
बिहार विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको 'एनडीए' गठबन्धनले दुईतिहाइ बहुमत ल्याएको छ। सत्तारूढ एनडीएले २४३ सदस्यीय बिहार विधानसभा चुनावमा २०२ सिट जितेको हो ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार भाजपा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बनेको छ । मुख्यमन्त्री नीतीश कुमारको नेतृत्वमा रहेको जेडीयूले ८५ सिट जितेको छ भने केन्द्रीय मन्त्री चिराग पासवानको नेतृत्वमा रहेको लोक जनशक्ति पार्टी (रामविलास) ले १९ सिट जितेको छ ।
पूर्व मुख्यमन्त्री जितन राम माझीको नेतृत्वमा रहेको हिन्दुस्तानी अवम मोर्चा (धर्मनिरपेक्ष) ले पाँच सिट जितेको छ भने उपेन्द्र कुशवाहाको नेतृत्वमा रहेको राष्ट्रिय लोक मोर्चाले चार सिट जितेको छ। यससँगै नीतीश कुमार पुन: दुईतिहाइ बहुमतसहित बिहारका शक्तिशाली मुख्यमन्त्री बन्ने भएका छन्। बहुमतको सरकार बनाउन १२२ सिट भए पुग्छ ।
राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेसको महागठबन्धन जम्मा ३५ सिटमा विजयी भएको छ। महागठबन्धनले पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा ३५ वर्षका तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो।
पहिलोपटक चुनावमा होमिएका रणनीतिकार प्रशान्त किशोरको जन सुराज पार्टीले एउटा सिट पनि जित्न सकेन । अन्य दलहरूले ६ सिट जितेका छन् । नोभेम्बर ६ र ११ मा दुई चरणमा मतदान भएको थियो। राज्यमा रेकर्ड ६६.९१ प्रतिशत मतदान भएको थियो, जुन २०२० को चुनावको तुलनामा ९.६२ प्रतिशतले वृद्धि हो ।
यसअघि सार्वजनिक विभिन्न मत सर्वेक्षण (एक्जिट पोल) का नतिजाले पनि एनडीए गठबन्धनले स्पष्ट बहुमत ल्याउने अनुमान गरेको थियो।
२०२० को विधानसभा चुनावमा, आरजेडी ७५ सिटको साथ सबैभन्दा ठूलो पार्टीको रूपमा उभिएको थियो । भारतीय जनता पार्टी (भाजपा) ले ७४ सिट जितेको थियो । जनता दल (युनाइटेड) ले ४३ सिट जितेको थियो, जबकि कांग्रेसले १९ सिट प्राप्त गरेको थियो ।
भारतका प्रधानमन्त्री मोदीले बिहार विधानसभा चुनावमा सत्तारूढ एनडीएको ऐतिहासिक विजयलाई वंश राजनीतिविरुद्ध विकासमुखी राजनीतिको विजय भएको बताएका छन् । यो सफलताले पश्चिम बंगालमा एनडीएको विजयको लागि मार्ग प्रशस्त गर्ने उनले बताए।
बिहारका मतदाताहरूले दिएको जनादेशले जंगल राज राज्यमा कहिल्यै नफर्कने स्पष्ट संकेत गरेको उनले बताए । उनले यसलाई देशभर विकास एजेन्डा भएको राजनीतिको बलको ठोस उदाहरणको रूपमा वर्णन गरे।
नयाँ सरकारसँगै, एनडीए अब बिहारमा २५ वर्षको सुनौलो यात्रातर्फ अघि बढिरहेको उनको भनाइ थियो ।