०३ साउन २०८३, आइतबार
युक्रेन युद्ध

ट्रम्प–पुटिन भेटको सम्भावना, रुस र युक्रेनबीच शिखर बैठक बसाउने प्रयास !

साउन २२, २०८२
काठमाडौं
ट्रम्प–पुटिन भेटको सम्भावना, रुस र युक्रेनबीच शिखर बैठक बसाउने प्रयास !
फाइल तस्वीर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच छिट्टै बैठक हुने सम्भावना बढेको छ । ह्वाइट हाउसका एक अधिकारीका अनुसार यो भेट अर्को हप्ता नै हुने सम्भावना प्रबल छ । 

राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग ओभल अफिसमा भएको कुराकानीमा पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग आफ्नो भेट हुनेबारे निश्चित जवाफ दिएनन् ।

'हेरौं, अहिले म यसबारे केही भन्न चाहन्नँ । यसले मलाई पहिले पनि निराश तुल्याएको छ,' ट्रम्पले भने । तर, उनले पुटिन र जेलेन्स्कीबीच शिखर बैठक हुने सम्भावना रहेको बताए ।

'हो, यो सम्भावना राम्रो देखिन्छ । हामीले कहाँ भेट हुने भन्ने तय गरेका छैनौं, तर आज राष्ट्रपति पुटिनसँग निकै सकारात्मक छलफल भएको छ । अब सम्भावना निकै राम्रो छ कि हामी यो लम्बिएको द्वन्द्वको अन्त्यतर्फ जाँदैछौं । त्यो यात्रा लामो थियो र अझै लामो छ । तर, चाँडै नै बैठक हुने सम्भावना निकै राम्रो छ,' ट्रम्पले भने ।

बुधबार मस्कोमा पुटिन र अमेरिकी दूत स्टीभ विटकोफबीच भएको वार्तामा कुनै ठूलो प्रगति भयो कि भन्ने प्रश्नमा ट्रम्पले भने, 'म यसलाई कुनै 'ब्रेकथ्रु' भन्दिनँ । हामीले धेरै समयदेखि यसमा काम गर्दै आएका छौं ।'

पुटिनले उनलाई पहिले कहिल्यै नदिएको कुनै किसिमको छुट दिएको हो कि भन्ने प्रश्नमा ट्रम्पले जवाफ दिए, 'अहिलेसम्म थाहा भइसकेको छैन । म केही हप्तामा शायद त्योभन्दा छिट्टै बताउन सक्नेछु, तर हामीले धेरै प्रगति गरिसकेका छौं ।'

उनले सम्झौता नजिकै छ कि छैन भन्नेबारे केही नबोल्ने निर्णय गरे । किनभने, उनी पहिले धेरैपटक 'निराश' भइसकेका छन् ।

विटकोफ बुधबार मस्कोबाट फर्किएपछि उनले राष्ट्रपति ट्रम्पलाई पुटिनले उनीसँग भेट गर्न चाहेको जानकारी दिएका थिए ।

ह्वाइट हाउसका अधिकारीकाअनुसार ट्रम्पले यदि पुटिनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि भेट गरे भने आफू भेट्न तयार रहेको संकेत दिएका छन् ।

फक्स बिजनेस नेटवर्कका ल्यारी कुडलोसँगको अन्तर्वार्तामा विदेशमन्त्री मार्को रुबियोले रुस र युक्रेनसम्बन्धी दिनभरिका घटनाक्रम मूल्यांकन गर्दै भने- 'यी मुलुकका नेताहरूलाई एउटै टेबलमा ल्याउन समय लाग्न सक्छ । मलाई थाहा छैन अर्को हप्ता भेट हुन्छ कि हुँदैन । हेर्न बाँकी छ । कति प्रगति हुन्छ भन्ने कुराले धेरै कुरा निर्भर गर्छ ।'

अमेरिकी प्रशासनले युरोपेली साझेदारहरू र युक्रेनसँग आगामी दिनहरूमा थप वार्ता गर्ने रुबियोले बताए । यसको उद्देश्य पुटिन र जेलेन्स्कीबीचको भेटलाई उपयोगी र सार्थक बनाउनु भएको उनको दाबी छ ।

'यदि हालको प्रगतिले निरन्तरता पायो भने राष्ट्रपति ट्रम्पले निकट भविष्यमा पुटिन र जेलेन्स्की दुवैसँग भेट गर्ने अवसर प्राप्त हुने आशा छ । तर, त्यसअघि धेरै काम गर्न बाँकी छ,' रुबियोले भने, 'अहिलेसम्म पनि थुप्रै अवरोधहरू छन्, जुन हामीले आगामी केही दिन र घण्टाहरू वा शायद केही हप्ताभित्र पार गर्नुपर्नेछ ।'

शुक्रबारको डेडलाइनअघि स्टीभ विटकोफले पुटिनसँग केही घण्टा लामो बैठक गरेका थिए । ट्रम्पले उक्त म्यादभित्र रुसले युक्रेनसँग युद्धविराममा सहमति नगरेमा उसमाथि प्रतिबन्ध लगाइने चेतावनी दिएका थिए ।

एक वरिष्ठ प्रशासन अधिकारीका अनुसार सो बैठक 'सफल' भएको थियो, तर यसै हप्ता मस्कोमाथि दोस्रो चरणको प्रतिबन्धहरू लाग्ने अपेक्षा गरिएको छ ।

ट्रम्पले यस द्वन्द्वका विषयमा पुटिनप्रति बढ्दो निराशा व्यक्त गर्दै युद्धविरामको समयसीमा ५० दिनबाट घटाएर १० दिनमा झारेका थिए ।

ट्रम्पले बुधबार सामाजिक सञ्जालमा विटकोफ र पुटिनबीचको बैठकलाई 'अत्यन्त फलदायी' भनेका छन् ।

'ठूलो प्रगति भयो! त्यसपछि मैले केही युरोपेली साझेदारहरूलाई जानकारी गराएँ । सबैजना यो युद्ध अन्त्य हुनुपर्छ भन्नेमा सहमत छन् र हामी आगामी दिन तथा हप्ताहरूमा त्यसका लागि काम गर्नेछौं,' ट्रम्पले लेखेका छन् ।

  • एबीसी न्युजको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्