०७ साउन २०८३, बिहीबार
पतन्जली जग्गा भ्रष्टाचार मुद्दा

वकिलको ताँती लगाएर बयानका लागि विशेष अदालत पुगे माधव नेपाल

असार ११, २०८२
काठमाडौं
वकिलको ताँती लगाएर बयानका लागि विशेष अदालत पुगे माधव नेपाल
फाइल तस्वीर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । 

पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बयानका लागि बुधबार बिहान उनी अदालतमा उपस्थित भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले लोकान्तरलाई जानकारी दिए । 

गोविन्द बन्दीलगायत कानून व्यवसायीलाई साथमा लिएर नेपाल बिहान ११ बजे अदालत पुगेका हुन् । वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले नेपालको पक्षमा बहस गर्ने तयारी गरेका छन् ।

अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकै दिन नेपालले कानूनी परामर्श गरेका थिए । उपस्थित वकिलहरूले मुद्दा दर्ता भइसकेको अवस्थामा अदालतमा गएर प्रतिवाद गर्न सुझाव दिएका थिए ।

गत जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

नेपाल प्रधानमन्त्री हुँदा हदबन्दी छुटमा जग्गा किनेको र छुट पाएपछि दुई महिनालगत्तै हाउजिङ कम्पनीलाई बेचेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।

योगगुरु रामदेवको योगपीठले छुटमा पाएको जग्गा काभ्रे बनेपाको साँगामा हाउजिङ कम्पनीलाई बेचिएको हो । नेपालकै निर्णयपछि ५ सय ९३ रोपनी जग्गा खरिद गरेर ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बिक्री गरिएको थियो ।

यसै प्रकरणमा नेपालमाथि अख्तियारले छानबिन गर्दै बयान लिएको थियो । १८ माघ २०६६ मा नेपालले मन्त्रिपरिषद् बैठकबाट जग्गा खरिदको निर्णय गराएका थिए ।

दुई महिनालगत्तै २०६६ चैत ६ गते बेन्च स्वीकृति दिएको निर्णय मन्त्रिपरिषद्‌बाट गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्