०३ साउन २०८३, आइतबार
गोली प्रहारबाट घाइते युवाको मृत्यु

युवा आन्दोलनका नेताको मृत्यु भएपछि बंगलादेशमा हिंसा भड्कियो

पुस ४, २०८२
काठमाडौं
युवा आन्दोलनका नेताको मृत्यु भएपछि बंगलादेशमा हिंसा भड्कियो

पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाउने युवा आन्दोलनका एक प्रमुख नेताको मृत्यु भएपछि बंगलादेशमा हिंसा भड्किएको छ ।

शरीफ उस्मान हादीलाई गत साता ढाकामा एक मस्जिदबाट बाहिर निस्कँदै गर्दा मुखौटा लगाएका आक्रमणकारीहरूले गोली हानेका थिए । गम्भीर घाइते भएका हादीको सिंगापुरमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

उक्त गोलीकाण्ड बंगलादेशी अधिकारीहरूले सन् २०२४ को जनआन्दोलनपछि पहिलो निर्वाचनको मिति घोषणा गरेको एक दिनपछि भएको थियो । हादी सो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने तयारीमा थिए ।

हादीको मृत्युको खबर सार्वजनिक भएपछि बिहीबार राजधानी ढाकाको एक चोकमा उनका सयौं समर्थकहरू भेला भएर प्रदर्शन गरेका थिए ।

पछि प्रदर्शनकारीहरूले बंगलादेशका प्रमुख दैनिक पत्रिका ‘द डेली स्टार’ र ‘प्रथम आलो’का कार्यालयमा तोडफोड गरेका थिए । तीमध्ये एक भवनमा आगजनीसमेत गरिएको थियो ।

‘यहाँ सयौं मानिसहरू जम्मा भएका छन् र आक्रमण गरेका छन्’, एक प्रहरी अधिकारीले बीबीसी बंगलालाई भनेका छन् । 

घटनास्थलमा सेना परिचालन गरिएको थियो भने दमकलकर्मीहरूले भवनभित्र फसेका पत्रकारहरूको उद्धार गरेका थिए ।

३२ वर्षीय हादी विद्यार्थी आन्दोलन समूह ‘इन्किलाब मञ्च’का वरिष्ठ नेता थिए । उनी छिमेकी देश भारतका खुला आलोचकसमेत थिए, जहाँ पूर्वप्रधानमन्त्री हसिना स्वेच्छिक निर्वासनमा बसिरहेकी छन् ।

बंगलादेशका विभिन्न राजनीतिक दलहरूले हादीको मृत्युमा शोक व्यक्त गर्दै अन्तरिम सरकारलाई दोषीलाई कानूनी कठघरामा ल्याउन आग्रह गरेका छन् ।

अन्तरिम सरकारका प्रमुख तथा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले हादीको मृत्युलाई ‘देशका लागि अपूरणीय क्षति’ भनेका छन् ।

‘डर, आतंक र रक्तपातमार्फत् लोकतन्त्रतर्फको यात्रालाई रोक्न सकिँदैन’, युनुसले बिहीबार टेलिभिजन सम्बोधनमा भनेका छन् ।

अन्तरिम सरकारले शनिबार राष्ट्रिय शोक दिवस घोषणा गरेको छ ।

हादीमाथि गोली प्रहार भएपछि युनुसले यो पूर्वनियोजित आक्रमण भएको र ‘षड्यन्त्रकारीहरूको उद्देश्य निर्वाचन प्रक्रिया विफल पार्नु’ रहेको बताएका थिए ।

‘निर्वाचन अवरुद्ध गर्ने उद्देश्यले गरिने कुनै पनि प्रकारको हिंसा सह्य हुने छैन’, युनुसले भने, ‘यो घटना देशको राजनीतिक अवस्थाका लागि चिन्ताजनक हो ।’

घटनाको अनुसन्धान जारी छ र गोलीकाण्डसँग सम्बन्धित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।

गत वर्ष अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि शेख हसिना भारततर्फ भागेकी थिइन्, जससँगै उनको १५ वर्ष लामो सत्ताको अन्त्य भएको थियो ।

नोभेम्बरमा प्रदर्शनकारीमाथि घातक बल प्रयोग गर्न अनुमति दिएको अभियोगमा दोषी ठहर गर्दै हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय सुनाइएको थियो । 

सो आन्दोलनका क्रममा १,४०० जनाको ज्यान गएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्