
रुपन्देहीको भैरहवा निवासी सन्तराम थारू र सुनिता कार्कीलाई पाँच वर्षअघि जुम्ल्याहा छोरा एरिक र इभान जन्मिँदा खुसीको कुनै सीमा थिए ।
कपिलवस्तुको वाणगंगा स्थायी घर भई भैरहवामा जीविकोपार्जनको काम गर्दै आएका सन्तराम दम्पतीले छोराहरूलाई हुर्काउँदै गए ।
तर, जन्मिँदा सामान्य अवस्थामा रहेका एरिक र इभानमा हुर्किँदै जाँदा बोलाउँदा नसुन्ने र नबोल्ने समस्या देखियो । जुन समस्या अद्यापि छ ।
केही बच्चाको वृद्धि विकास ढिलो हुने गरेको देखिने गरेकोले इभान र एरिक पनि विस्तारै बोल्लान् र कान सुन्लान् भन्ने बाउआमाको आशा थियो । तर, त्यो हुन संकेत देखिएन । त्यसपछि आमा सुनिता र बाबा सन्तरामका मनमा चिसो पस्यो ।
छोराहरूमा देखिएको समस्याले यो दम्पती अहिले निकै पीडामा छ । कमजोर आर्थिक अवस्थाका उनीहरूलाई छोराको उपचार कसरी गर्ने भन्ने पिरलोले सताइरहेको छ ।
उनीहरूले आफ्नो तर्फबाट छोराहरूको उपचारका लागि कोसिस नगरेका होइनन् । त्रिवि शिक्षण अस्पताल काठमाडौंमा जाँच गराउँदा झण्डै ४० लाख लाग्ने भनेपछि उनीहरू छाँगाबाट खसेजस्तै भए । यो रकम उनीहरूको कल्पनाभन्दा निकै परको थियो ।
परिवारको गर्जो टार्नै हम्मे भएकाले छोराहरूको उपचार गर्न नसकिएको आमा सुनिता बताउँछिन् । ‘बिहान-बेलुकी के खाने भन्ने चिन्ता छ,’ सुनिताले भनिन्, ‘उपचार गर्ने त परको कुरा हो हाम्रा लागि ।’ उनीहरू आफ्ना दुई सन्तानको भविष्य र जीवनलाई उज्यालो बनाइदिने मनकारी मान्छेको पर्खाइमा छन् । उनिहरूले सबैतिर सहयोगको याचना गरिरहेका छन् ।
सुनिताका अनुसार त्रिवि शिक्षण अस्पतालमा चेकजाँच गराउँदा शल्यक्रियामार्फत् ‘कक्लियर इम्प्लान्ट’ राखे उनीहरूले सुन्न सक्ने चिकित्सकले भनेका छन् । चिकित्सकहरूका अनुसार ‘कक्लियर इम्प्लान्ट’ एक इलेक्ट्रोनिक मेडिकल उपकरण हो । जसले मध्यमदेखि गहिरो सेन्सोरिनल श्रवणशक्ति हानी भएका व्यक्तिलाई ध्वनि बुझ्न मद्दत गर्छ ।
यो शल्यक्रियाद्वारा प्रत्यारोपित गरिन्छ र भित्री कानको क्षतिग्रस्त भागहरूलाई बाइपास गरेर श्रवण तन्त्रिकालाई प्रत्यक्ष रूपमा सक्रिय बनाउँछ । यसले गर्दा मष्तिष्कले यसका संकेतलाई ध्वनिको रूपमा सुन्न सक्ने क्षमता विकास गर्छ ।
‘कक्लियर इम्प्लान्ट’लाई मात्रै करिब १५ लाख पर्ने सुनिताले जनाइन् । दुवै जनाको कानमा राख्दा ३० लाख यसैको मात्र पर्ने र शल्यक्रियासहित उपचार गर्दा ४० लाख लाग्ने सन्तरामको भनाइ छ ।
भदौभित्र शल्यक्रिया गरी दुवै जनाको कानमा ‘कक्लियर इम्प्लान्ट’ राख्न चिकित्सकले सुझाव दिएकाले आफूहरूले आर्थिक सहायताका लागि सबैमा आग्रह गरेको उनको भनाइ छ ।
‘हामीसँग त्यति ठूलो रकम छैन’, सुनिताले भनिन्, ‘सहयोगी मनहरूले आर्थिक सहायता दिए मात्रै हामीले बाबुहरूको उपचार गर्न सक्छौं । होइन भने उनीहरू कान नसुन्ने र नबोल्ने हुने भए ।’
चिकित्सकहरूले कान सुन्ने भएमा बालकहरूलाई तीन महिना स्पीच थेरापी गराएमा बोल्न सक्ने हुने बताएको सुनिताको भनाइ छ ।
‘कक्लियर इम्प्लान्ट’ विधि नेपालमा सफल मानिन्छ । यो विधि भैरहवामा मात्रै ४ जना बालकले शल्यक्रियामार्फत् प्रयोग गरी अहिले बोल्न र सुन्न सक्ने भएका छन् ।
भैरहवाकै सागर पोखरेलले आफ्नो छोरामा पनि यही समस्या देखिएको र तीन वर्षअघि शल्यक्रियामार्फत् ‘कक्लियर इम्प्लान्ट’ राखेपछि कान सुन्न सक्ने भएको जनाए । अहिले स्पीच थेरापीपछि आफ्नो छोरा बोल्न सक्ने पनि भएको उनी बताउँछन् ।
‘हाम्रो घरको आर्थिक अवस्था उक्त उपचार खर्च धान्न सक्ने अवस्थामा छैन । सबै संस्था तथा व्यक्तिगत तर्फबाट सहयोग भएमा अबोध बच्चाहरूको सुन्नसक्ने र बोल्न सक्नेगरी उपचार गर्न सम्भव थियो’, सुनिताले भनिन्, ‘उपचारको अभावमा बाबुहरू मौन पीडामा बाँचेका छन् । तपाईंहरूको सानो सहयोगले उनीहरूको जीवनमा आशाको उज्यालो फैलिन सक्छ ।’
भैरहवास्थित लुम्बिनी प्रेस क्लबले दुवै बालकको उपचारमा सहयोग गर्न सबैलाई आग्रह गरेको अध्यक्ष कमल रायमाझी बताउँछन् । थारू परिवारले बैंकमा एरिक र इभानको नाममा खाता खोलेर सहयोगका लागि आह्वान गरेका छन् ।