
यदि कुनै नाराले इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासमा सबैभन्दा धेरै हेडलाइन बनाएको छ भने त्यो हो 'ई साला कप नामदे'। कन्नड भाषामा यसको अर्थ हो- यस पटक कप हाम्रो हो । वर्षौंदेखि रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का फ्यानहरूले यो नारालाई आशाको रूपमा प्रयोग गर्दै आएका थिए । प्रत्येक सिजनको शुरूमा यो प्रतिध्वनि स्टेडियमदेखि सामाजिक सञ्जालसम्म सुनिन्थ्यो।
अन्ततः आईपीएल २०२५ मा यो नारा साकार भएको छ । आरसीबीले रोमाञ्चक खेलमा पञ्जाब किंग्सलाई हराएर पहिलो पटक आईपीएल ट्रफी जितेको छ। विश्वको सबैभन्दा ठूलो नरेन्द्र मोदी क्रिकेट स्टेडियममा गएराति पञ्जाबलाई ६ रनले पराजित गर्दै आरसीबीले उपाधिको खडेरी तोडेको हो ।
यो ऐतिहासिक जितपछि जब सम्पूर्ण रंगशाला उत्सव मनाइरहेको थियो, टोलीका अनुभवी खेलाडीहरू पनि एक स्वरमा भन्दै थिए - 'ई साला कप नामदु' ! कन्नड भाषामा ई साला कप नामदेको अर्थ 'यस पटकको कप हाम्रो हो' हुन्छ। अब च्याम्पियन बनेपछि, यो 'ई साला कप नामदू' भएको छ, जसको अर्थ 'अब कप हाम्रो हो' भन्ने हुन्छ ।
१८ औं सिजनमा पहिलो पटक उपाधि जितेपछि विराट कोहली धेरै भावुक देखिए। विराटका साथीहरू र पुराना सहकर्मी एबी डिभिलियर्स र क्रिस गेलले पनि आरसीबीको यो विजयको उत्सवमा भाग लिए। तीनै जना एकै स्वरमा ई साला कप नामदू भन्दै चिच्याए । यो विशेष क्षणको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
Ee Sala Cup Namdu 🔥 🏆#Eesalacupnamde pic.twitter.com/FlmumAjCLT
— 👑Che_Krishna🇮🇳💛❤️ (@CheKrishnaCk_) June 3, 2025
अन्ततः त्यो क्षण आयो, जुन विराट १८ वर्षदेखि पर्खिरहेका थिए । मैदानमा विराटको आँखाबाट बगेको आँसुले यो जीत कति ठूलो छ भनेर बताउन पर्याप्त हुन्छ।
आरसीबीले यसअघि तीन पटक फाइनल खेलेको थियो, तर उपािधि जित्न सकेको थिएन । अन्ततः २०२५ मा आएर प्रतिक्षाको घडी सकिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले नौ विकेट गुमाएर १९० रन बनाएको थियो । विराट कोहलीले ३५ बलमा ४३ रन, फिल साल्टले नौ बलमा १६ रन, मयंक अग्रवालले १८ बलमा २४ रन, रजत पाटीदारले १६ बलमा २६ रन र लियाम लिभिङस्टोनले १५ बलमा २५ रनको इनिङ खेले।
पञ्जाबका लागि काइल जेमिसन र अर्शदीपले तीन-तीन विकेट लिए। जवाफमा, पञ्जाबको टोलीले राम्रो शुरूआत गरेको थियो, तर नौ ओभरमा ७४/२ रहेको स्कोर १३ ओभरपछि १०१/४ र १८ ओभरपछि १४९/७ मा परिणत भयो । रिक्वायर रन रेट बढ्दै जाँदा ब्याट्सम्यानमा दबाब पनि बढ्दै गयो । आरसीबीका लागि कृणाल पाण्ड्याले चार ओभरमा १७ रन दिएर दुई विकेट लिएर म्याच-विनिङ बलिङ गरे ।
१९१ रनको ठूलो लक्ष्य पछ्याउन पञ्जाबले ओपनिङमा २ अनक्याप्ड खेलाडीहरूलाई मैदानमा उतारेको थियो । प्रियांश आर्य र प्रभसिमरन सिंहले आफ्नो टोलीलाई द्रुत शुरुआत दिए, तर प्रियांश २४ रन बनाएपछि आउट भए। फिल साल्टले अद्भुत क्याच लिए र प्रियांशलाई प्याभिलियन पठाए। सबै कुरा राम्रो चलिरहेको थियो र पञ्जाबको स्कोर एक विकेटको क्षतिमा ७२ रन थियो, तर अर्को २६ रनभित्र पञ्जाबले ३ महत्वपूर्ण विकेट गुमायो।
महत्वपूर्ण खेलमा कप्तान श्रेयस अय्यरले पनि १ रन मात्र बनाउन सके। चाँडै पञ्जाबले ९८ को स्कोरमा ४ विकेट गुमायो। नेहल वधेरा र शशांक सिंहले विस्तारै इनिङ्सलाई अगाडि बढाए र ३८ रन थपे, तर विकेट पतन शुरू भएपछि खेल पञ्जाबको हातबाट चिप्लन थालेको थियो ।
बीचको ओभरमा खराब ब्याटिङ पञ्जाब किंग्सको हारको मुख्य कारणमध्ये एक थियो। पञ्जाबको टोलीले ४ ओभरभित्र श्रेयस अय्यर, प्रभसिमरन सिंह र जोश इङ्लिसको विकेट गुमाएको थियो, त्यहाँबाट पञ्जाब खेलमा पुनरागमन गर्न सकेन।
पञ्जाबसँग तल्लो मध्यक्रममा मार्कस स्टोइनिस र शशांक सिंहजस्ता बलिया ब्याट्सम्यानहरू थिए, तर, उनीहरूले कुनै ठूलो साझेदारी गर्न सकेनन् । हारसँगै पञ्जाबको पहिलो उपाधिको पर्खाइ भने लम्बिएको छ ।
२००८ देखि आईपीएल, १७ वर्षपछि उपाधि
आईपीएलमा पहिलो पटक कप्तानी गरिरहेका रजत पाटीदारले घर बाहिरका सबै खेलमा आरसीबीलाई जित दिलाएका थिए। आरसीबीले २००८ देखि आईपीएल खेल्दै आएको छ। २०२४ सम्म टोलीसँग उपलब्धिको नाममा कुनै ट्रफी थिएन, टोली यसअघि नै ३ पटक फाइनलमा पुगेको थियो । आरसीबीले २००९, २०११ र २०१६ मा ३ फाइनल खेलेको थियो, तर तीनै हार्यो ।

१८ सिजनमा पहिलो पटक आरसीबीले फाइनलमा पहिले ब्याटिङ गर्ने मौका पायो। टोलीले अहमदाबादको ब्याटिङमैत्री पिचमा १९० रन मात्र बनाउन सक्यो। जुन बराबर स्कोरभन्दा लगभग १५-२० रन कम थियो, किनभने पञ्जाबले सोही मैदानमा मुम्बईविरुद्ध क्वालिफायर-१ मा एक ओभर बाँकी रहँदा २०४ रनको पीछा गरेको थियो।
यद्यपि, यस पटक आरसीबीले आफ्नो उत्कृष्ट बलिङको आधारमा आफ्नो भाग्य परिवर्तन गर्यो र पञ्जाबलाई १८४ रनमा रोक्यो र उपाधि जित्यो। यसअघि आरसीबीले फाइनलमा लक्ष्य पछ्याउँदा हारेको थियो । अर्थात्, आरसीबीको भाग्यमा पहिलो आईपीएल जित्ने लेखिएको थियो, पीछा गर्दा होइन, स्कोरको रक्षा गर्दा। यद्यपि, बैंगलोरभन्दा पहिले सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, चेन्नई सुपर किंग्स (३ पटक) र मुम्बई इन्डियन्स (४ पटक) ले पहिले ब्याटिङ गरेर आईपीएल फाइनल जितेका छन् ।
आरसीबीको तपस्या पूरा
भारतका लागि सबै आईसीसी ट्रफी जितेका विराटसँग २०२४ सम्म आईपीएल ट्रफी थिएन। जसका कारण उनलाई सामाजिक सञ्जालमा धेरै पटक ट्रोल गरिएको थियो। भनिन्थ्यो कि कोहली आरसीबीका लागि श्राप हुन्, जबसम्म उनी त्यहाँ छन्, बैंगलोरले आईपीएल जित्न सक्दैन।
यी सबैका बाबजुद पनि कोहली, आरसीबी र फ्रान्चाइजीले पनि विराटलाई छाडेन। १८ औं सिजनअघि कोहलीलाई आरसीबीले २१ करोड रुपैयाँ तिरेर कायम राखेको थियो। विराटले लगातार तेस्रो सिजनमा ६०० भन्दा बढी रन बनाए र ब्याटिङको जिम्मेवारी सम्हाले।
जब कोहलीले ट्रफी लिएर खुशी मनाउन थाले स्टेडियममा उपस्थित प्रत्येक आरसीबी फ्यानको तपस्या पूरा भएकोजस्तो लाग्यो।
विजेताले कति पैसा पाउँछ ?
आईपीएलले नयाँ च्याम्पियन पाएको छ। उपाधि जित्दा आरसीबीले ट्रफीसँगै २० करोड रुपैयाँ पाएको छ । उपविजेता पञ्जाबले १२.५ करोड रुपैयाँमा चित्त बुझाउनु पर्यो । तेस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सले ७ करोड रुपैयाँ र चौथो स्थानमा रहेको गुजरात टाइटन्सले ६.५० करोड रुपैयाँ प्राप्त गर्यो ।
सिजनमा सबैभन्दा धेरै रन (७५९) बनाउने गुजरातका साई सुदर्शनलाई ओरेन्ज क्याप दिइएको थियो भने सबैभन्दा धेरै विकेट (२५) लिने प्रसिद्ध कृष्णलाई पर्पल क्याप दिइएको थियो । १४ वर्षीय वैभव सूर्यवंशीलाई सिजनको सुपर स्ट्राइकरको रूपमा छनोट गरिएको थियो।
गुजरातका ओपनर साई सुदर्शनले सबैभन्दा धेरै व्यक्तिगत पुरस्कार पाए। ओरेन्ज क्यापबाहेक उनलाई अल्टिमेट फ्यान्टेसी प्लेयर अफ द सिजन, इमर्जिङ प्लेयर अफ द सिजन र मोस्ट बाउन्ड्री (फोकस) अवार्ड पनि दिइएको थियो। मुम्बईका सूर्यकुमार यादव प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर अफ द सिजन थिए।
यीबाहेक मोस्ट सिक्स हिटर अवार्ड लखनऊका निकोलस पूरनलाई, ग्रिन डट बल अवार्ड गुजरातका मोहम्मद सिराजलाई र बेस्ट क्याच अवार्ड हैदराबादका कामिन्दु मेन्डिसलाई प्रदान गरियो।

मन र आत्मा बैंगलोरसँगै छ, अब म शान्तिसँग सुत्न सक्षम हुनेछु - कोहली
उपाधि खडेरी तोडेपछि कोहली भावुकसँगै उत्साहित पनि देखिए । उनले यही उपाधिका लागि वर्षौंदेखि प्रतिक्षा गरिरहेको बताए । 'यो जीत हाम्रो टोलीको लागि जति छ, हाम्रा फ्यानहरूको लागि पनि उत्तिकै छ। १८ वर्ष भइसक्यो। मैले मेरो युवावस्था, मेरो उत्कृष्ट समय र अनुभव यस टोलीलाई दिएँ। हरेक वर्ष जित्ने प्रयास गरें, मेरो सबैथोक दिएँ। अब मैले यो ट्रफी पाएँ,' उनले भने, 'यो अनुभूति शब्दभन्दा बाहिर छ। मैले सोचेको थिइनँ कि यो दिन कहिल्यै आउनेछ। अन्तिम बलपछि म भावनाहरूले भरिएँ। मैले मेरो सबै शक्ति लगाएँ र आज म जे महसुस गरिरहेको छु त्यो अद्भुत छ ।'
फाइनलपछि श्रेयस अय्यरले के भने?
हारपछि पञ्जाबका कप्तान श्रेयस अय्यरले राम्रो गर्दागर्दै पनि उपाधिबाट वञ्चित हुनुपरेको मा दु:ख व्यक्त गरे । उनले आरसीबीका खेलाडीको पनि प्रशंसा गरे । 'इमानदारीपूर्वक भन्नुपर्दा म दुखी छु, तर यस अवसरमा हाम्रा खेलाडीहरूले जसरी प्रदर्शन गरे, हामीले जसरी आनन्द उठायौं, त्यो उत्तम नभए पनि, तर यसको धेरै श्रेय व्यवस्थापन, सहयोगी कर्मचारी र सहभागी र योगदान गर्ने सबैलाई जान्छ। मालिकहरूले हामीलाई समर्थन गर्ने तरिका पनि अद्भुत थियो,' उनले भने, 'उनीहरूले उत्कृष्ट बलिङ गरे, विशेषगरी कृणालले समय-समयमा यो गरेका छन्। मलाई विश्वास छ कि त्यो नै टर्निङ प्वाइन्ट थियो। म यस टोलीमा भाग लिने सबैप्रति धेरै गर्व गर्छु। यसमा धेरै युवा खेलाडीहरू छन् जो आफ्नो पहिलो सिजन खेलिरहेका छन्। उनीहरूले देखाएको निडर स्वभाव अद्भुत थियो।' भारतीय सञ्चार माध्यमहरूको सहयोगमा