसएसपीहरू ओमबहादुर राना, माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती, दिलिपसिंह देउवा, विनोद घिमिरे, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास र शारदाप्रसाद चौधरी राअविबाट प्रहरीमा इन्स्पेक्टर दर्जामा प्रवेश गरेको टोलीका हुन् । उनीहरू वरिष्ठतामा अगाडि छन् । 

त्यस्तै, ११२ टोलीका एसएसपीहरू विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीप शमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्ज्वल महर्जनले पनि आफूलाई डीआईजी बढुवाका उत्तिकै दाबेदार ठान्छन् ।

डीआईजी बढुवा गर्दा राअविका १० जनाको टोली पन्छाएर सूची निकाल्न सरकारलाई सकस पर्ने देखिन्छ । ११२ टोली (इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका)ले राअविका कम्तीमा चार जनालाई मात्रै डीआईजीमा समेट्न शक्तिकेन्द्रमार्फत् दबाब दिइरहेको छन् । 

एसएसपीहरू भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, गंगा पन्त र तारादेवी थापाले जसरी पनि आफूहरूलाई बढुवामा अटाउनुपर्ने दबाब दिइरहेका छन् । 

प्रहरी नियमावली अनुसार डीआईजी बढुवा समितिको अध्यक्ष गृहसचिव, सदस्य प्रहरी महानिरीक्षक र सदस्य सचिव महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक रहने व्यवस्था छ ।

गृहसचिव गोकर्णमणि दुवाडीले डीआईजी बढुवा प्रक्रियालाई पारदर्शी बनाइने बताए । उनले भने, ‘यो बीचमा म पनि बाहिर-बाहिरै भएँ, प्रदेशको सुरक्षा बैठक पनि थियो । अब केही दिनमै बढुवाको प्रक्रिया अगाडि बढ्छ ।’

salt training

कमेन्ट गर्नुहोस्