
अहिले वेस्ट इन्डिजको क्रिकेट टोली बंगलादेश भ्रमणमा छ । यतिबेला वेस्ट इन्डिज र बंगलादेशबीच तीन खेलको एकदिवसीय शृंखला चलिरहेको छ ।
पहिलो एकदिवसीयमा बंगलादेश ७४ रनले विजयी भएको थियो । दोस्रो एकदिवसीय भने बराबरीमा सकिएपछि ‘सुपर ओभर’मा वेस्ट इन्डिजले सफलता हात पारेको थियो ।
तेस्रो तथा अन्तिम एकदिवसीय बिहीबार खेलिने छ । दोस्रो एकदिवसीयपछि वेस्ट इन्डिजको नामसँग एउटा अनौठो कीर्तिमान जोडिन पुगेको छ ।
बंगलादेशविरुद्धको दोस्रो एकदिवसीयमा क्यारेबियन टोलीले ५० ओभरसम्म आफ्ना स्पिन बलरलाई मात्र प्रयोग गरेको थियो । अर्थात, सबै ओभर वेस्ट इन्डिजका स्पिनरले नै फालेका थिए ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा यसअघि यस्तो घटना कहिल्यै भएको थिएन । त्यसैले यो अनौठो कीर्तिमान वेस्ट इन्डिजको नामसँग जोडिन पुगेको हो ।
उक्त खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय १३ रन नै बनाएको थियो । त्यसपछि ‘सुपर ओभर’मा वेस्ट इन्डिज विजयी भएको थियो ।
वेस्ट इन्डिजले बलरका रूपमा अकिल होसैन, रोस्टन चेज, खारी पियर, गुडाकेस मोटी र एलिक अथान्जलाई प्रयोग गरेको थियो । यी सबै बलर स्पिनर हुन् । यी सबै बलरले १०–१० ओभर बल फालेका थिए ।
गुडाकेस मोटीले तीन तथा अकिल होसैन र एलिक अथान्थले दुई–दुई विकेट लिएका थिए । वेस्ट इन्डिजले अलराउन्डर जस्टिन ग्रिब्सलाई पनि टोलीमा समावेश गरेको थियो । उनी तीब्र गतिका बलर पनि हुन् । तर, उनलाई बलिङ भने गराइएन ।
यसअघि, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एउटै खेलमा सबैभन्दा बढी ओभर स्पिनरलाई बलिङ गराउने कीर्तिमान श्रीलंकाको नाममा थियो ।
श्रीलंकाली टोलीले सन् १९९६ मा खेलिएको वेस्ट इन्डिजविरुद्धको एकदिवसीय खेलमा श्रीलंका स्पिन बलरहरुले ४४ ओभर बल फालेका थिए ।