
विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्डको काम पूरा नभए पनि यात्रा भने सहज बनेको छ । पूर्व पश्चिम राजमार्गको मध्यभागमा पर्ने यो सडक दाउन्ने क्षेत्रको केही भागबाहेक अन्यत्र सहज बनेको हो ।
राजमार्गको सजिलो भएसँगै यात्राको अवधि छोटिएको छ भने सडक यात्रुले ७ वर्षपछि सहजरूपमा यात्रा गर्न पाएका छन् ।
सम्झौताअनुसार काम भएको भए दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने सडक ११४ किलोमिटर छ । तीन जिल्ला जोड्ने राष्ट्रिय महत्त्वको सडक आयोजनालाई दुई खण्ड (बुटवल–दाउन्ने ४९ किलोमिटर पश्चिम खण्ड र दाउन्ने गैडाकोट ४९ किलोमिटर पूर्वी खण्ड) मा विभाजन गरी २०७५ सालमा बिस्तार थालिएको थियो ।
सडक दुईतर्फी कालोपत्रे नसकिएको स्थानमा एकतर्फी (टु लेन) ‘पिच’ गरेर भए पनि यात्रालाई सहज बनाइएको सडक विस्तार आयोजनाले जनाएको छ ।

एकतर्फी भएपनि ‘दुई लेन’ भएकाले दोहोरो रूपमा सवारी सहज तरिकाले चलेका छन् । राजमार्गको दाउन्ने पहाडको ९ किलोमिटर उकालो र ओरालोबाहेक अन्य १०० किलोमिटरमा कालोपत्रेमा सवारी गुड्न थालेका छन् ।
दाउन्नेको १४ किलोमिटरमध्ये ५ किलोमिटर पनि ढलान/पिच भइसकेको छ ।
बाँकी ९ किलोमिटरमा पनि काम तीब्र गतिमा जारी रहेकाले अब सवारीलाई रोकिनुपर्ने अवस्था छैन । तिहारलगत्तै चार दिनसम्म परेको वर्षाले दाउन्ने खण्डमा यात्रा असहज थियो, तर अहिले त्यहाँ पनि समस्या छैन ।
दाउन्ने खण्डको काम छिटो सक्न दुई महिनाका लागि ‘कन्ट्रक्सन साइड’लाई एकतर्फी (वान वे) बनाइएको आयोजनाले जनाएको छ ।
ठूलो भार क्षमता भएका दश हजार बढी गाडी चौबीसै घण्टा ओहोर–दोहोर गर्ने ‘लाइफलाइन’ सडक दशैंसम्म सकसपूर्ण थियो ।
सडक पार गर्न ६ घण्टासम्म लाग्ने अवस्था रहेकोमा अहिले साढे दुई घण्टामा सवारी यो खण्ड पार गर्न थालेका छन् । यात्रु मात्र होइन, सडक खण्ड आसपासका स्थानीय धूलो र हिलोका कारण सात वर्षदेखि आजित बनेका थिए ।
पछिल्लोपटक यात्रा गर्दा फरक अनुभूति भएको बुटवलकी विद्यार्थी संगीता पौडेल बताउँछिन् । ‘बुटवल–नारायणगढ–सडकका नाम सुन्दा मेरो मनमा धुलोधुँवा, खाल्डो, लामो जाम र दाउन्नेको कष्टकर यात्राको नमीठो सम्झना आउँथ्यो,’ पौडेल भन्छिन्, ‘केही स्थानमा समस्याहरू छन् । तर, अहिले यात्रा गर्दा सडक पूरै सहज भइसकेको पाएँ ।’

पटक–पटकको म्याद थप र नागरिकस्तरबाट निरन्तरको दबाबसँगै राजमार्ग विस्तारको भौतिक प्रगति ७३ प्रतिशत पुगेको छ । निर्माण कम्पनीले २०७५ चैतमा काम शुरू गरेर २०७९ साउनमा निर्माण सम्पन्न हुनुपर्ने थियो ।
तर, निर्धारित समयमा नभएपछि पटक–पटक म्याद थप हुँदै आएको छ । चारपटक म्याद थप गरी वि.सं. २०८३ साउन पहिलो हप्ताभित्र आयोजना सम्पन्न गर्नुपर्ने छ ।
कोरोना महामारी, रूख कटानमा ढिलाइ, निर्माण सामग्री समस्या लगायत विभिन्न कारण देखाएर काम राम्रोसँग नगर्दा निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक भताभुंग बनाउँदा यात्रा निकै असहज भएपछि निकै आलोचना भइरहेको छ ।

सडककै कारण सात वर्षको अवधिमा दुई दर्जन बढीले ज्यान समेत गुमाएका छन् ।
राजमार्गको सकसपूर्ण अवस्थाका कारण लुम्बिनी प्रदेशले पर्यटन तथा व्यापारमा नोक्सान खेप्नुपरेको पर्यटन व्यवसायीहरूले गुनासो गर्दै आएका छन् ।
स्थानीय तहका प्रमुखले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माण कम्पनीलाई छिटो काम सक्न दबाब दिँदै आएका थिए ।

सडक विस्तार आयोजना दाउन्ने पश्चिम खण्डका प्रमुख पशुपति ज्ञवालीले सवारी र यात्रुका लागि लामो समयदेखिको सास्ती करिब अन्त्यतर्फ गएको बताए ।
‘दाउन्ने खण्डमध्ये हाम्रोतर्फ १४ किलोमिटर पर्छ । जसमध्ये ३ किलोमिटर ढलान/पिच भइसकेको छ,’ ज्ञवाली भन्छन्, ‘हाम्रो फोकस बढी ‘ट्राफिक मुभमेन्ट’ हुने दाउन्नेमा केन्द्रित छ । अहिले पनि दाउन्नेमा यात्रुलाई असहज छैन । थप गरिएको म्यादभित्र दाउन्ने खण्ड बनाउमा फोकस भएका छौं । अन्यत्र छिटफुट बाँकी रहेको ठाउँ पछि बनाउँछौं ।’
प्रमुख इन्जिनीयर समेत रहेका ज्ञवालीले थपे, ‘दशैं, तिहार र छठ सकिएकाले अब कामदार बढ्छन् । ‘सास्तीको सफर’ मानिएको बुटवल–नारायणगढ सडकमा अब यात्रुले दु:ख पाए भन्ने दिन करिब/करिब सकिए भन्दा भयो ।’
दाउन्ने पूर्वी खण्डको ६४ किलोमिटर एकतर्फ केही स्थानबाहेक कालोपत्रे भएको छ भने दुवैतर्फ ४० किलोमिटर ‘पिच’ भएको छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ग्लोबल टेन्डरमार्फत ठेक्का पारेर चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सरकारसँग १६ अर्ब ९९ करोड रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

आयोजना पूर्वी खण्डका सूचना अधिकारी तथा इन्जिनीयर शिव खनालले कामको गति तीब्र रहेको बताए ।
‘पूर्वी खण्डमा हाल दर्जन ठाउँमा काम चलिरहेको छ । बढी ध्यान दाउन्नेमा नै छ,’ उनले भने, ‘हाम्रो खण्डमा पर्ने ७ किलोमिटर मुख्य कालोपत्रे बाँकी छ, अन्यत्र सकिएको छ । यात्रा अहिले सहज बनेको छ ।’
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा उल्लेख गरिएको भन्दा चार गुणा बढी रूख काट्नु परेको, रूख कटानको स्वीकृति ढिला आएको, विद्युतका पोल सार्न ढिलाइ भएको, निर्माण सामग्री उपलब्ध हुन ढिलाइ भएको, कोभिड महामारीको संक्रमणलगायत समस्याले सडक विस्तारमा ढिलाइ भएको भन्दै निर्माण कम्पनीले पटक–पटक सडक विस्तारको म्याद थप गर्दै आएको छ ।

११४ किलोमिटरमध्ये ७० किलोमिटर चार लेन तथा २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनको हुनेछ । दुई लेनको सडकलाई चार र छ लेनमा विस्तार गर्न वि.सं. २०७५ चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
ठूलो नोक्सानी बेहोर्नुपरेको भनेर निर्माणको काम रोकेको आयोजनाले गत वर्ष सरकारले ठेक्का तोड्ने चेतावनी दिएपछि काम गर्न थालेको हो ।
यो खण्डमा रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर जिल्लाका गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, विनयीत्रिवेणी, बर्दघाट, सुनवल, देवदह, बुटवलसहित दर्जन बढी पालिका तथा बस्तीहरू जोडिएका छन् ।
सडक निर्माणको ढिलाइले यो खण्डमा व्यापार–व्यवसायमा ठूलो असर पुगेको छ । चितवन र बुटवल जोड्ने यो प्रतिघण्टा ८० किलोमिटरको ‘हाई स्पीड’ सडक हो ।