०३ साउन २०८३, आइतबार
व्यवसायी पलायन हुने अवस्था

अस्तित्व जोगाउन संघर्षरत 'नेपालकै जेठो सपिङ मल'

३१५ पसल घटेर ९५ मा सीमित, मोबाइल हेरेरै कट्छ व्यवसायीको दिन
भदौ ३०, २०८२
काठमाडौं
अस्तित्व जोगाउन संघर्षरत 'नेपालकै जेठो सपिङ मल'

कुनै समय ग्राहकको भीडले भरिभराउ हुने काठमाडौं मल अहिले सुनसानजस्तै छ । व्यवसायीहरू दिनभर मोबाइलमा घोत्लिरहेका भेटिन्छन् । नेपालकै पुरानो र प्रमुख व्यवसायीक सपिङ मलमा व्यापार खुम्चिँदै जाँदा पलायन हुने अवस्था आएको व्यापारीहरू बताउँछन् । 

करिब दुई दशकअघि नेपालको पहिलो आधुनिक सपिङ मलका रूपमा सञ्चालनमा आएको काठमाडौं मलमा शुरूमा ३१५ वटा पसलहरू (रिटेलर, सिंगार, ब्युटी पार्लरलगायत) थिए । तर समयसँगै व्यापार खुम्चिँदा अहिले पसलको संख्या खुम्चिएर ९५ मा झरेको छ । आर्थिक मन्दी र विभिन्न संकटका कारण यस वर्षको व्यापार शून्यजस्तै भएको उनीहरूको गुनासो छ ।

अहिले खुसी भएर दशैँ मनाउन घर जानसक्ने अवस्था समेत नरहेको २०६२ सालदेखि मलको ७औँ लत्ताकपडा पसल गरिरहेका शिवप्रसाद ढकाल सुनाउँछन् । खर्च धान्नेसम्मको कारोबार नरहेको उनको भनाइ छ । ‘यस वर्षको कारोबार शून्यभन्दा फरक पर्दैन । काठमाडौं मलको अवस्था यस्तै छ । व्यापारीहरू भाडा तिर्न नसकेर घर जान नसक्ने अवस्थामा पुग्न लागिसकेका छन्,’ लोकान्तरसँग उनले भने, ‘दिनभर बोहनीसमेत नहुने अवस्था आएको छ । कतिपय व्यापारीहरू दिनभर मोबाइल चलाएर बसिरहेका छन् ।’

नयाँ मालसामानको आयात बन्द, आन्दोलन र आर्थिक मन्दीबाट व्यापार थिचिएको काठमाडौं मलका अर्का व्यापारी सुरेश पराजुली सुनाउँछन् । दशैँ तिहारका लागि देखिनुपर्ने चहलपहल नै नरहेको उनको भनाइ छ । ‘चीनबाट आउनुपर्ने सामान महिनौँदेखि आएको छैन । यत्तिकै पुरानै स्टक छन् र व्यापार पनि छैन,’ उनले भने, ‘बिचमा आन्दोलनले कारोबार ठप्प नै भयो । त्यसले पनि प्रभाव पारेको छ । आशा अझै बाँकी छ । बिस्तारै माथि उठ्छौं कि ?’ 

null

अहिले मलको व्यापारबाट पसलको भाडासमेत तिर्न नपुग्ने अवस्था रहेको २० वर्षदेखि काठमाडौं मलमा ‘रुडशेक फेसन स्टोर’ सञ्चालन गरिरहेका प्रकाश थापा बताउँछन् । आर्थिक मन्दीको चपेटामा परेको बेला यस वर्ष व्यापार शून्यजस्तै भएको उनको भनाइ छ । ‘अहिलेको व्यापार हेर्दा त दिक्क लागेर आउँछ । भाडा तिर्न पनि घरबाट पैसा ल्याएर दिनुपर्ने अवस्था छ,’ थापाले सुनाए, ‘झन् पहिलेको व्यापार हेर्दा त तुलना नै गर्न मिल्दैन । अहिले शून्यजस्तै कारोबार छ ।’ नेपालमा पहिलोपटक सपिङ मलको अनुभव दिएको काठमाडौं मलमा नयाँदेखि पुराना लत्ताकपडा पसलदेखि शृङ्गार र ब्युटीपार्लरहरू छन् ।

null

किन खुम्चियो काठमाडौं मलको व्यापार ? 

२०६२ सालमा कुल ३१५ पसलहरूसहित सञ्चालनमा आएको काठमाडौं मल छैटौँ तलासम्म भरिभराउ थियो । मलमा रहेका पसलहरूले एक सिजनमै ५० लाखसम्मको लत्ताकपडा होलसेलबाट हाल्ने गरेको व्यवसायीहरू सुनाउँछन् । २०७२ सालअघि व्यवसायीहरूलाई कारोबारको रकम मिलाउने फुर्सदसमेत नुहुने गरेको उनीहरूको भनाइ छ । तर ०७२ सालपछि क्रमश: व्यापार घट्दै गएको उनीहरूको निष्कर्ष छ । 

null

व्यापारीहरूका अनुसार २०७२ सालको भूकम्पपछि काठमाडौं मलका व्यवसायीहरू केही विस्थापित भए । त्यसपछि पसल संख्या २६५ मा झर्‍यो । व्यवसायीहरूलाई भूकम्पपछि उठ्न करिब २ वर्ष लाग्यो । तर, आर्थिक वर्ष २०७७/७८ मा कोभिड १९ मा सबैभन्दा बढी मलका व्यवसायीहरू विस्थापित भए ।

कोभिडपछि काठमाडौं मलमा २१५ व्यवसायीहरू मात्रै बाँकी रहेको उनीहरूको भनाइ छ । २०८० सालमा  काठमाडौं मलको अन्डरग्राउन्ड पार्किङलाई बढाएपछि सबैभन्दा तल्लो तलमा रहेका ८५ पसलहरू तितरवितर भए । केही माथिल्लो तलामा खाली भएका ठाउँमा सरे भने केही पलायन नै भए ।

अहिले पहिलो तलादेखि पाँचौँ तलासम्म कुल ९५ पसलहरू र छैटौँ तलामा कर कार्यालय मात्रै रहेको काठमाडौं मल व्यापार संघका निवर्तमान अध्यक्ष शिवप्रसाद ढकाल बताउँछन् । सबैभन्दा तल्लो तलामा पार्किङ बढाएपछि भूइँतलादेखि तेस्रो तलासम्म पसलहरू छन् भने, चौथो र पाँचौँ तलामा खाली स्थान मात्रै छ । उनका अनुसार कोभिडपछि पाँचौँ तलाको एक तिहाइ भाग खाली नै रहेको छ । कोभिड पहिले पाँचौँ तलासम्म सबैमा पसलहरू राखिएका थिए । तर कोभिडपछि व्यापारीहरू पलायन भएर खाली रहेको छ । 

null

काठमाडौं मलमा रहेका ९५ पसलहरूमा २३ वटा ब्युटी पार्लर रहेका छन् । ब्युटी पार्लर भने मन्द गतिमा चलिरहेका छन् । मलमा रहेका होटेल, लत्ताकपडाका रिटेलरमा भने व्यापार निकै सुस्त छ । 

काठमाडौं मलको व्यापार खुम्चिनुमा सबैभन्दा ठुलो कारण युवाहरू विदेश पलायन हुनु रहेको सञ्चालक प्रकाश थापा बताउँछन् । यसका साथै विभिन्न समयसँगै परिवर्तन भएको व्यापारको प्रकृति र विकल्पहरूले गर्दा सबैभन्दा पुरानो मलको व्यापार खुम्चिएको उनको भनाइ छ । ‘व्यापार बढाउने सबैभन्दा ठुलो युवाहरूको संख्या हो । युवाहरू विदेशिएपछि व्यापार घट्दै गएको छ । यसका साथै भूकम्प, कोभिड महामारी र भरखरै भएको जेनजी आन्दोलनलगायतले पनि भूमिका खेलिरहेको छ’, उनले भने, ‘यसका साथै नयाँ सामान होलसेलमा आएको छैन । चीनतर्फका नाकाहरू बन्द हुँदा पनि व्यापारमा ठुलो प्रभाव परेको छ ।

null

नेपालकै पुरानो सपिङ मल आज अस्तित्व टिकाउन संघर्ष गर्दैछ । चहलपहल हराइसके पनि केही व्यापारीहरू अझै आशाको दियो बालेर बसेका छन् । तर भरिभराउ काठमाडौं मल पुनः पुरानै स्वरूपमा फर्किन्छ कि फर्किँदैन ? प्रश्न अझै अनुत्तरित नै छ ।

null

null

null


 

salt training

कमेन्ट गर्नुहोस्