०३ साउन २०८३, आइतबार
राष्ट्रिय परिचयपत्रको तथ्यांकमा छेडछाड

चियाको बहानामा साथीको कार्यकक्षमा पुगे, आईडी र पासवर्ड चोरेर परिचय पत्र बदले !

पुस २४, २०८२
काठमाडौं
चियाको बहानामा साथीको कार्यकक्षमा पुगे, आईडी र पासवर्ड चोरेर परिचय पत्र बदले !

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत करारका कर्मचारीले विद्युतीय तथ्यांकमा क्षति पुर्‍याएको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

राष्ट्रिय परिचय पत्र सूचना व्यवस्थापन प्रणाली (एनआईडीएमएस) मा करारका कर्मचारीद्वय सुनितप्रभात रेग्मी र आशिषबाबु कुमालले अनधिकृत पहुँच पुर्‍याएर व्यक्तिका विवरण हेरफेर गरेको भन्दै उनीहरूविरुद्ध मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ३२ बमोजिम मुद्दा दर्ता भएको हो ।

विभागको पत्रानुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएपछि कार्यालयले काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता गरेको हो । अदालतमा उनीहरूको बयान जारी छ ।

सरकारी वकिल कार्यालयले रेग्मी र कुमालसहित परिचयपत्र हेरफेर भएकाहरू क्रमश: कास्कीस्थित पोखरा हस्पिटलचोकका सागर गुरुङ, कास्कीकै माछापुच्छ्रे गाउँपालिका– २ का सुदीप गुरुङ, अन्नपूर्ण गाउँपालिका– ११ का अनुदीप गुरुङ र पुतलीबजार नगरपालिका– १४ का अनुप भण्डारीलाई प्रतिवादी बनाएको छ ।

राष्ट्रिय परिचयपत्रबाहक विनयराज राईको परिचयपत्र नम्बर ५१७–०५३–०३५–१ मा प्रतिवादी बनाइएका सागर गुरुङको औंठा छापा (बायोमेट्रिक) र आइरिस म्याच भएको अनुसन्धानले देखाएको छ ।

त्यस्तै, विवेक रोकाको राष्ट्रिय परिचयपत्र नम्बर ९७७–५५९–१००–१ सँग अर्का प्रतिवादी सुदीप गुरुङसँग औंठा छाप र आइरिस म्याच खाएको देखिन्छ ।

अर्का राष्ट्रिय परिचयपत्र बाहक निराजेन राज राईको परिचयपत्र नम्बर ६७८–८८७–८७८–० को औंठा छाप र आइरिस प्रतिवादी अनुदीप गुरुङसँग मेल खाएको अनुसन्धानले देखाएको छ ।

यसरी एकआर्काबीच विवरण नै मेल खाएपछि विभागले अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो । २०८२ मंसिर ५ गते बिहान ७ बजेर ७ मिनेटको समयमा विवरण दर्ता अपरेटर आशिषबाबु कुमाल र सुनित प्रभात रेग्मी विभागको माथिल्लो तलामा गएको सीसीटीभी फुटेजबाट देखिन्छ ।

उनीहरू झण्डै १० मिनेट माथि बसेर सँगै तल झरेको देखिन्छ । सीसीटीभी फुटेजको समय १९ मिनेट चाँडो रहेकाले विवरण अध्यावधिक गरेको समयमा रेग्मी र कुमाल सँगै रहेको अनुसन्धानले देखाएको छ ।

विनय, विवेक र निराजेनको फरक नागरिकता नम्बरको आधारमा जारी भएका तीनवटा परिचयपत्र विभागकै विवरण दर्ता अपरेटर अभियान दाहालको युजर आईडीबाट प्रमाणित भएको देखिन्छ । तर, जतिबेला यी तीनजनाको विवरण (औंठा छाप र आइरिस) मेल खाने गरी अरू तीन जनालाई परिचय पत्र दिइयो, त्यो समयमा भने आशिषलाई काजमा विभाग बाहिर खटाइएको थियो ।

‘विभागमा इन्ट्री गरेको विवरणबाटै सुदीप गुरुङले विवेक रोक्काको नामबाट दोस्रो नेपाली नागरिकता लिएको देखिन्छ । सागर गुरुङले विनयराज राईको नामबाट दोस्रो नागरिकता र अनुदीप गुरुङले निराजेन राज राईको नाममा दोस्रो नागरिकता लिएको देखिन्छ,’ सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको अभियोग पत्रमा भनिएको छ, ‘निराजेनको परिचय पत्र रिजेक्ट गर्दा विवरणमा युनिकोडमा कल फ्रम विभाग सम्राट सर भनी उल्लेख गरेको देखिन्छ ।’

सुनित प्रभात रेग्मीले गलत काम गर्नकै लागि फरक नाममा परिचयपत्र तयार गरेका थिए । उक्त परिचय पत्र समेत बरामद भएको छ ।

विभागमा करारमा कार्यरत तर, जिल्ला प्रशासन कार्यालय स्याङ्जामा कार्यरत विवरण दर्ता अपरेटर अनुप भण्डारीमाथि पहिलोपटक मुद्दा दर्ता भएको र अध्यावधिक भएको राष्ट्रिय परिचय पत्रको जैविक विवरण (औंठा छाप र आइरिस) लाई संसोधन गर्दा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको बायोमेट्रिक भेरिफिकेसनमा कुनै कैफियत नजनाई पुरानो विवरण मेटाएर वास्तविक विवरण हेरफेर गरेको आरोप लगाइएको छ ।

प्रतिवादी बनाइएका कुमाल र आशिषबाबु रेग्मीले पूरै नागरिकता विवरण फरक–फरक भएका राष्ट्रिय परिचयपत्र नम्बरहरू क्रमश: ५१७–०५३–०३५–१, ९७७–५५९–१००–१ र ६७८–८८७–८७८–० को विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको एप्लिकेसनहरूमा मात्रै चल्ने स्टेसन विभागको कन्फिगर नेटवर्कमा मत्रै पहुँच हुने आईपी एड्रेस अभियान दाहालको आईडीबाट स्वीकृत गराएको देखिन्छ ।

रेग्मी र प्रभातले अभियानको युजर आईडी र पासवर्ड चोरी गरेर उनकै युजर खोली राष्ट्रिय परिचयपत्रको विवरण हेरफेर गरेको अनुसन्धानबाट खुलेको छ ।

‘रेग्मी र कुमालले वास्तविक विवरणलाई मेटाएर पुरानो विवरणलाई हेरफेर गरी वास्तविक राष्ट्रिय परिचयपत्र बाहकको नम्बरमा अनधिकृत व्यक्तिको विवरणलाई समावेश गराएको देखियो,’ अभियोग पत्रमा भनिएको छ, ‘यी दुवैजना कार्यालय समयअघि नै विभागमा पुगेर सूचना प्रणालीभित्र प्रवेश गरी अभियान दाहालको आईडीबाट अप्रुभ गराएको देखियो ।’

सरकारी वकिल कार्यालयले रेग्मी, कुमाल, भण्डारी र गुरुङत्रयविरुद्ध राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ४१ को उपदफा १ को खण्ड क बमोजिम कसुरमा मुद्दा दर्ता गरेको छ ।

प्रतिवादी बनाइएकाले परिचयपत्र बनाउँदा विभागको युजर आईडी प्रयोग भएका अभियान दाहालसँग सरकारी वकिल कार्यालयले घटना विवरण कागज गराएको छ । दाहालले घटना विवरण कागजमा अनुप भण्डारी र सुनित प्रभात रेग्मी विभागमा कार्यरत रहँदा आफ्नो कार्यकक्षमा आइरहने र त्यही बेला आफ्नो युजर आईडी र पासवर्ड थाहा पाएको उल्लेख गरेका छन् ।

‘हामीहरू साथी नै थियौं, मेरो कार्यकक्षमा आइरहन्थे, त्यही बेला उनीहरूले मेरो युजर आईडी र पासवर्ड थाहा पाएका हुन्,’ दाहालले भनेका छन्, ‘परिचयपत्र अध्यावधिक गरेको मिति र समय सीसीटीभी फुटेजमा कैद भएको समयसँग मिलेकाले उनीहरूले नै दुरुपयोग गरेका हुन् ।’

salt training

कमेन्ट गर्नुहोस्