०२ साउन २०८३, शनिबार
पहिरोले निम्त्याएको अकल्पनीय पीडा

कल्पनाको आँखै अगाडि खोसियो जनकको जीवन !

असार २५, २०८२
बुटवल
कल्पनाको आँखै अगाडि खोसियो जनकको जीवन !

पाल्पाको रामपुर नगरपालिका–६ तालपोखराका जनक भण्डारी मंगलबार बिहानै श्रीमती कल्पनालाई मोटरसाइकलको पछाडि राखेर बुटवल निस्के । लोकसेवा आयोगको तयारीमा गरेकी कल्पनाको बुटवलमा दिउँसो पहिलोपत्रको परीक्षा थियो ।

बैंकिङ तयारी गरेकी कल्पनाले बुटवलको एक विद्यालयमा दिउँसो ४ बजेट परीक्षा दिएपछि खाजा खाएर जनक र कल्पना हतार–हतार घर फर्किदै थिए । किनभने, बुधबार घरमा एकाहा पूजा हुँदै थियो । बिहान खासै पानी नपरेको बुटवल क्षेत्रमा दिउँसो दुई बजेपछि ठूलो पानी परेको थियो ।

पानी केही मत्थर भएपछि पूर्वनिधारित योजनानुसार जनक र कल्पनाले रामपुरको यात्रा तय गरे । शिद्धबाबा मन्दिरलाई मोटरसाइकलबाट दर्शन गरेर केही पर हेडबक्स नजिकै पुग्दा माथिबाट ठूलो ढुंगासहित पहिरो खस्यो । पहिरो जनकले चलाएको लु ५१ प ६६३३ नम्बरको मोटरसाइकलमा बजारियो ।

मोटरसाइकल र जनकलाई पहिरोले लछार्दै राजमार्गबाट झण्डै १०० मिटर तल तिनाउ नदीको किराना पुर्‍यायो । अचेत रहेका जनकलाई तत्काल प्रहरीले उद्दारगरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याए पनि उनी बाँच्न सकेनन् ।

अस्पताल पुग्नेवित्तिकै उनलाई मृत घोषित गरियो । अधिकांश कामको लागि बुटवल आउजाउ गर्ने जनक त्यहीँ सधैं ख्याल गर्ने शिद्धबाबा पहिरोको शिकार बन्न पुगे ।

भाग्यबस मोटरसाइकल पछाडि रहेकी श्रीमती कल्पना सामान्य चोट लागे पनि बाँच्न सफल भइन । तर, कल्पनाको जीवन र खुसी काखैबाट पहिरोले चुडियो

२९ वर्षकी कल्पना पढाइ पूरागरी सरकारी जागिर खानेगरी लोकसेवा आयोगको तयारीमा जुटेकी थिइन् । रामपुर तालचोकका स्थानीय सागर देवकोटाले भण्डारी परिवारको एक्लो छोरा ३६ वर्षका जनकलाई पहिरोले खोसेपछि परिवार विक्षिप्त रहेको बताए । ‘श्रीमान–श्रीमती आयोगको परीक्षा दिन बुटवल झरेका थिए । परीक्षा सकेर घर नपुग्दै कल्पनाको आँखै अगाडि जनक सदाका लागि अस्ताए,’ देवकोटाले लोकान्तरसँग भने, ‘आफैं चलाएको मोटरसाइकल पहिरोमा पर्दा भण्डारी परिवारको खुसी लुटेको छ । परिवारमा सन्नाटा छाएको छ ।’

जनक एमाले जिल्ला कमिटी पाल्पाका सदस्य तथा रामपुर नगरपालिका वडा नम्बर ६ को अध्यक्षका उम्मेवारसमेत थिए । रामपुरमा पानी उद्योग चलाउँदै आएका जनक युवामाझ लोकप्रिय तथा समाजसेवीको रूपमा पनि परिचित थिए ।

जनकलाई नजिकबाट चिन्ने रामपुरकी बन्दना पोखरेलका अनुसार उनी देशमै केही गर्नुपर्छ भन्ने सोच राखेर युवालाई उज्यालो भविष्य देखाउने कर्ममा रहेका थिए । जनक परिवारका एक्ला छोरा हुन् । उनकी ७ वर्षकी छोरी छन् । जनकका बाबा सागर भण्डारी दरेठाटी माविका स्थायी शिक्षक हुन् ।

दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक रुम केसीले घाइते जनकलाई तत्काल उद्धार गरिए पनि ढुंगाले गम्भीर चोट लागेका कारण अस्पताल पुर्‍याएपछि मृत्यु भएको बताए ।

रामपुरकी सीता डोटेलले रामपुरको असल उद्यमी, उदाउँदो नेता र समाजको अब्बल युवा गुमेको बताइन् । जनकको शव बुधबार रामपुर लगिँदै छ । हिउँद होस् वा वर्षायाम सधैं शिद्धबाबा खण्डमा पहिरो र ढुंगा झर्ने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्