
पाकिस्तानको उत्तर वजिरिस्तान जिल्लामा भएको आत्मघाती आक्रमणमा १६ जना सैनिकको ज्यान गएको छ भने दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
घाइते हुनेहरूमा सर्वसाधारण, प्रहरी र स्थानीय सरकारी कर्मचारी रहेका समाचार संस्था एएफपीले जनाएको छ । उक्त घटनाको जिम्मेवारी पाकिस्तानी तालिबान (तेहरीक–ए–तालिबान पाकिस्तान, टीटीपी)ले लिएको छ।
खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत पर्ने उत्तर वजिरिस्तानको एक सैन्य क्षेत्रमा विस्फोटक पदार्थले भरिएको सवारी साधन चलाएर आत्मघाती आक्रमण गरिएको हो । विस्फोटका कारण वरपरका केही घरमा पनि क्षति पुगेको छ।
‘विस्फोटले दुई घरको छाना भत्किएको छ, जसका कारण ६ जना बालबालिका घाइते भएका छन्’, खैबर पख्तुनख्वाका एक प्रहरी अधिकृतले एएफपीसँग भने । पछिल्लो समय खैबर पख्तुनख्वा र बलुचिस्तान क्षेत्रमा उग्रवादी गतिविधिमा तीव्र वृद्धि भएको छ।
यसअघि सन् २०२५ को मार्चमा पनि दक्षिण वजिरिस्तानस्थित जन्डोला चेकपोस्ट नजिकको फ्रन्टियर कोर्प्स क्याम्पमा आत्मघाती आक्रमण हुँदा पाकिस्तान सेनाले १० जना टीटीपी-सम्बद्ध उग्रवादी मारिएको दाबी गरेको थियो।
त्यसै महिनामा बलुच लिबरेशन आर्मी (बीएलए) का लडाकूहरूले गुदालार र पिरु कुनरी नजिक जाफर एक्सप्रेस यात्रुवाहक रेलमा आक्रमण गर्दा २१ यात्रु र ४ जना अर्धसैनिक सैनिकको मृत्यु भएको थियो।
ग्लोबल टेरोरिज्म इन्डेक्स २०२५ अनुसार पाकिस्तानमा २०२३ को तुलनामा २०२४ मा आतंकवादी आक्रमणबाट मृत्यु हुनेको संख्या ४५ प्रतिशतले बढेर ७४८ बाट १,०८१ पुगेको छ ।